INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख २६ गते)

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार वैशाख २६ गते प्रदेश १ मा ७ सय ६० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मोरङमा ३ सय ७७ जना, झापामा १ सय २० जना, सुनसरीमा ७९ जना, उदयपुरमा ४३ जना, ताप्लेजुङमा ३६ जना, तेर्हथुममा ३० जना, पाँचथरमा ६ जना, इलाममा चार जना, भोजपुरमा तीन जना, सङ्खुवासभा र धनकुटामा दुई–दुई, जना र प्रदेश १ बाहिरका ५८ जनामा सङक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा वैशाख २६ गते सम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३७ हजार ९ सय ८३ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३० हजार २ सय ३२ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार १ सय ९४ पुगेको छ ।

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्लामा वैशाख २७ गतेदेखि जेठ ३ गतेसम्म पुन निषेध आदेश जारी गरिएको छ । वैशाख २० गतेदेखि २७ गतेसम्म निषेध जारी गरेकोमा कोरोना सङ्क्रमण बढेपछि दोस्रो पटक निषेध आदेशको अवधि थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन,२०२० को दफा २ (२)  र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेध अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । वैशाख २६ गते जिल्लामा ३२ जना कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । वैशाख २३ गते १ सय २ जनाको स्वाब सङ्कलन गरेर पठाएकामध्ये १७ जना पुरूष र १५ जना महिला गरी ३२ जना सङ्क्रमित थपिएका हुन् । वैशाख २६ गते फुङलिङ नगरपालिका–४ स्थित बाल मन्दिर आधारभूत विद्यालयमा १ सय ३५ जनाको स्वाब सङ्ककलन गरिएको छ । मेरिङदेन गाउँपालिकाले वैशाख २५ गते दोभानमा ५५ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि मोरङस्थित जनस्वास्थ्य प्रयोगशाला पठाएको छ ।

इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार जिल्ला प्रशासन कार्यालयले जिल्लाबाहिरबाट आउने इलामबासीले घर फर्किदा आफ्नो स्थानीय तह वा वडा कार्यालयमा आफू आएको जानकारी गराउन अनिवार्य गरेको छ । कार्यालयले वैशाख २६ गते सूचना जारी गरी त्यसरी आउने व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्नसमेत अनिवार्य गरेको जनाएको छ । अन्य जिल्लामा बसेका मानिस अहिले घर–गाउँ आइ परिवार तथा समाजसँग घुलमिल गरेको र कतिपयले आफूखुसी बाहिरी जिल्लामा कोरोना जाँच गराएर पोजिटिभ आएपछि पनि कसैलाई जानकारी नदिने गरेको प्रशासनले जनाएको छ । यसले सबैतिर कोरोना संक्रमण बढ्ने जोखिम थपिएको भन्दै प्रशासनले रोकथाम तथा नियन्त्रणका लागि सूचना गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले वडा कार्यालयहरूले पनि बाहिरी जिल्लाबाट भित्रिएका व्यक्तिबारे नियमित अनुगमन गर्ने बताउनु भयो । सूर्याेदय नगरपालिकामा वैशाख २६ गतेदेखि होटल, सवारी साधन, बजार, पसललगायत बन्द गरिएको छ । अर्काे सूचना नभएसम्मका लागि अत्यावश्यकबाहेकका सबैखाले सेवा बन्द गरिएको नगरपालिका प्रमुख रणबहादुर राईले बताउनु भएको छ । नगरपालिका र वडाहरूले दिने अत्यावश्यकबाहेकका सेवासमेत बन्द गरिएको छ ।नगरपालिकाले भारतबाट आउने नेपालीका लागि पशुपतिनगर नाकामा होल्डिङ सेन्टर स्थापना गरेको छ । यसरी भित्रिएका नेपालीलाई उनीहरूको घर पुग्ने व्यवस्था नहुञ्जेलसम्म राख्न पशुपतिनगरमै क्वारेन्टिनसमेत व्यवस्था गरिँदैछ । इलाममा वैशाख २६ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ५१ पुगेको छ । वैशाख २६ गतेसम्म इलामा पाँच जनाको मृत्यु भएको छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार कन्काई नगरपालिकाले पहिलो चरणमा अक्सिजनसहितको २० बेडको आइसोलेशन सञ्चालनमा ल्याउने भएको छ ।जिल्लामा कोभिड–१९ का सङ्क्रमित बढ्दै गएपछि आइसोलेसन कक्ष सञ्चालनका लागि तयारी गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनु भयो । सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रको दोस्रो तलामा व्यवस्थापन गरिएको आइसोलेसन कक्षका सबै बेडमा अक्सिजनको व्यवस्था गरिएको नगर प्रमुख पोखरेलले बताउनु भयो ।सङ्क्रमितलाई स्वास्थ्यकर्मीबाट आवश्यक परामर्श सेवा सञ्चालन गरिने भएको छ । कोरोनासम्बन्धी आवश्यक परामर्शका लागि चौविसै घण्टा सेवा उपलब्ध गराउने प्राथमिक स्वास्थ्य केन्द्रका डा अभिषेक नायकले बताउनु भयो । कोभिड–१९ को सङ्क्रमण बढेसँगै अक्सिजन अभाव हुन नदिन स्वास्थ्य संस्था बाहेकमा प्रयोग भइरहेको अक्सिजनका सिलिण्डर खोज्न झापामा प्रहरी परिचालन गरिएको छ । झापाका विभिन्न स्थानबाट खाली तथा भरी गरेर १ सय ३३ ओटा सिलिण्डर सङ्कलन गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनी क्षेत्रबाट ९० ओटा, धुलाबारी क्षेत्रबाट १९ ओटा, दमक र काँकरभिट्टा क्षेत्रबाट १२–१२ ओटा सिलिण्डर सङ्कलन गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताउनु भयो ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार कोभिड–१९ को सङ्क्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले वैशाख २६ गतेदेखि निषेध आदेश जारी गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको वैशाख २६ गतेको बैठकले मध्यराति देखि जेठ ९ गतेसम्म लागू हुने गरी निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताउनु भयो । सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार तथा सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरि निषेध आदेश जारी गरिएको जारी गरिएको प्रमुख जिल्ला अधिकारी राईले बताउनु भयो । निषेध आदेशका समयमा जिल्ला भित्रने तथा जिल्लाबाट बाहिर जाने एवम् जिल्लाभित्र सञ्चालन हुने सबै सवारी साधनहरू, भेला, तालिम, गोष्ठी, पूजापाठ, जात्रा, महोत्सव, खेलकुद लगायतका कार्यहरू गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । सबै प्रकारका होटल, रेष्टुरेन्ट, चिया तथा खाजा पसल, हार्डवेयर तथा व्यवसायहरू सञ्चालन गर्न निषेध गरिएको छ । जिल्ला भित्र नै एक ठाँउबाट अर्कोठाँउमा आवतजावत गर्न सम्बन्धित वडाको सिफारिस चाहिने छ । एक ठाँउबाट अर्कोठाँउमा आएर बस्ने हो भने बस्ने स्थानका वडामा पूर्णरूपमा १४ दिनसम्मक होम क्वारेन्टिन तथा आइसोलेसनको व्यवस्थाको ग्यारेन्टी नभएसम्म सम्बन्धित वडाले समेत यात्राका लागि सिफारिस गर्न नपाउने भएको छ । मालपोत कार्यालयबाट सेवा प्रवाह स्थगन गरिएको छ । मालपोत कार्यालये वैशाख २६ गते सूचना जारी गरी सबै सेवा प्रवाह बन्द गरेको जानकारी गराएको छ । जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार कार्यालयको आन्तरिक, प्रशासनिक कार्य बाहेक दैनिक रूपमा प्रवाह हुने सबै प्रकारका सेवाहरू अर्को सूचना नहुञ्जेसम्मका लागि स्थगन गरिएको मालपोत कार्यालयका प्रमुख राजुप्रसाद साहले बताउनु भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको अवस्थामा कार्यालयका केही कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि थप सङ्क्रमण नहोस् भन्ने उद्देश्यले सेवा प्रवाह बन्द गरिएको कार्यालयका प्रमुख साहले बताउनु भएको छ । सिद्धिचरण नगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवा प्रवाह बन्द गरेको छ । अत्यावश्यक बाहेकका कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द गरिएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले बताउनु भएको छ । जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । न्यायाधीश केसीलाई वैशाख २६ गते सङ्क्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १३ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताउनु भएको छ ।

उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार वैशाख २६ गते जिल्लामा हालसम्म कै उच्च सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला विराटनगरमा वैशाख २६ गते गरिएको परीक्षण र जिल्लामा गरिएको एन्टिजेन टेष्टमा एकै दिन ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या २ सय २४ पुगेको छ । सङ्क्रमित मध्ये सबैभन्दा बढी बेलका नगरपालिका क्षेत्रमा देखिएको छ । नगर क्षेत्रका ४० जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताउनु भयो । जिल्ला अस्पतालमा उपचार गर्न आएका आठ जना, त्रियुगा नगर क्षेत्रमा एक जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सुवेदीले जानकारी दिनु भएको छ ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई माक्स र सेनिटाइजर वितरण गरिएको छ । वैशाख २६ गते २ हजार २ सय ५० थान सर्जिकल माक्स, १० बोतल सेनिटाइजर  र ह्याण्ड ग्लोब्स ५० जोर प्रदान गरिएको छ । नेपाल खेलकुद महासङ्घका प्रतिनिधिहरूले ट्राफिक प्रहरी कार्यालयलाई सो सामग्री विवरण गरेको हो । सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकाले कोभिड– १९ विरूद्धको सचेतना अभियानमा काम गर्ने निर्णय गरेको छ । महामारीजन्य रोगहरूको रोकथाम नियन्त्रण तथा निगरानीका लागि स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूसँगको वैशाख २६ गतेको अन्तरक्रियापछि सचेतना अभियानमा काम गर्ने निर्णय भएको गाउँपालिकाकी  उपाध्यक्ष पुनम मेहताले बताउनु भयो ।

धनकुटा प्रतिनिधी ईश्वर थापाका अनुसार सहिदभूमी गाउँपालिकाले दोश्रो चरणको कोभिड –१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आँखीसल्ला स्वास्थ्य चौकीमा वैशाख २६ गते १६ बेडको आइसोलसन कक्ष स्थापना गरिएको छ । तीन ओटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिएको छ । नेपाल सरकारको नीति अनुसार कोभिड अस्पताल सञ्चालन गर्नका लागि पटकपटक विज्ञापन गरेपनि एमबीबीएस डाक्टर नआँउदा जनशक्तिको अभाव भएको गाउँपालिका अध्यक्ष मनोज राईले बताउनु भयो । गाउँपालिकाले सङ्क्रमितहरूका लागि एउटा एम्वुलेन्स तयारी अवस्थामा राखेको छ । कोभिड नियन्त्रणका लागि हेल्पडेक्स स्थापना, चेतनामुलक कार्यक्रम सञ्चालन र वैशाख ३१ गतेसम्म सवारी साधन सञ्चालनमा रोक, गाउँपालिकाको पञ्चकन्या र थलथलेमा लाग्ने हटिया बन्द गरेका गरिएको छ ।

पाँचथर प्रतिनिधि मंगल बेघाका अनुसार जिल्लामा वैशाख २६ गते थप १७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । एन्टिजेन मार्फत गरिएको परीक्षणमा फिदिम नगरपालिकामा आठ जना,, फालेलुङ गाउँपालिकामा पाँच जना, याङवरक गाउँपालिकामा तीन जना र  हिलिहाङ गाउँपालिकामा एक जनामा कोभिड–१९ पुष्टि भएको  जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी तेजबहादुर तुम्बापोले बताउनु भयो । पाँचथर उद्योग वाणिज्य सङ्घले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई २० थान अक्सिजन ग्यास सिलिन्डर हस्तान्तरण गरेको छ । जिल्लाका सबै स्थानीय तहले सीमानामा हेल्प तथा हेल्थ डेक्स स्थापना गरी प्रवेशमा कडाई गरेका छन् ।

अन्य

भिडियो