सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय, डोटीका अनुसार पछिल्लो २४ घण्टामा यस प्रदेशमा १ हजार ८ सय ३२ जनाको पीसीआर विधिबाट कोभिड परीक्षण गरिएकोमा ७ सय ८५ जनामा सङ्क्रमण पुष्टि भएको छ भने १७ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म सुदूरपश्चिम प्रदेशमा १ सय ६२ जनाको कोभिड सङ्क्रमणका कारण मृत्यु भएकोमा सबै भन्दा बढी कैलाली जिल्लामा ५३ जना र सबै भन्दा कम अछाम, बाजुरा, दार्चुला र डोटीमा दुई / दुई जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलजे जनाएको छ । हालसम्म पीसीआर विधिबाट १ लाख ४७ हजार ७ सय २३ जनाको कोभिड परीक्षण गरिएकोमा १८ हजार ५ जनाको पोजेटिभ रिपोर्ट आएको, १ हजार ९ सय ९० जनाको रिपोर्ट आउन बाँकी रहेको , १४ हजार ५ सय ११ जना सङ्क्रमित निको भएका र १ हजार ५ सय ४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य निर्देशनालय,डोटीले जनाएको छ । स्वास्थ्य निर्देशनालय, डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा ६४ ओटा आइसोलेसन स्थानमा १ हजार ३ सय १४ आइसालेसन वेड रहेको र हाल ६५ जना महिला सहित १ सय ६२ जना आइसोलेसनमा बस्दै आएका छन् । वैशाख २३ गते मात्रै सुदूरपश्चिम प्रदेशका गड्डा चौकी नाका, गौरीफन्टा नाका र झुलाघाट नाकाबाट १ हजार २२ जना नेपाल भित्रिएका छन् ।
इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार जिल्लामा कोभिड सङ्क्रमितहरु दिनानुदिन बढदै गएपछि जिल्ला अस्पताल, बैतडीमा रहेका नर्मल वार्ड समेत खालि गरेर कोभिड–१९ सङ्क्रमित बिरामीहरुलाई राखेर उपचार भइरहेको छ । कोभिड–१९ बिरमीहरुको उपचारका लागि आठ वेड मात्रै क्षमता रहेको जिल्ला अस्पताल, बैतडीमा १५ जना सङ्क्रमित पुगेपछि नर्मल वार्ड समेत खालि गरेर बिरामी कोभिडका बिरामीहरुलाई राख्ने व्यवस्था मिलाइएको हो । कोभिड बिरामीहरुको सङ्ख्या बढदै गएपछि हाललाई अन्य प्रकारका बिरामीहरुलाई अस्पताल भर्ना गरेर उपचार गर्न समस्या भएको जिल्ला अस्पताल, बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशीले बताउनु भयो । उहाँले भन्नु भयो– ‘इमेर्जेन्सी र प्रसूति सेवा बाहेकका सबै वार्डहरु खालि गरेर कोभिडका बिरामीहरुलाई राखेका छौँ । अब अन्य बिरामी आयो भने सिधै रेफर गर्नु बाहेक विकल्प छैन् । आठ वेडको आइसोलेसन निर्माण गरिएको जिल्ला अस्पतालमा हाल १५ जना कोभिड सङ्क्रमितको उपचार भइरहेको र अझै गम्भिर किसिमका लक्षण देखिएका बिरामीहरु आउने क्रम बढिरहेकाले व्यवस्थान गर्न निकै कठीन भएको डाक्टर जोशीले बताउनु भयो । जिल्ला अस्पतालमा अक्सिजनको समेत अभाव भएको छ । अहिले ११ जनालाई नियमित अक्सिजन दिइरहेको र अबको दुई / तीन दिनमा जिल्ला अस्पतालमा मौजाद रहेको अक्सिजन समेत सकिने अवस्थ रहेको सङ्क्रमितहरुको उपचारमा थप समस्या हुने उहाँले बताउनु भयो । प्रदेश सरकारले जिल्ला अस्पताल, बैतडीका लागि अक्सिजन प्लान्ट राख्न अनुमति दिएको भएपनि अझै व्यवस्थापन गर्न दुई / तीन महिना लाग्न सक्ने डाक्टर जोशीको भनाई छ ।