INSEC Online

📅 २०८३ जेष्ठ २२

गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त हुनुभएको छ ।

उहाँलाई वैशाख २९ गते गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले  पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ ।

०७४ माघ २९ गते मुख्यमन्त्री पदमा नियुक्त भएर फागुन २ गते सपथ ग्रहण गरी कार्यभार सम्हाल्दै आउनुभएका मुख्यमन्त्री गुरुङविरुद्ध प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ०७८ वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

अल्पमतमा परी संसदबाट विश्वासको मत जुटाउन नसक्ने भएपछि मुख्यमन्त्री गुरुङले वैशाख २६ गते राजिनामा दिनुभएको थियो ।

सोही दिन प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्रीको राजिनमा स्वीकृत गर्दै तीन दिन भित्र बहुमतको सरकारको दाबी पेश गर्न समयावधि दिनुभएको थियो ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमत जुटाउन दलहरुलाई प्रदेश प्रमुखले आग्रह गर्दा समय सीमाभित्र नेपाली काङ्ग्रेस , नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले वैशाख २९ गते बहुमत पेश गर्न नसकेपछि सोही धाराको उपधारा (३) बमोजिम संसदमा विद्यमान ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री पदमा गुरुङ नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्रीले संसदमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

सपथ ग्रहणमा सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा, एमाले संसदीय दलका सचेतक मायानाथ अधिकारी, उच्च अदालतका प्रमुख न्यायाधीश सपथ ग्रहण समारोहमा उपस्थित हुनुहुन्थ्यो ।

सपथ लगत्तै मुख्यमन्त्रीको निवासमा पुगेर पदभार ग्रहण गर्दै उहाँले गण्डकी प्रदेश सरकारले खडा गरेको कोभिड  कोषमा सरकारको तर्फबाट ४ करोड रुपियाँ दिने निर्णय गर्नुभएको छ ।

अन्य

भिडियो