मङ्गला गाउँपालिकाले कोभिड सङ्क्रमितहरुको उपचारका लागि एम्बुलेन्सका रुपमा प्रयोग गर्दै आएको गाडीमा जेठ १ गते राति तोडफोड भएको छ ।
मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट बिरामीलाई सदरमुकाम बेनी पुर्याएर बाबियाचौर फर्कने क्रममा ग १ झ ४१६ नम्बरको बोलेरो जिपलाई सिमलचौरमा तोडफोड गरेको आरोपमा प्रहरीले मङ्गला गाउँपालिका–२ सिमलचौरका ३५ वर्षीय रमेश बानियाँ र २६ वर्षीय जीवन बानियाँलाई गिरफ्तार गरेको छ ।
आरोपितहरुले गाडीलाई तोडफोड गर्नुका साथै चालक रामु गिरी र मङ्गला गाउँपालिकाका स्वास्थ्य संयोजक लेखनाथ रोकालाई पनि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर डाक्टर चौधरीले बताउनुभयो ।
आरोपितहरुलाई गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको र घटनाको मुख्य कारण हालसम्म पत्ता नलागेको उहाँले बताउनुभयो ।
घाइतेहरुलाई बेनी अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको मङ्गला गाउँपालिकाकी उपाध्यक्ष सिर्जना केसीले जानकारी दिनुभयो ।
गाउँपालिकाले प्रयोग गर्ने उक्त गाडी कोभिड–१९ सङ्क्रमण बढ्न थालेपछि सङ्क्रमितलाई ओसार्नका लागि प्रयोग गर्न थालिएको उपाध्यक्ष केसीले बताउनुभयो ।
