लक्ष्मीनिया गाउँपालिका–४ सपहीकी २३ वर्षीया प्रियङ्का पासवानलाई घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीय सन्तोष पासवानलाई असार १५ गते गिरफ्तार गरेको छ ।
पाँच महिनाको गर्भवती पत्नीलाई आरोपितले असार १४ गते राति कुटपिट गर्दै घाँटी थिचेर हत्या गरेको घटनाका प्रत्यक्षदर्शी मृतकका पाँच वर्षीय छोरा आर्यन पासवानले बताएको प्रहरीले जनायो । आमाको पेटमा बाबुले लात्तीले हिर्काएको बालक आर्यनले बताउनु भएको छ ।
मादक पदार्थ सेवन गरी छोरीलाई पटक–पटक कुटपिट गर्दै आएको मृतकका बुबा विनोद पासवानले आरोप लगाउनु भएको छ ।
आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा असार १५ गते मृतकका बुबा विनोद पासवानले उजुरी दिनु भएको छ ।
शवको पोस्टमार्टम प्रादेशिक अस्पताल जनकपुरमा असार १५ गते गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर तिलक सुनारले जानकारी दिनु भयो ।
महोत्तरी जिल्ला बलवा नपा–५ पुर्वारी टोल माइती भएकी प्रिङ्यकाको ६ वर्षअघि सन्तोषसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।