माडीमा पर्ने बाँदरमुढे खोलामा तत्कालीन विद्रोही माओवादीले यात्रुबसमा गराएको विष्फोट घटनाको १६ वर्ष पुगेको छ ।
२०६२ साल जेठ २३ गते यात्रु बोकेर गुडिरहेको ना १ ख ३२४५ नम्बरको सार्वजनिक बस विष्फोटमा पर्दा घटनास्थलमै ३८ जनाको ज्यान गएको थियो ।
७२ जना घाइते भएका थिए । पछि थपिएर मृतक सङ्ख्या ४२ पुग्यो । घटनामा घाइते भएका १५ जनाले अहिले पनि औषधि खाइरहेको र सात जना मानसिक समस्यामा रहेको बाँदरमुढे घटना पीडित समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले बताउनु भयो ।
मृतकको सम्झनामा खोलामा स्मारक निर्माण गरिएको छ । तर, यस वर्ष भने स्मारक नजिक दीप प्रज्वलन गरी कालो दिवसको रूपमा मनाउने तयारी भएको उहाँको भनाइ छ ।
घटना पश्चात पीडितको राहतका लागि विभिन्न समयमा दिइएका आश्वासन पुरा नहुँदा घटनाका पीडितहरू थप पीडित बनेका छन् ।
घटनामा परेर आफन्त गुमाएका र अपाङ्गता भएकाहरू अझै पनि न्याय र राहतको आशामा बसिरहेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले संसदीय निर्वाचनका क्रममा २०७४ मङ्सिर १७ गते माडीमै पुगेर पीडित पक्षसँग गर्नु भएको सहमति अझै कर्यान्वयनमा आएको छैन ।
त्यतिबेला मृतकका आश्रित परिवारलाई काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृत्ति र बालबालिकालाई पढाइदिने समहमति भएको थियो ।
‘राजनीतिक र चुनावी मुद्दा बनाइयो । प्रधानमन्त्रीसमेत भइसकेको मान्छेले बोलेका कुरा त पुरा हुँदैनन् भने अरुको कुरा के पत्याउनु ?’–समितिका अध्यक्ष न्यौपाने भन्नु भयो ।
यसैगरी घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा बाँदरमुढेमा १० विगाह जमीनमा नमूना सङ्ग्राहलय बनाउने अर्को सहमति पनि भएको थियो । अहिले यी सहमति कुनै पनि पुरा नभएको अध्यक्ष न्यौपानेको भनाइ छ ।
माडी नगरपालिकाले हासम्म २५ जनालाई १ लाख रुपियाँका दरले राहत दिएको छ । घटनाका पीडित निर्मल शर्माले आश्वासन दिने तर पुरा नगर्ने नेताको बानीबाट आफूहरू थप पीडित बनेको प्रतिक्रिया दिनु भयो ।
बाँदरमुढे घटना पीडितको लगत सङ्कलन भएको छ । लगत सङ्कलन टोलीले घटनाका मृतक तथा घाइतेका परिवारलाई घरमै भेटघाट गरी लगत उठाएको थियो ।
माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले भन्नु भयो–‘मृतकका परिवार र घाइते गरी १ सय ३५ जनाको लगत सङ्कलन गरिएको छ ।’
ठाकुर ढकालको संयोजकत्वमा गठित ‘बाँदरमुढे घटना समाधान समिति’ले झापा, दमौली, पोखरालगायत विभिन्न ठाउँमा गएर लगत सङ्कलन कार्य गरेको हो । बाँदरमुढे घटनामा झापाका एकै घरका चार जनाको मृत्यु भएको थियो ।
बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिका अध्यक्ष मुक्ति न्यौपानेले चुनावको समयमा आफूहरूसँग गरेको प्रतिबद्धता तत्काल पुरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग माग गर्नु भएको छ ।
घाइतेको औषधि उपचार निःशुल्क हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने बाँदरमुढेका नाममा उठाइएको राहत रकम स्पष्ट गरिनु पर्नेलगायतका माग उहाँले राख्नु भएको छ ।
इन्सेकले ०७८ जेठ २३ गते पनि विज्ञप्तमार्फत आफ्नो सरोकार राखेको छ । विज्ञप्ति पढ्नका लागि यहाँ क्लिक गर्नुहोला ।
इन्सेकलगायतका संस्थाले चितवनको माडी क्षेत्र अन्तर्गत बाँदरमुडे खोलामा माओवादीद्वारा यात्रुबाहक बसमा विद्युतीय धराप विस्फोट गराउँदा भएको घटनाको स्थलगत अध्ययन गरी प्रतिवेदनसमेत जारी गरेका थिए ।