INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपितहरू गिरफ्तार

बीरगंज महानगरपालिका–१४ पिप्राकी २६ वर्षीया सोनी साहलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ससुरा मुनीलाल साहसहित घर परिवारका अन्य चार जना सदस्यलाई जेठ ९ गते गिरफ्तार गरेको छ ।

प्रहरीले सोनीका देवरहरू २७ वर्षीय प्रभाकरकुमार साह, ३० वर्षीय दिवाकरकुमार साह र २० वर्षीया नन्द अनिता कुमारीलाई पनि गिरफ्तार गरेको वडा प्रहरी कार्यालय श्रीपुरका इन्स्पेक्टर दिनेश गौतमले बताउनु भयो ।

पीडित सोनीले सोही दिन वडा प्रहरी कार्यालय श्रीपुरमा उजुरी दिनु भएको छ । सोनीका पति फरार रहेका इन्स्पेक्टर गौतमले जानकारी दिनु भयो ।

भारतको बिहार पूर्वी चम्पारण जिल्ला अरेराज माइतीघर भएकी २६ वर्षीया सोनीको विवाह ०७५ असार ३१ गते बीरगंज महानगरपालिका–१४ पिप्राका ३५ वर्षीय अनिलकुमार साहसँग भएको थियो ।

विवाह भएदेखि नै घरेलु हिंसामा परेको सोनीले बताउनु भएको छ । दाइजो नदिएको भन्दै आफूमाथि घरेलु हिंसा हुँदै आएको पीडितले आरोप लगाउनु भएको छ ।

जेठ ८ गते देवर प्रभाकरले फलामको रडले टाउकोमा प्रहार गरी घाइते बनाएको सोनीको आरोप छ । टाउको फुटेर घाइते हुनुभएकी सोनीको उपचार स्थानीय क्लिनकमा गरी घर फर्किनु भएको छ ।

अन्य

भिडियो