गण्डकी प्रदेशकै सबैभन्दा ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजनको अभावका कारण बिरामीले मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको अस्पतालमा जेठ १३ गते रातिदेखि अक्सिजन अभाव हुँदा जेठ १४ गते बिहानसम्म एक सुत्केरी महिला सहित ६ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।
अस्पतालमा एक्कासी अक्सिजनको अभाव भएको र हाइफ्लो अक्सिजन दिएर उपचार भइरहेका बिरामीले सोही अनुसार अक्सिजन नपाउँदा मृत्यु भएको हो ।
मृत्यु हुनेमा अस्पतालमा उपचाररत तनहुँका तीन जना, म्याग्दी, पर्वत र स्याङ्जा जिल्लाका एक एक जना रहेका छन् ।
अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिएपनि आवश्यक व्यवस्थापन नहुँदा समस्या उत्पन्न भएको हो ।
सङ्घ सरकार मातहत रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट छैन ।
पोखरा अक्सिजन उद्योगबाट नियमित आपूर्ति भइरहेको अवस्था जेठ १३ गते उद्योगमा विद्युत आपूर्ति रोकिएपछि अक्सिजन उत्पादनमा ढिलाई भएको थियो ।
जसकारण प्रतिष्ठानले रातको समयमा आवश्यक अक्सिजन पाउन सकेन । प्रतिष्ठानले हाल दैनिक ३ सय सिलिन्डर खपत गर्दै आइरहेको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका फोकल पर्सन डाक्टर शरद बरालका अनुसार हाइफ्लो अक्सिजन चाहिने बिरामीको सङ्ख्या बढेपनि अक्सिजनको सहज आपूर्ति नहुँदा समस्या उत्पन्न भएको हो ।
उहाँका अनुसार अहिले अस्पतालमा हाइफ्लो अक्सिजन चाहिने नौ जना बिरामी उपचाररत रहेका छन् ।
‘निकै मेहनत गर्यौ तर बचाउन सकिएन, अक्सिजन नै नभएपछि स्वास्थ्यकर्मीको मात्रै केही लागेन’,–डाक्टर बरालले भन्नुभयो ।
हाइफ्लोका बिरामीलाई धेरै अक्सिजन चाहिने हुँदा पनि थोरै कम हुने बित्तिकै ज्यानको जोखिम हुने उहाँले बताउनुभयो ।
जेठ ११ गतेदेखि ओपिडि सेवा बन्द गरी कोभिड अस्पतालको रूपमा सेवा प्रवाह गरिरहेको अस्तपालमा कुल ३ सय ५० बेड रहेको छ । हाल अस्पतालको कोभिड वार्डमा ७० जना कोभिड सङ्क्रमितको उपचार भइरहेको छ । यस्तै वार्डमा दैनिक १० देखि १५ बिरामी भर्ना हुने गरेका छन् ।
अस्पतालमा अक्सिजन अभावका कारण मृत्यु भएपछि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी बहन गर्नुभएका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर भरत बहादुर खत्री, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, पोखरा महागरपालिका प्रमुख मानबहादुर जिसी लगायतको उपस्थितिमा बैठक राखी पोखरामा अक्सिजन अभाव लगायत कुनै समस्या हुन नदिन आवश्यक व्यवस्थापनका लागि निर्देशन दिनुभएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिनुभयो ।