४० वर्षीय स्वास्थ्यकर्मी अशोककुमार राजवंशीलाई कार्यस्थलमा रहेका प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप छ । कोशी अस्पताल विराटनगरमा कार्यरत सिनियर अहेब राजवंशीमाथि जेठ १८ गते राति ९ बजेतिर विराटनगर महानगरपालिका–७ को देवकोटा चोकमा कुटपिट भएको पीडितको आरोप छ ।
राजवंशीले ड्युटी सकेर मधुमारास्थित घर फर्कँदै गर्दा प्रहरीले रोकेर अन्धाधुन्ध लाठी प्रहार गरेको आरोप लगाउनु भयो । दुवै गोडा र पेटमा चोट लागेको पीडितले बताउनु भयो ।
मोटरसाइलमा घर जाँदै गर्दा विराटनगरको देवकोटा चोकमा आफूमाथि प्रहरीले अमर्यादित र अमानवीय ढङ्गले कुटपिट गरेको राजवंशीको आरोप छ ।
स्वास्थ्यकर्मीले परिचय पत्र स्पष्ट देख्ने गरी भिरेर हिँडेको देख्दादेख्दै प्रहरीले कुटपिट गर्नु गलत भएको नेपाल चिकित्सक सङ्घ कोशीका अध्यक्ष डाक्टर फरवार्ड सिलवालले बताउनुभयो ।
सहकर्मी कुटिएपछि विराटनगरमा चिकित्सक र स्वास्थ्यकर्मीले जेठ १९ गते प्रदर्शन गरेका छन् । कोशी अस्पताल विराटनगर परिसरमा प्लेकार्डसहित कुटपिटको विरोधमा उत्रिएका उनीहरूले सुरक्षाको माग गरे ।
कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर चुमनलाल दासले कोभिड महामारीमा अग्रभागमा खटिएर सङ्क्रमितको सेवा एवम् बिरामीको उपचारमा अहोरात्र खटिने चिकित्सक असुरक्षित हुनु दुःखद् भएको बताउनुभयो । घटनाका सम्बन्धमा प्रशासन र प्रहरी कार्यालयको ध्यानाकर्षण गरी सकिएको उहाँले बताउनुभयो ।
स्वास्थ्यकर्मी कुटिएको घटनाको छानबिन सुरू गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले बताउनुभयो ।
स्वास्थ्यकर्मीमाथि हातपात भएको विषयमा अनुसन्धान थालिएको एसपी खड्काले मोरङ प्रतिनिधिलाई टेलिफोनमा जानकारी दिनुभयो ।