INSEC Online

📅 २०८३ जेष्ठ २१

सवारी सधान नचल्दा बोकेरै डायलाइसिस गराउन ल्याउनुपर्ने बाध्यता

कोभिडको जोखिम बढेपछि जारी भएको निषेध आदेशकाे कारण सार्वजानिक सवारी साधन नचल्दा डायलाइसिस गर्नुपर्ने मिर्गौलाका बिरामीहरू मर्कामा परेका छन् ।

सार्वजानिक सवारी साधन नचल्दा ग्रामिण क्षेत्रका मिर्गौला पीडित मरकामा परेका हुन् । सार्वजानिक सवारी नचल्दा महङ्गो भाडा तिरेर सवारी साधन रिजर्भ गर्न नसक्ने बिरामीलाई आफन्तले नै बोकेर डायलाइसिस गर्न अस्पताल लैजानुपर्ने बाध्यता रहेको छ ।

रिसिङ गाउँपालिका१ कोइदिमका ६० वर्षीय तिलबहादुर थापा प्रत्येक साताको सोमबार र बिहीबार दुवै मिर्गौला पीडित ६० वर्षीया पत्नि मीनमायालाई बोकेर डायलाइसिस गराउन दमौली अस्पतालमा ल्याउने र लैजाने गर्नुहुन्छ ।

निषेध आदेशको कारण सार्वजानिक सवारी साधन नचल्दा थापाले पत्निलाई बोकेर नै अस्पताल ल्याउने र लैजान बाध्य हुनुभएको हो । डायलाइसिस गराउन ल्याउन चार घण्टा र लैजान पनि त्यतिकै समय लाग्ने थापाले बताउनु भयो ।

एक महिनाअघिसम्म जतिखेर पनि सवारीसाधन पाइन्थ्यो, परिस्थिति पनि सहज थियो तर अहिले कोभिडको कारण गाडी नचल्दा समस्यामा परिएकाले आफुले बोकेर नै पत्निको डायलाइसिस गराउन लाने ल्याउने गरेको उहाँले बताउनुभयो ।

स्वास्थ्य कमजोर भएको र पत्नि राम्ररी हिँड्न पनि नसक्ने भएकोले बोकेरै ल्याउनेलैजाने गरेको छु ।’–उहाँले भन्नुभयो–‘गाडी रिजर्भ गरेर ल्याउँन भनेपनि निकै महङ्गो भाडा लिने भएकोले सम्भव छैन ।

photo20210608Tanahun

पत्नि मीनमायाले ०७६ मङ्सिर ९ गतेदेखि दमौली अस्पतालमा रहेको शत्रुघ्न मञ्जु डायलाइसिस केन्द्रमा निःशुल्क डायलाइसिस गराउँदै आउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले निषेध आदेशको कारण सार्वजानिक सावरी साधन सञ्चालनमा रोक लगाइएको भएपनि मिर्गौला पीडितलाई डायलाइसिस गर्न आउन भने रोक नलगाइएको बताउनुभयो ।

कसैले रिर्जभमा वा आफन्तको गाडीमा डायलाइसिस गर्न आउने गरेको भन्दै कागजपत्रको अध्ययन गरेर त्यस्ता सवारी साधनलाई सञ्चालन गर्न दिइएको छ ।’– प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो ।

शुक्लागण्डकी नगरपालिकाले भने डायलाइसिस गर्न जानुपर्ने बिरामीलाई उपमेयर चढ्ने गरेको सवारी साधन निःशुल्क उपलब्ध गराएको छ ।

नगरपालिकामा निवेदन दिएका मिर्गौला पीडितले प्रत्येक पटक डायलाइसिस गर्न जाँदा सवारी साधन सुविधा पाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले बताउनुभयो ।

दमौली अस्पतालमा रहेको शत्रुघ्न मञ्जु डायलाइसिस केन्द्रमा दैनिक ६३ जना मिर्गौला पीडितले डायलाइसिस गराउँदै आएको केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिनुभयो । ०७२ मङ्सिर ३ गते स्थापना भएको सो केन्द्रमा हालसम्म २५ हजार भन्दा बढी पटक डायलाइसिस सेवा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

अन्य

भिडियो