INSEC Online

📅 २०८३ जेष्ठ २१

पृथ्वीनारायण क्याम्पसमा शिक्षकहरु आन्दोलित हुँदा पठनपाठन ठप्प

पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा अध्यापन गराउँदै आएका आंशिक शिक्षकहरुले आन्दोलन गर्दा पठनपाठन ठप्प भएको छ ।

कक्षाभार अनुसारको नियुक्ति र सुविधा पाउनुपर्ने माग गर्दै आएका आंशिक शिक्षकहरुको आन्दोलनले करिब १४ हजार विद्यार्थी प्रभावित बनेका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निषेध आदेशपछि क्याम्पस प्रशासनले बैशाख १५ गतेदेखि सञ्चालन गर्ने भनेको भर्चुअल कक्षालाई शिक्षकहरुले बहिस्कार गरेका छन् ।

विश्वविद्यालय आंशिक प्राध्यापक सङ्घ पृथ्वीनारायण क्याम्पस इकाइका अध्यक्ष सुनिल गौतमले ०७७ सालमा कोभिडको कारण भएको लकडाउनमा अनलाइन कक्षा अध्यापन गराएको शुल्कपनि क्याम्पस प्रशासनले भुक्तानी नगरेको बताउनुभयो ।

उहाँले असार पहिलो सातासम्म माग सम्बोधन नभएको खण्डमा क्याम्पस प्रमुख प्राध्यापक डाक्टर सरोज कोइरालाले राजिनामा दिनुपर्ने माग रहेका ेबताउनुभयो ।

उहाँका अनुसार त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा हप्तामा १५ पिरियड कक्षा लिनेलाई स्थायी सरहको सेवा सुविधा दिने नीति ल्याएको भएपनि क्याम्पस प्रशासनले त्यसलाई बेवास्ता गरेको छ ।

क्याम्पस प्रमुख प्राध्यापक कोइरालाले आंशिक शिक्षकलाई एक्कासी करार सेवा र स्थायी बनाउन सम्भव नहुने बताउनुभयो ।

उहाँले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षा पास गरेर नियुक्ति लिएर आउने शिक्षकलाई नियमानुसार हुने बताउँदै, आंशिक शिक्षकको लागि तत्काल वार्षिक २ करोड रुपियाँ उपलब्ध गराउने जानकारी प्रशासनले त्रिविमा गराएको प्रष्ट्याउनुभयो ।

उहाँका अनुसार एक पिरियड पढाएको ५ सय ९० रुपियाँ प्राप्त गर्ने नियम अनुरुप नै कक्षा अनुसारको भुक्तानी गरिएको छ ।

आंशिक शिक्षक भएपछि जतिसुकै ठूलो प्राध्यापक भएपनि नियम अनुरुप प्राप्त हुने रकम त्यति नै रहेको बताउदै उहाँले अघिल्लो वर्षको अनलाइन कक्षा अध्यापन वापतको रकमपनि भुक्तानी नरोकिएको दाबी गर्नुभयो ।

क्याम्पसमा अध्यापन गराउँदै आएका २ सय १८ भन्दा बढी शिक्षकहरुले अनलाइन कक्षा अध्यापन गराउन बहिस्कार गरेपछि विद्यार्थीको शैक्षिक कार्यक्रम तथा परीक्षाहरु पनि प्रभावित भएका छन् ।

अन्य

भिडियो