INSEC Online

📅 २०८३ जेष्ठ २१

दाइजोको कारण हत्या घटनाका आरोपित पति र देवर गिरफ्तार 

लोहरपट्टी नपा–७ की २६ वर्षीया सुजिता ठाकुरलाई दाइजोकै कारण हत्या गरेको आरोपमा २९ वर्षीय पति मुकेश ठाकुर र २७ वर्षीय देवर रूपेश ठाकुरलाई असार १३ गते गिरफ्तार गरेको छ ।

घटनाका आरोपित सुजिताका ससुरा पतिराम ठाकुर फरार रहेको प्रहरीले जनाएको छ ।

जेठ २० गतेदेखि सम्पर्कविहीन रहेकी सुजितालाई हत्या गरेर खेतमा गाडिएको अवस्थामा असार १३ गते शव फेला परेको हो ।

लामो समयदेखि सम्पर्कविहीन सुजिताको हत्या दाइजोकै कारणले गरिएको माइती पक्षले आरोप लगाएको छ । सुजिताको परिवारले भने सुजिता अर्कै केटासँग भागेको बताउँदै आएको थियो ।

प्रहरीले खोजविनको क्रममा घरदेखि करिब एक किलोमिटरको दुरिमा रहेको ठाकुर परिवारको खेतमा गाडेको शव उत्खनन गरेर फेला पारेको हो । केही वर्षअघि पनि सुजितालाई परिवारजनले हत्या गर्ने प्रयास गरेको स्थानीयको आरोप छ ।

माइती पक्षको सहयोगमा प्रहरीले सुजिताको शव फेला पारेको हो । गाउँकै केही मानिसले खेतमा खाल्डो खनिएको देखेपछि शव गाडिएको हुन सक्ने आशङ्का गरेर सुजिताको बुवा कामेश्वर पाण्डेलाई बताएका थिए । पाण्डेले छोरीको शव गाडेर माथिबाट धानको बिउ राखेको बताउनु भयो ।

माइती पक्षकै आग्रहपछि प्रहरीले शव गाडिएको शङ्कास्पद ठाउँमा खनेर हेर्दा फेला परेको हो । खेतमा करिब ६ फिट खाल्डो खनेर शव गाडिएको अवस्थामा फेला परेको थियो ।

शव पोष्टमार्टमका लागि जलेश्वर अस्पताल ल्याइएको छ । घटनाको थप अनुसन्धानका लागि शव अन्यत्र पठाउन सकिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टले बताउनु भयो ।

असार ७ गते माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउन गएको तर एसपीले उजुरी दर्ता गर्न नमानेपछि महिला सेलमा निवेदन दिएर फर्केको मृतकका बुबा कामेश्वर पाण्डेले आरोप लगाउनु भयो ।

उहाँले छोरी हराएको र खोजतलासको लागि प्रहरीलाई जानकारी गराउँदा पनि चासो नदिएको र अहिले छोरीको शव फेला परेको गुनासो गर्नु भयो । मृतक सुजिताका नौ वर्षीया छोरी र पाँच वर्षीय छोरा छन् ।

अन्य

भिडियो