बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बरेङ गाउँपालिकाले हुग्दिशीर स्वास्थचौकीमा चिकित्सक र अक्सिजन सेवा सहितको पाचँ बेडको आइसोलेशन कक्ष निर्माण गर्नुका साथै प्रत्येक वडामा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणकालागि स्वास्थ्यकर्मीहरुलाई सम्पर्क व्यक्तिका रूपमा तोकेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभयो ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मङ्गला गाउँपालिका क्षेत्रमा फैलिएको काभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि १० दिन निषेध आदेश जारी गरिने भएको छ । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा वैशाख २५ गते बैँक तथा वित्तिय र सहकारी संस्था, उद्योग वाणिज्य सङ्घ मङ्गला इकाइ लगायतका सरोकारवालाहरुको बैठकले बढ्नो कोभिड–१९ सङक्रमणलाई नियन्त्रण गर्न लकडाउन लगाउनुपर्ने निस्कर्ष निकालेको थियो । बैठकको सिफारिस अनुसार गाउँपालिकाले वैशाख २६ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि मङ्गला गाउँपालिकामा निषेध आदेश लगाइने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोहर ढुंगानाले जानकारी दिनुभयो । गाउँपालिकाले गाउँ गाउँमा समेत कोभिड–१९ सङ्क्रमण फैलन थालेपछि लकडाउन गर्न लागिएको र उक्त अवधिमा अत्यावश्यक बाहेक गाउँपालिका, वडा, बैङ्क तथा वित्तिय र सहकारी संस्थाको सेवाको साथै बजार, यातायात लगायतका क्षेत्र समेत बन्द गर्ने जनाएको छ ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार कोभिड–१९ सङ्क्रमण बढेपछि जिल्ला कारागार कास्कीमा क्वारेण्टाइन बनाइएको छ । कास्की कारागार प्रमुख काजीमान सुनारका अनुसार कारागारको तीन ब्लकमा २÷२ कोठामा क्वारेण्टाइन बनाइएको हो । उहाँका अनुसार थुनुवा राख्न ल्याइएका, बिरामी भएका कैदीहरुलाई राख्ने गरी क्वारेण्टाइन तयार गरिएको छ । कारागारमा मेडिकल सामग्री बाहेक बाहिरबाट सामान लैजान प्रतिबन्ध गरिएको छ भने कैदीबन्दी भेटघाट पनि रोकिएको छ । ४ सय २० जनाको क्षमता भएको कारागारमा हाल ८ सय ९८ जना कैदीबन्दी रहेका छन् जसमा ७२ महिला छन् । कारागारभित्र भौतिक दूरी कायम गर्न गाह्रो हुने साथै स्वास्थ्य सुरक्षाका सामाग्रीहरु व्यवस्था कम उपलब्ध हुने भएकाले विशेष सतकर्ता अपनाइएको प्रमुख सुनारले बताउनुभयो ।
स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार वालिङ नगरपालिकाले जनस्वास्थ्य बिपद अवस्था देखाउदै वैशाख १८ गते राति १२ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म जारी गरेको निषेध आदेश वैशाख ३१ गते राति १२ बजेसम्म थप गरिएको वालिङ नगरपालिका प्रमुख दिलिप प्रताप खाणले वैशाख २६ गते एक सूचना जारी गर्दै जानकारी दिनुभयो ।