INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य बिमा गरेकाहरू सेवाबाट वञ्चित

जिल्लामा स्वास्थ्य बिमा गरेका करिब ३० हजार जना स्थानीय सेवाबाट वञ्चित भएका छन् ।

बिमा कार्यक्रम कार्यान्वयनको लागि आवश्यक तयारी पुरा नहुँदा ०७७ चैत मसान्तसम्ममा बिमा गरेका करिब ३० हजार जना सेवाबाट वञ्चित भएका हुन ।

चैत मसान्तसम्ममा स्वास्थ्य बिमा गरेकाहरूको सेवा अवधि जेठ १ गते देखि सुरू भएको छ । तर, स्वास्थ्य बिमा वोर्ड गण्डकी प्रदेश कार्यालयले नवलपुरमा स्वास्थ्य बिमा कार्यान्वयनको लागि छनोट भएका स्वास्थ्य संस्थासँग बिमा कार्यान्वयन सम्झौता गर्न ढिलाइ गरेको कारण कार्यान्वयन हुन सकेको छैन ।

कार्यक्रम कार्यान्वयनको लागि छनोट भएकामध्ये मध्यविन्दु जिल्ला अस्पताल नवलपुर बाहेकका स्वास्थ्य संस्थासँग केही दिन अगाडि मात्रै सम्झौता भएको स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेश कार्यालय संयोजक जिवनाथ खरेलले बताउनुभयो ।

सम्झौता गरेका स्वास्थ्य संस्थामा पनि आवश्यक पूर्वधार तयारी र जनशक्ति व्यवस्थापन हुन नसक्दा कार्यान्वयनमा हुन सकेको छैन ।

जिल्लामा मध्यविन्दु जिल्ला अस्पताल, चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र, देउराली अस्पताल हुप्सेकोट,  बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्र, रकुवा डेडगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, गैंडाकोट नगर अस्पताल र दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनको लागि छनोट गरिएको थियो ।

अस्पतालमा कोभिड–१९ सङ्क्रमितको चाप बढ्दो रहेको अवस्थामा अहिले तत्काल कार्यक्रम कार्यान्वयन सम्झौता गर्र्न नसकिएको मध्यविन्दु जिल्ला अस्पतालनका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो ।

‘सम्झौता गरेपछि त्यसको कार्यान्वयन गर्नुपर्छ । केही समय अगाडि अनलाइन तालिममा आउन भन्नु भएको थियो । अब अस्पतालमा कोभिडको चाप छ को अनलाइनमा जाने ?’–उहाँले भन्नुभयो–‘कर्मचारी व्यवस्थापन, काउन्टर निर्माण धेरै कुराहरू गर्नुपर्छ, सम्झौता मात्रै गरेर कार्यान्वयन गर्न सकिएन भने झन समस्या हुन्छ ।’

केही समय अगाडि प्रदेश कार्यालयबाट कार्यक्रम कार्यान्वयनको लागि अनलाइन तालिम भएको थियो । तर, सोको आधारमा सेवा प्रवाह गर्न कठिनाइ हुने चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख रामप्रसाद पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार बिमा बोर्डसँग सम्झौता भएपनि अनलाइन सफ्टवयेर जडानको काम बाँकी छ । आवश्यक कागजपत्रहरू पनि पुरा आएका छैनन् ।

स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन सम्झौता गरेका स्वास्थ्य संस्थाबाट तत्काल सेवा प्रवाहको लागि प्रदेश कार्यालयबाट आवश्यक समन्वय गरिरहेको र मध्यविन्दु जिल्ला अस्पतालसँग सम्झौताको लागि नियमित छलफल गरिरहेको खरेलले बताउनुभयो ।

कावासोती नगरपालिकाका स्थानीयले मध्यविन्दु जिल्ला अस्पताल र विनयीत्रिवेणी गाउँपालिकाका स्थानीयले चोरमारा प्राथमिक स्वास्थ्य चौकीमा सेवा लिने गरी बिमा फारम भरेका छन् ।

अन्य स्थानीयतहमा सम्बन्धित स्थानीय तहमा नै स्वास्थ्य संस्था तोकिएको छ ।

नवलपुरमा गत फागुन १ गतेदेखि दर्ता सहयोगी मार्फत जिल्लाका स्थानीयहरूको स्वास्थ्य बिमा गरिएको थियो ।

जिल्लामा दर्ता सहयोगी मार्फत चैत मसान्तसम्म स्वास्थ्य बिमा गराएकाहरूको यकिन तथ्याङ्क अझै प्राप्त हुन सकेको छैन ।

बिमा फारमको अनलाइन इन्ट्रीको काम अन्तिम चरणमा रहेको स्वास्थ्य बिमा कार्यक्रम जिल्ला बोर्ड नवलपुर संयोजक जायश्वर भुसालले बताउनुभयो ।

प्रारम्भिक तथ्याङक अनुसार जिल्लामा करिब ३० हजार जनाले पहिलो चरणमा स्वास्थ्य बिमा गराएका छन् । कार्यालय व्यवस्थापन, आवश्यक समन्वय लगायतको कारण कार्यान्वयनमा केही ढिलाइ भएको उहाँले बताउनुभयो ।

नवलपुरमा स्वास्थ्य बिमा गराएका स्थानीयहरूले पहिलो सेवाको बिमा फारम भर्ने समयमा उल्लेख गरेको स्वास्थ्य संस्थामा जानुपर्छ । यदि थप उपचार आवश्यक भए सो को सिफारिसको आधारमा मात्रै स्वास्थ्य बिमा वोर्डमा सुचित स्वास्थ्य संस्था मार्फत उपचार प्राप्त गर्छन ।

इमरजेन्सी सेवा भने सुचित सबै अस्पतालबाट प्राप्त हुन्छ । तर, नवलपुरका स्वास्थ्य संस्थासँग सम्झौता नहुनु, भएपनि कार्यान्वयन नहुनुले यहाँका सेवाग्राही सेवाबाट वञ्चित छन् । अर्को तर्फ अनलाइनमा हुनुपर्ने इन्ट्रीको काम पनि बाँकी हुदाँ थप समस्या छ ।

बिमा गराएका स्थानीयहरू सेवा नपाउँदा बिमा प्रतिको विश्वास घट्ने चिन्ता रहेको कावासोती नगरपालिका–६ का दर्ता सहयोगी मणिप्रसाद न्यौपानेले बताउनुभयो ।

‘बिमा गराएको व्यक्ति उपचारको लागि चितवन गएको स्थानीय स्वास्थ्य संस्थाको रिफर खोजेछ । अब हाम्रो जिल्लामा सुरू जो भा छैन ।’– उहाँले भन्नुभयो– ‘मलाई पनि फोन गर्नुभएको थियो । दुई तीन वटा अस्पताल पुग्नुभएछ । अन्तिममा आफ्नै खर्चमा उपचार गरेर आउनुभयो ।’

चैत मसान्तसम्म बिमा गरेका स्थानीयहरूले अहिले दैनिक रूपमा बिमा सम्बन्धी बुझ्नको लागि फोन गरेपनि आफूसँग उनीहरुलाई दिने चित्त बुझ्दो जवाफ नभएको न्यौपानेले बताउनुभयो ।

स्वास्थ्य बिमा बोर्डले विभिन्न समयमा बिमा गरेकाहरूको लागि छुट्टाछुट्टै समयबाट उपचार पाउन सुरू हुने गरी व्यवस्था मिलाएको छ ।

माघ, फागुन र चैत महिनामा बिमा रकम बुझाउने व्यक्तिले जेठबाट उपचार पाउन सुरू गर्दछ । त्यस्तै वैशाख, जेठ, असार महिनामा रकम बुझाउनेले भदौ महिनाबाट साउन, भदौ र असोज महिना बिमा रकम बुझाउने व्यक्तिले मङ्सिर महिनाबाट र कात्तिक, मङ्सिर र पुस महिनामा बिमा रकम बुझाउनेले फागुन महिनाबाट उपचार पाउन सुरू हुन्छ ।

पाँच जनासम्म सदस्य भएको परिवारले बिमाको लागि ३ हजार ५ सय रुपियाँ रकम बुझाएर बिमा गराएका छन् । सो बिमाबाट एक वर्ष भरी परिवारका सदस्य बिरामी भएमा एक लाख रुपियाँ बराबरको उपचार पाउनेछन् ।

पाँच जना भन्दा बढी सङ्ख्या भएका परिवारले प्रति व्यक्ति ७ सय रुपियाँ थप बिमा रकम बुझाएका छन् । पाँच जना बढीको परिवारले प्रति थप व्यक्ति थप २० हजार बराबरको उपचार प्राप्त गर्ने छन् ।

अन्य

भिडियो