असार २१ गते १ हजार ७ सय ४५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ४६ हजार ३ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार २१ गते परीक्षण गरिएकामध्ये २३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार २१ गते २० वर्ष मुनिका १ सय ५६ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ४ सय ९९ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ११ हजार ४ सय २९ जना निको भएका छन् । असार २१ गते २ हजार २ सय ११ जना निको भएका छन् भने निको हुनेको दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार २१ गतेसम्म ९ हजार २ सय ४८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार २१ गते २३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या २५ हजार ७ सय ९३ रहेको छ ।


तेह्रथुम प्रतिनिधि भगिश्वर लिम्बुका अनुसार तेह्रथुम जिल्लामा एक साताका लागि निषेध आदेश थप गरिएको छ । कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या बढेसँगै असार ३१ गते सम्मका लागि जिल्लामा निषेध आदेश थप गरिएको हो । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार २१ गते बसेको बैठकले असार ३१ गते राति १२ बजेसम्मका लागि निषेध आदेशको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले बताउनु भयो । हालसम्म तेह्रथुम जिल्लामा ४ सय ९७ महिला र ५ सय ९६ पुरुष गरी जम्मा १ हजार ९३ जना सङ्क्रमित भएका छन् ।
सोलुखुम्बु प्रतिनिधि भोजराज कार्कीका अनुसार सोलुखुम्बुमा १० दिनको लागि निषेध आदेशको अवधि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवम् सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशबिक्रम शाहीको अध्यक्षतामा आज बसेको बैठकले असार ३१ गतेसम्मका लागि निषेध आदेशको अवधि थप गर्ने निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी उर्मीला खतिवडाका अनुसार थप गरिएको अवधिमा जिल्ला भित्र सबैखाले सवारी सञ्चालन गर्न पाइने छ भने सरकारी कार्यालयको सेवा समेत सुचारु हुनेछ ।
दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसीं) को असार २१ गतेको सिफारिसमा असार २२ गतेदेखि असार मसान्तसम्मको लागि निषेध आदेशको अवधि थप गरिएको छ ।
रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार जिल्लामा कोभिड–१९ का सङ्क्रमित दैनिक रूपमा बढेकाले निषेध आदेशालाई आगामी सात दिनसम्मका लागि निरन्तरता दिने निर्णय भएको छ । जल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को असार २१ गते बसेको बैठकले असार २९ गतेसम्म जिल्लाभर लागू हुने गरी निषेध आदेशको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकालले बताउनुभयो ।
प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको असार २० गते बसेको बैठकले असार ३१ गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो । बैठकले जिल्ला भित्र मात्र स्वास्थ्य मापदण्ड पालना गरी सार्वजनिक यातायात सञ्चालन गर्ने, पसल तथा होटलहरू सञ्चालन गर्ने, आगामी दिनहरूमा जिल्लाका सम्बद्ध सबै निकायहरू एक आपसमा समन्वयात्मक रूपमा सहकार्य गरी कोभिड रोकथाम, नियन्त्रण, निदान र उपचारमा अघि बढने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भुसालले बताउनु भयो ।
बैतडी प्रतिनिधि नरी बडुका अनुसार दोगडाकेदार गाउँपालिका–७ चडेपानी गाउँका १९ जनामा कोभिड पुष्टि भएपछि चडेपानी गाउँलाई एक साताका लागि सील गरिएको छ । असार २१ गते बसेको गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठकले गाउँलाई सील गर्ने निर्णय गरेको हो । एकै गाउँमा धेरै जनामा कोभिड देखिएपछि असार २१ गतेदेखि असार २७ गतेसम्मका लागि चडेपानी गाउँ सील गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताउनुभयो । सील गरिएको अवधिमा गाउँका सबैको कोभिड परीक्षण गरिने पनि उहाँले बताउनु भएको छ । असार १६ गतेदेखि जिल्लामा निषेध आदेश खुकुलो पारिएपछि सङ्क्रमितहरूको सङ्ख्या बढेको छ ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार २१ गतेसम्म १५ हजार ७ सय ८४ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार २१ गते)