१४ वर्षीया बालिकालाई राजविराज नपा–२ का ३५ वर्षीय नबिन देवले अपहरण तथा शरीर बन्धक गरेको भन्दै पीडितकी आमाले जेठ २१ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिनुभएको छ ।
बालिकाका आमाबुवा औषधोपचारका लागि घरबाहिर निक्लिएको मौका छोपी अपहरण गरी लैजाने आरोपितलाई कारवाहीको माग गर्दै इन्सेक प्रतिनिधिसहित आउनु भएकी पीडितकी आमाले उजुरी दिनु भएको डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।
अपरिचित व्यक्तिले झुक्यानमा पारी जेठ २० गते राति अपहरण गरेर लगेको थाहा पाउने बितिक्कै सक्रिय बनेको सप्तरी प्रहरीले राजविराजदेखि ९ किलोमिटर दक्षिण रुपनी नजिकैबाट बालिकाको सकुशल उद्धार गर्नुका साथै आरोपितलाई गिरफ्तार गरेको एसपी राजेन्द्रप्रसाद धमलाले बताउनु भयो ।
बुबाको साथी भन्दै आरोपितले झुक्याई आफ्नो नयाँ घरबासको भोजको निम्तो मान्नका लागि घर हेरेर फर्किनु भनेर लगेको बालिकाले बताएकी छन् ।
पीडित बालिकाले ७० वर्षीय हजुरबुवा र ६८ वर्षीय हजुरआमासँग आँगनमा निकैबेर कुरा गरेको देखेर चिनजानकै होला भन्ठानेको र हजुरबुबाहजुरआमाले छोराको साथी भन्ने विश्वासमा परेर बालबालिकालाई घर हेरेर फर्किहाल्नु भन्दै पठाएको उनीहरूले बताए ।
बालिकाका बुबासँग फोन गरेजस्तो नक्कल गरी विश्वास दिलाएका आरोपितले बालिका र उनका १६ वर्षीय दाजुलाई मोटरसाइकलमा लगे पनि बालिकाका दाजुलाई बाटोमै ओरालेर बालिका लिई फरार भएका थिए ।
अपरिचित व्यक्तिलाई बुबाको साथी भन्ठानेकी बालिकाले प्रहरीबीच वाकीटकीमा भएको कुराकानी सुनेपछि र आरोपितलाई गिरफ्तार गरेपछि मात्र आफू अपरहणमा परेको थाहा पाएको बताइन् । आरोपित अपरिचित भएको बालिकाका बुबाले बताउनु भयो ।