शान्तिको लागि नागरिक समाजको सञ्जाल पोखराले सबै सरकारी अस्पतालमा अक्सिजन प्लान्टको निर्माण गर्न माग गरेको छ ।
सञ्जालले जेठ २ गते विज्ञप्ति प्रकाशत गरी हाल अक्सिजनका कारण धेरै बिरामीको ज्यान गएको दृष्टान्तलाई मध्यनजर गरी पर्याप्त मात्रामा अक्सिजन प्लान्टको निर्माण र बिना अवरोध सञ्चालन गरी अस्पतालहरूमा सहज आपूर्तिको व्यवस्था मिलाउन माग गरेको छ ।
विज्ञप्तिमा प्रत्येक जिल्लामा कोभिड अस्पताल निर्माण कार्यमा तदारुकता देखाउनुपर्ने, उपचार नपाएर मानिसहरूको मृत्यु हुने अवस्थाको अन्त्यका लागि स्वास्थ्यकर्मीको परिचालन, अस्पतालको पूवार्धारमा सुधार तथा बेड सङ्ख्या थप गर्न आवश्यक जोड दिनुपर्ने, स्थानीय तहले कोभिड परीक्षण तथा आइसोलेशन निर्माणका लागि सक्रियता बढाउन सञ्जालले माग गरेको छ ।
सञ्जालले कोभिड–१९ सङ्क्रमितसँग नियमित परामर्श गर्ने र मनोबल बढाउनका लागि सयन्त्रको विकास गरिनुपर्ने, भयावहरुपमा फैलिएको महामारीको मौका छोपेर खाद्यान्न, औषधि, उपकरणहरुमा कालो बजारी र भ्रष्टाचार भएको भनि सञ्चार माध्यममा प्रकाशित समचार प्रति हाम्रो ध्यान गम्भीर रुपमा आकृष्ट भएको छ । यससम्बन्धी प्रभावकारी अनुगमन गरी आवश्यक छानबिन र दोषी उपर कडा कारबाही गरिनुपर्ने माग गरेको छ ।
प्राइभेट तथा नीजि अस्पतालहरुले कोभिड सङ्क्रमितहरुको उपचारका क्रममा अत्याधिक रकम असुली गरिरहेको जनगुनासो आइरहेको भन्दै सञ्जालले अनुगमन गरी त्यस्ता अस्पाताललाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग समेत गरेको छ ।
सञ्जालले खोपको उपलब्धताका लागि नेपाल सरकारले कुटनीतिक पहल गरी सबै नागरिकहरुलाई तत्काल खोपको उपलब्धता गराउनुपर्ने पनि माग गरेको छ ।
नागरिकले पनि स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्नुपर्ने भन्दै सञ्जालले सङ्क्रमण दर बढेमा नागरिकलाई स्वास्थ्य सेवा दिन असमर्थ छ भनेर नागरिकलाई अत्याउनु भन्दा सेवा दिन सकिने बैकल्पिक उपायहरुको खोजी गरेर नागरिकलाई त्रसित हुनबाट जोगाउनुपर्ने जनाएको छ ।
डिसिएसिसि तथा अन्य कोभिड–१९ प्रतिकार्य समितिहरुमा यस प्रदेशका सबै जिल्लाहरुमा नागरिक समाज तथा सामाजिक संस्थाहरुलाई पनि अनिवार्य प्रतिनिधित्व गराउनुपर्ने, कोभिड–१९ सङ्क्रमणको समयमा र त्यसपछि पनि हुन सक्ने मनोसामाजिक समस्या र मानसिक स्वास्थ्यको अवस्थालाई ध्यानमा राखेर त्यसका लागि आवश्यक जनशक्तिको उत्पादन गरी सेवा प्रवाह गर्नुपर्ने, कुनै पनि सङ्क्रमण तथा बिपद्को समयमा महिला बालबालिका, अपाङ्गता भएका व्यक्ति, दलित तथा सिमान्तकृत समुदायका व्यक्ति, जेष्ठ नागरिकहरु र दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने मजदुरहरु बढी जोखिममा हुने र उनीहरुमाथि घरेलु हिंसा, यौनजन्य दुव्र्यवहार, श्रमशोषण तथा अन्य प्रकारका हिंसा यातना बढ्न सक्ने यथार्थतालाई मध्यनजर गर्दै सम्बन्धित निकाय तथा सरोकारवालाहरुलाई सजक र सक्रिय बनाउनुपर्ने जनाएको छ ।
शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक विष्णुप्रसाद बराल, गैसस महासङ्घका महासचिव रामप्रसाद सुवेदी, इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराका संयोजक शिवप्रसाद खकुरेल, मानवअधिकार संरक्षण मञ्च (मासम) कास्कीका अध्यक्ष कमलप्रसाद अर्याल, गैसस महासङ्घ नेपाल गण्डकी प्रदेश समितिकी अध्यक्ष विना सिलवाल, मानवअधिकार एलायन्स कास्कीका अध्यक्ष रामचन्द्र पौडेल, सयपत्री समाज नेपाल कास्कीका सदस्य गिरधारी सुवेदी, कोपिला नेपालका संयोजक तिर्थबहादुर थापा र गैसस महासङ्घ नेपाल कास्की शाखाका अध्यक्ष पदमराज पहारीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा कोभिड–१९ सङ्क्रमणका कारण निम्तन सक्ने थप जोखिम न्यूनीकरणका लागि सरकारी गैरसरकारी र नीजि क्षेत्रको साझा मञ्च बनाएर प्रतिकार्य अगाडि बढाउन माग गरिएको छ ।