INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्पले लमजुङका घरहरूमा क्षति, पाँच जना घाइते

बेसीशहर नगरपालिका –१० बाझाँखेत र मर्स्याङ्दी गाउँपालिका–८ को भुलभुलेलाई केन्द्रबिन्दु भइ जेठ ५ गते गएको भूकम्पले लमजुङमा क्षति बनाएको छ ।

बिहान ५ बजेर ४३ मिनेट जाँदा ५.८ रेक्टर स्केलको पहिलो पटक त्यसपछि लगातार ८ बजेर १६ मिनेटमा ५ रेक्टर स्केल र ८ बजेर २६ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प लमजुङनै केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पबाट बेशीशहर नगरपालिकाको वडा नम्बर ३, ६, १०, ११ मा र मर्स्याङ्दी  गाउँपालिकाको वडा नम्बर ६, ७, र ८ मा धेरै क्षति भएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईटेलले जानकारी दिनुभयो ।

photo20210519Lamjung

भूकम्पका कारण जिल्लाका २९ घरमा क्षति भएको छ  भने पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी गङ्गाबहादुर थापाले बताउनुभयो ।

घाइते हुनेहरूमा बेसीशहर नगरपालिका –११ की ८३ वर्षीया खोपकुमारी पाण्डे, बेसीशहर नगरपालिका–६ की ३६ वर्षीया उमा गुरुङ, बेसीशहर नगरपालिका–८ की २९ वर्षीया खुशीमायाँ गुरुङ, मर्स्याङ्दी  गाउँपालिका–६ का २२ वर्षीय गोविन्द अधिकारी र बेसीशहर नगरपालिका–८ की ६० वर्षीया सुमित्रादेवी श्रेष्ठ रहेको जिल्ला सामुदायिक अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।

घाइतेहरूको उपचार जिल्ला सामुदायिक अस्पतालमा भइरहेको प्रमुख श्रेष्ठले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो । बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल र मर्स्याङ्दी  गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले घाइते र क्षतिग्रस्त घरहरूको अनुगमन गरी तत्कालै राहतको व्यवस्थापन गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

अन्य

भिडियो