साढे ३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा–५ का १५ वर्षीय बालकलाई असार १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार १६ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा असार १६ गते उजुरी हालेको पीडित बालिकाकी हजुरबुबाले बताएका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा असार १६ गते गरिएको थियो ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालका अनुसार आरोपितलाई गिरफ्तार गरी कारवाहीको लागि असार १७ गते म्याद थप गरिएको छ ।
त्यसैगरी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नपा–१२ का ४५ वर्षीय श्याम भन्ने सन्तोष यादवलाई असार १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकााई आरोपितले ललाइफकाइ ०७७ चैत २० गते घरबाट भगाइ बलात्कार गरेको र असार ९ गते बालिका घर आएकाले घटनाको जानकारी भई इलाका प्रहरी कार्यालय गोलबजारमा असार १३ गते उजुरी हालेको पीडित बालिकाकी आमाले बताइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार १३ गते गरिएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष राईका अनुसार आरोपितलाई गिरफ्तार गरी कारवाहीका लागि असार १७ गते म्याद थप गरिएको छ ।