असार ७ गते १ हजार ५ सय ८४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख २२ हजार ६ सय ४० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार ७ गते परीक्षण गरिएकामध्ये २४ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार ७ गते १९ वर्ष मुनिका १ सय ९४ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ५ सय ८३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ५ लाख ५९ हजार ९ सय २८ जना निको भएका छन् । असार ७ गते ३ हजार १ सय ३० जना निको भएका छन् भने निको हुनेको दर ८९.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार ७ गतेसम्म ८ हजार ७ सय ७२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार ७ गते ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ५३ हजार ९ सय ४० देखाइएको छ ।

मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, महोत्तरी, बारा, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा, रामेछाप, कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ, बागलुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, सुर्खेत, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङले निषेध आदेशको समय असार १४ गतेसम्मका लागि थप गरेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार ७ गतेको बैठकले असार १४ गते राति १२ बजेसम्मका लागि निषेध आदेशको समय थप गरेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताउनु भयो । प्रशासनले भौतिक दूरी कायम गरी पुस्तक पसल बिहान १२ बजेसम्म खोल्न पाउने निर्णय गरेको छ । कोभिड–१९ को दोस्रो लहर सुरू भएपछि मोरङ प्रशासनले वैशाख १८ गतेदेखि निषेध आदेश जारी गर्दै आएको छ ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि जारी गरिएको निषेध आदेशको समय असार १४ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार ७ गतेको बैठकले असार ७ गते राति १२ बजेदेखि असार १४ गते राति १२ बजेसम्मको लागि निषेध आदेशको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनु भएको छ । निषेध आदेशको समयमा बिहान ९ बजेसम्म खाद्यान्न, हार्डवेयर र पुस्तक पसल सञ्चालनका अनुमति दिइएको छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि जारी गरिएको निषेध आदेशको समय असार १४ गतेसम्मका लागि थप गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको असार ७ गतेको बैठकले असार १४ गते राति १२ बजेसम्मका लागि निषेध आदेशको समय थप गरेको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताउनु भएको छ । निषेध आदेशको समयमा बिहान ९ बजेसम्म खाद्यान्न पसल सञ्चालनका अनुमित दिइएको प्रशासनले जनाएको छ ।
इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार कोभिड– १९ को सङ्क्रमण न्यूनीकरणका लागि जिल्लामा जारी रहेको निषेध आदेशको समय असार १४ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको असार ७ गतेको बैठकले असार १४ गतेसम्मका लागि निषेध आदेशको समय थप गरेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालयले वैशाख २८ गतेदेखि निषेध जारी गर्दै आएको छ । निषेध आदेशको समयमा स्वास्थ्यको मापदण्ड अपनाउँदै पुस्तक पसल, घरायसी सामग्रीका पसल, लत्ताकपडा, विद्युत सामग्री, मर्मत सामग्री, र खाद्यान्न पसलहरू दिउँसो १ बजेसम्म सञ्चालनका लागि अनुमति रहेको प्रशासनले जनाएको छ ।
पाँचथर प्रतिनिधि मङ्गल बेघाका अनुसार जिल्लामा असार १४ गतेसम्मका लागि निषेध आदेशको समय थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको असार ७ गतेको बैठकले असार १४ गते मध्यराति सम्मका लागि निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले बताउनु भयो । निषेध आदेशको समयमा सार्वजनिक यातायातका साधन, पसल सञ्चालन तथा मानिस आवागमन, खेलकुद, मनोरञ्जन स्थल, होटल रेष्टुरेन्ट सञ्चालनमा रोक लगाइएको छ । सहकारी तथा वित्तीय संस्थाहरूलाई बचत सङ्कलनमा रोक लगाइएको छ । खाद्यान्नलगायतका पसलहरू बिहान ५ बजेदेखि १० बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनु भएको छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा जारी निषेध आदेशको समय थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको असार ७ गतेको बैठकले असार १६ गतेसम्म निषेध आदेशको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनु भयो । निषेध आदेशको समयमा बैङ्क तथा वित्तीय संस्थाहरूलाई बिहान १० बजेदेखि २ बजेसम्म न्यूनतम कर्मचारी राखेर सेवा प्रवाह गर्न अनुमति दिइएको छ । खाद्यान्न तथा तरकारी पसलहरू बिहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमति भएको प्रमुख जिल्ला अधिकारी पौडलले बताउनु भएको छ ।
ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि जारी गरिएको निषेध आदेश समय थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको असार ७ गतेको बैठकले असार १४ गतेसम्मका लागि निषेध आदेशको समय थप गरेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनु भयो । निषेध आदेशको समयमा बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म बजार तथा पसल सञ्चालनका लागि अनुमति भएको प्रशासनले जनाएको छ ।
प्रदेश २
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार जिल्लामा निषेध आदेश असार १५ गते सम्मको लागि थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको असार ७ गते बसेको बैठकले निषेध आदेश असार ७ गते राति १२ बजेदेखि असार १५ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको हो । कोभिड सङ्क्रमणको फैलावट रोक्न निषेध आदेशलाई निरन्तरता दिने निर्णय भएको निमित प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनु भयो ।
सर्लाही प्रतिनिधि बुधन साहका अनुसार जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले असार ७ गते राति १२ बजेदेखि असार १४ गते राति १२ बजेसम्म लागु हुने गरी निशेध आदेश थप गरेको छ । कोभिड सङ्क्रमणको मृत्युदर कम भएपनि जोखिमको अवस्था हेरेर निषेध आदेशलाई निरन्तरता दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनु भयो ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको जेठ ७ गते बसेको बैठकले असार १४ गते राति १२ बजेसम्मका लागि निषेध आदेश थप गरिएको छ । जेठ ८ गतेदेखि जोरबिजोर प्रणाली अनुसार निजी सवारी साधन चल्न पाउने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । स्थानीय तहहरुले आलोपालो गरी भिडभाड नगराइ आफ्नो कार्य सञ्चालन गर्न गराउन पाउने प्रमुख जिल्ला अधिकारी यादवले बताउनु भयो ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार जिल्ला सुरक्षा समिति र जिल्ला सङ्कट व्यवास्थापन समितिको असार ७ गते बसेको बैठकको निर्णय तथा सिफारिस बमोजिम असार ७ गते राति १२ बजेदेखि असार १४ गते राति १२ बजेसम्मका लागि निषेध आदेश थप गरिएको छ । जिल्लाको सङ्क्रमण दरमा सुधार हुँदै गएको पाइएकोले उक्त सङ्क्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ को दफा ५ को उपदफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी निषेध आदेश थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बागमती प्रदेश
दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले असार १४ गतेसम्मका लागि निषेध आदेशको अवधि थप गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको असार ६ गतेको बैठकले कोभिड–१९ सङ्क्रमितको सङ्ख्या नघटेको भन्दै जिल्लामा निषेध आदेश एक साता थप गर्नका लागि स्थानीय प्रशासनलाई सिफारिस गरे अनुसार निषेध आदेश एक सातासम्म लम्ब्याउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भयो । निषेध आदेशको अवधिभर अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला नहुन आग्रह गरिएको छ । सार्वजनिक र निजी यातायाताका साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ । साथै जिल्ला भर कुनै पनि प्रकारका सभा सम्मेलन, गोष्ठि, भेला र जुलुस गर्न पनि निषेध गरिएको छ ।
रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार जिल्लामा कोभिड–१९ का सङ्क्रमित नघटेकाले निषेध आदेशलाई एक साताका लागि निरन्तरता दिने निर्णय गरिएको छ । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को असार ७ गते बसेको बैठकले असार १४ गते राति १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेध आदेशलाई निरन्तरता दिने सिफरिस गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेश
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार ७ गतेको बैठकले पर्वतमा जारी रहेको निषेध आदेश केही खुकुलो पार्दै एक साता थप गरेको छ । बैठकले निजी सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णयसहित असार ७ गतेदेखि असार १४ गते सम्मका लागि थप गर्ने निर्णय गरेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार जिल्लामा एक साता निषेध आदेशको अवधि थप गरिएको छ । कोभिड सङ्क्रमण दरलाई अझै घटाउनका लागि कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएसी)को असार ७ गते बसेको बैठकले निषेध आदेश असार १५ गतेसम्म थप्ने निर्णय गरेको हो । हाल जारी गरेको निषेध आदेश केही खुकुलो गर्दै जोरबिजोर प्रणालीमा निजी सवारी साधनमा चार जना यात्रुसहित सञ्चालन गर्न पाइने छ भने सार्वजनिक सवारी सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिनुभयो । कोभिडको सङ्क्रमण बढेपछि वैशाख २१ गतेदेखि निषेध आदेश जारी भएको हो ।
स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार जिल्लामा निषेध आदेशको अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले असार ६ गते एक सूचना जारी गर्दै निषेध आदेशको असार ७ गते राति १२ बजेदेखि असार १५ गतेसम्म थप भएको जनाएको छ । वैशाख २१ गतेदेखि जारी भएको निषेध आदेश कोभिड सङ्क्रमणको जोखिम जिल्लामा कायमै रहेकोले थप गर्दै लगिएको प्रशासनले जनाएको छ ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मुस्ताङमा जारी रहेको निषेध आदेशलाई केही परिमार्जनसहित सात दिनको लागि थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको सिफारिस बमोजिम जिल्ला सुरक्षा समितिले असार ६ गते सूचना जारी गर्दै असार ७ गते राति १२ बजेदेखि असार १५ गते राति १२ बजेसम्मका लागि निषेध आदेश जारी गरेको छ । निषेध आदेश मुस्ताङको तल्लो भेगको थासाङ, घरपझोङ र बाह्रगुङ मुिक्तक्षेत्र गाउँपालिकामा लागु हुने सूचनामा उल्लेख रहेको छ ।
सुदूरपश्चिम प्रदेश
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा असार ७ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले असार १४ गतेसम्मका लागि निषेध आदेश थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो । असार ८ गतेदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने, सबै पसलहरू बिहान ७ बजेदेखि ११ बजेसम्म स्वास्थ्यको मापदण्ड अपनाएर नियमित खोलिने, सरकारी कार्यालयहरू स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गरिने भएपनि सार्वजनिक यातायात, सभा, सम्मेलन, होटल, सामूहिक कार्यमा रोक लगाउने निर्णय गरिएको सूचना अधिकारी जोशीले बताउनु भयो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार ७ गतेसम्म ९ हजार २६ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार ७ गते)