२४ वर्षीया रुपा सुनारले आफूलाई दलित भएकै आधारमा कोठा भाडा नदिएको भन्दै काठमाडौँ महानगरपालिका–११ बबरमहलकी ५४ वर्षीया सरस्वती प्रधानविरुद्ध महानगरीय प्रहरी वृत सिहदरबारमा असार ३ गते जातिय भेदभावविरुद्ध उजुरी दर्ता गराउनु भएको छ ।
पीडित सुनारले साथीसहित असार १ गते घरबेटी प्रधानकोमा गएको र कोठाको भाडादर समेत तय भई भाडामा लिने दिने सहमति भएपछि आफ्नो थर सोधिएको र थर बताएपछि जातकै आधारमा आफूलाई कोठा नदिएको टेलिफोनमा बताउनु भयो ।
घरमा कोठमा खालि भएको र लिनेदिने सहमतिपछि जातको आधारमै कोठा नपाएको हुँदा जातिय विभेद विरुद्ध उजुरी दिएको सुनारले जानकारी दिनु भयो ।
महानगरीय प्रहरी वृत सिंहदरबारका डिएसपी हरिबहादुर बस्नेतले रुपा सुनारले जातिय विभेद विरुद्ध कारबाही गरी पाउँ भनि प्रधानविरुद्ध दिएको उजुरी सोही दिन दर्ता गरिएको बताउनु भयो ।
डिएसपी बस्नेतले छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ अनुसार अनुसन्धान थालिएको जानकारी दिनु भएको छ ।