INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख २५ गते)

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ मा वैशाख २५ गते ५ सय ७८ जना कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मोरङमा २ सय ११ जना, झापामा १ सय ६८ जना, सुनसरीमा १ सय १९ जना, सोलुखुम्बुमा २४ जना, इलाममा २२ जना, धनकुटामा नौ जना, उदयपुरमा तीन जना, सङ्खुवासभा र ताप्लेजुङमा एक–एक र प्रदेश १ बाहिरका २० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या वैशाख २५ गतेसम्म ३७ हजार २ सय २३ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३० हजार २ सय २६ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ४ सय ५० पुगेको छ । सुनसरीको इनरूवा नगरपालिकाकी उपप्रमुख जमुनादेवी गौतम र बराहक्षेत्र नगरपालिकाका मेयर निलम खड्का र प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोखरेल र  मोरङको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली  र मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्य र उपप्रमुख सरला राईले आफूहरूले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न दिने स्वघोषणा वैशाख २५ गते गर्नु भएको छ ।

सोलुखुम्बु प्रतिनिधि भोजराज कार्कीका अनुसार जिल्लामा वैशाख २५ गते २६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यो जिल्लामा एकै दिन सङ्क्रमित हुनेको हालसम्मकै पहिलो तथ्याङ्क हो । यो सँगै सङ्क्रमितको सङ्ख्या ४७  पुगेको छ । वैशाख २५ गते सङ्क्रमण पुष्टि हुनेमा जिल्ला अस्पतालका तीन जना स्वास्थ्यकर्मी, सोलुदूधकुण्ड नगरपालिकाका कर्मचारी रहेको स्वास्थ्य कार्यालय सोलुखुम्बुका कोरोना फोकल पर्सन रामकुमार विश्वकर्माले बताउनु भयो । जिल्लामा  ३० ओटा अक्सिजन सिलिण्डर  तयारी अवस्थामा राखिएको छ । सोलुदूधकुण्ड नगरपालिकाको जिल्ला अस्पताल फाप्लुमा १० ओटा, खुम्बुु पासाङल्हामु गाउँपालिकाको पासाङल्हामु अस्पतालमा १२ ओटा, महाकुलुङ गाउँपालिकामा चार ओटा, नेचासल्यान गाउँपालिकामा दुई ओटा र सोताङ गाउँपालिकामा दुई ओटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेको स्वास्थ्य कार्यालयले जनाएको छ । थुलुङ दुधकोशी, माप्य दुधकोशी र लिखुपिके गाउँपालिकामा भने अक्सिजन सिलिण्डर नभएको सम्बन्धित गाउँपालिकाले जनाएका छन् । जटिल प्रकृतिका बिरामीको उपचारका  लागी  जिल्लामा आइसीयू र भेण्टिलेटर  नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा चार ओटा एम्बुलेन्स तयारी अबस्थामा  राखिएको छ । सोलुदूधकुण्ड नगरपालिकाले बेनी स्वास्थ्य चौकी, केरुङ स्वास्थ्य चौकी र नगरपालिकाको एम्बुलेन्स तयारी अवस्थामा राखेको नगरपालिकाका स्वास्थ्य संयोजक चमर  मगरले जानकारी दिनुभयो । थुलुङ दूधकोशी गाउँपालिकाले पनि नेले बिकास समितिको एम्बुलेन्स तयारी अवस्थामा राखेको गाउँपालिका स्वास्थ्य सहसंयोजक बिशाल बाबु  राईले जानकारी दिनुभयो । माप्य दूधकोशी गाउँपालिकाले  काँकु समावेसी समाजको एम्बुलेन्स भाडामा लिने तयारी गरेको छ । कोरोना सङ्क्रमण बढ्दै गएकाले गाउँपालिकाले भाडामा लिने तयारी गरेको गाउँपालिका प्रवक्ता तेजबहादुर मगरले जानकारी दिनुभयो ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार मोलुङ गाउँपालिकाले कोभिड–१९ का लक्षण देखिएका बिरामीलाई अस्पताल लैजान निशुल्क यातायात सेवा दिने व्यवस्था गरेको छ । बिरामी बोक्नका गाउँपालिकाले अस्पतालसम्म निशुल्क यातयात सेवा सञ्चालन गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष मणिराज राईले बताउनु भयो । कोरोनाको लक्षण देखिएका बिरामीलाई कतिपय सवारीले बोक्न नमान्ने र आवश्यक परेको बेला सवारी नपाउने, पाएपनि महङ्गो भाडा तिनुपर्ने नागरिकको बाध्यता हटाउन स्थानीय सरकारले पहल गरेको अध्यक्ष राईको भनाइ छ । मोलुङ गाउँपालिकाको आफ्नै एम्बुलेन्स छैन । मोलुङ गाउँपालिकाले भारतलगायत अन्य मुलुक र राजधानी काठमाडौंसहितका सहरबाट गाउँपालिका भित्र आएकालाई अनिवार्य क्वारेन्टिनमा राख्ने भएको छ । बढ्दो सङ्क्रमण रोक्न नवप्रवेशीलाई क्वारेन्टिनमा राख्ने र कोरानासँग मिल्दोजुल्दो लक्षण देखिएकाहरूलाई पीसीआर परीक्षण गरिने गाउँपालिका अध्यक्ष राईले बताउनु भएको छ । वैशाख २५ गते जिल्लामा थप दुई जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा सङ्क्रमित हुनेको सङ्ख्या १२ पुगेको छ । वैशाख २५ गते सिद्धिचरण नगरपालिका–२ का ५५ वर्षीय पुरूष र सिद्धिचरण नगरपालिका–११ की ४१ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा यो भन्दा अगाडि कोरोनाको लक्षण देखिएकाहरूलाई एन्टिजेन परीक्षण विधिबाट जाँच्ने गरिएको थियो भने वैशाख २५ गतेदेखि पीसीआर परीक्षण सुरू गरिएको छ ।

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्लामा वैशाख २५ गते दुई जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कूल सङ्क्रमितको सङ्ख्या १ सय ८ जना पुगेको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. भरत खत्रीले बताउनु भयो । सानिमा हाइड्रोपावर कम्पनीले जिल्ला अस्पताललाई वैशाख २५ गते पाँच थान सिलिन्डर अक्सिजन प्रदान गरेको छ । फुङलिङ नगरपालिकाले वैशाख २५ गते सूचना प्रकाशित गरेर वैशाख २६ गते स्वाब सङ्कलच गर्ने जनाएको छ । फुङलिङ नगरपालिका–४ स्थित बालमन्दिर आधारभूत विद्यालयमा बिहान ८ बजे स्वाब सङ्कलन गरिने भएको छ । फुङलिङ नगरपालिकाले वैशाख २५ गते सूचना प्रकाशित गरेर कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि वडागत रूपमा सम्पर्क स्वास्थ्यकर्मी तोकेको छ । स्वास्थ्यकर्मीले आइसोलेसनमा रहेका सङ्क्रमित र लक्षण देखा परेकालाई परामर्श तथा वडाध्यक्षसँग समन्वय गरेर नगरपालिकामा रिर्पोटिङ गर्न निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत बद्रीकुमार कार्कीले बताउनु भएको छ ।

सङखुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्ला प्रशासन कार्यालयले  वैशाख २६ गते पहिलो चरणको निषेध आदेश जारी गर्ने भएको छ । सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि प्रशासनले निषेध आदेश जारी गर्ने भएको हो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको वैशाख २३ गतेको बैठकले वैशाख २६ गतेदेखि जेठ २ गते राति १२ बजे सम्म जिल्लाभर निषेध आदेश जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनु भयो । जिल्लामा सङ्क्रमण दर बढिरहेकाले जोखिम नियन्त्रणका लागि निषेध आदेश जारी गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । सङ्क्रमण रोग ऐन, २०२० को दफा २, र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) अनुसार जिल्लाभर लागू हुने गरी निषेध आदेश जारी गर्ने निर्णय गरेको छ । निषेध आदेशलाई प्रभावकारी बनाउन सुरक्षा व्यवस्था कडा पारिने भएको छ । निषेधको समयमा बिवाहमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै १५ जना भन्दा बढी भेला हुन नपाउने प्रशासनले जनाएको छ । वैशाख २५ गतेसम्म जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ९० जना पुगेको छ । जसमध्ये १४ जना निको भएको स्वास्थ्य कार्यालय सङखुवासभाले जनाएको छ । कोभिड–१९ सङ्क्रमित बढेपछि मकालु गाउँपालिकाले वैशाख २५ गतेदेखि वैशाख ३१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेलले जानकारी दिनु भयो । खाद्यान्न, तरकारी, फलफुल पसलहरू बिहान ७ बजे देखि बिहान ९ बजे सम्म र बेलुकी ४ बजे देखि साँझ ६ बजे सम्म खुल्ला गर्न दिने निर्णय भएको गाउँपालिका अध्यक्ष पोख्रेलले बताउनु भयो । नगरक्षेत्रमा सङ्क्रमित बढेपछि बैशाख २५ देखि ३१ गते सम्म नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको मादी नगरपालिकाका नगर प्रमुख विदर लिङ्थेपले बताउनु भएको छ ।

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको वैशाख २५ गतेको बैठकले साप्तहिक रूपमा लाग्दै आएको हाट बन्द गर्ने तथा बजार क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक बाहिर निस्कन नदिने निर्णय गरेको छ । अन्य जिल्लाबाट बजार प्रवेश गर्ने सवारीलाई पनि कडाइ गरिएको छ । सवारी साधनमा बस्दा अनिवार्य रूपमा सामाजिक दूरीको पालना गर्नुपर्ने भएको छ । जिल्ला प्रवेश गर्ने प्रत्येक नाकामा हेल्थडेक्सको स्थापना गर्ने  निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले बताउनु भएको छ ।

अन्य

भिडियो