INSEC Online

📅 २०८३ जेष्ठ २१

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रमः स्वास्थ्य क्षेत्र प्राथमिकतामा

सुदूरपश्चिम सरकारको आर्थिक वर्ष २०७८/ ०७९ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले जेठ २७ गते प्रस्तुत गर्नु भएको छ । प्रस्तुत कार्यक्रममा स्वास्थ्यको क्षेत्र प्राथमिकतामा रहेको छ ।

कोभिड-१९ लगायतका माहामारी र अन्य सरुवा रोग रोकथाममा लागि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पुर्वाधार, औषधि, स्वास्थ्य उपकरण तथा जनशक्तिको व्यवस्था गर्दै स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन प्रोत्साहनमूखी कार्यक्रम सञ्चालन गरिने र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नका लागि प्रदेश सरकारको मातहतका स्वास्थ्य संस्थाहरुसँग समन्वय गरी स्वास्थ्य संस्थाहरुको पुनर्संरचना गर्ने नीति अगाडि सारिएको छ ।

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई विशिष्टकृत सेवा दिने अस्पतालका रुपमा विकास गर्ने र सेती प्रादेशिक अस्पतालाई शिक्षण अस्पताल बनाउने गरी विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी लगायत भौतिक पुर्वाधार सहितको संरचना बनाउने, कोभिड माहामारीको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापन कार्यलाई उच्च  प्राथमिकतामा राखिने र प्रदेशका सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्या‍उन भौगोलिक अवस्थालाई हेरेर सर्पदङ्शको उपचार केन्द्र बनाउँदै लैजाने प्रदेश प्रमुख यादवले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रमा समेटिएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा  कैलाली,  बैतडी र डोटी  जिल्ला  अस्पतालहरुमा मोलिक्युलर सेटअप सहितको प्रयोगशाला सञ्चालन, स्थानीय सरकारको साझेदारीमा अछाम, बझाङ र कञ्चनपुरमा कोभिड परीक्षण प्रयोगशाला स्थापना गरिएको र कोभिड सङ्क्रमितहरुको उपचारका लागि २० ओटा आइसीयू बेड, १ सय २५ ओटा एचडीयू बेड र ५ सय ६० ओटा नयाँ बेड थपिएको जनाइएको छ ।

गर्भवतीहरुलाई सहज सुलभ सेवा प्रदान गर्न ३२ ओटा बर्थिङ सेन्टर, १६ ओटा शहरी स्वास्थ्य केन्द्र र १६ ओटा स्वास्थ्य इकाई स्थापना तथा दुर्गम जिल्लाका हवाई उद्धार कार्यक्रम सञ्चालन गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यसैगरी नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवले टिकापुर अस्पताललाई प्रादेशिक सरुवा रोग अस्पताल बनाउने, दिपायलमा प्रदेशस्तरीय बायोमेडिकल इन्जिनियरिङ प्रयोगशाला र सेती आयुर्वेद चिकित्सालय स्थापना गरिने बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम २०७८/०७९ पढ्न यहाँ क्लिक गर्नु होला 

अन्य

भिडियो