ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्ला प्रशासन कार्यालयले वैशाख २४ गते सूचना प्रकाशित गरेर वित्तीय संस्थाहरू पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ । बैङ्कहरूले एक जना मात्र कर्मचारी राखेर अतिआवश्यक सेवाग्राहीको हकमा मात्र सेवा प्रवाह गर्न निर्देशन दिएको छ । जिल्लामा कोभिड–१९ सङ्क्रमणका कारण तीन जनाको मृत्यु र १ सय ७ जना सक्रिय सङ्क्रमित भएसँगै बन्दको निर्देशन जारी गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङवुहाङको समन्वयमा पठाइएको स्वास्थ्य सामाग्री वैशाख २४ गते जिल्ला अस्पताललाई प्रदान गरिएको छ । जिल्ला अस्पतालका प्रमुख डा. सोनिङ लामाका अनुसार वेड १० सेट, पीपीइ २ सय थान,स्वाब सङ्कलन गर्ने कीट बक्स ३ सय थान र २० लिटर सेनिटाइजर उपलब्ध गराइएको छ । वैशाख २४ गते एन्टिजेन परीक्षणमा थप एक जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । सिदिङमा र सिरीजङ्गा गाउँपालिकाले वैशाख २४ गतेदेखि वैशाख मसान्तसम्म अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेका छन् । सिरीजङ्गा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङ र सिदिङ्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङदेनद्धारा हस्ताक्षरित सूचनामा सेवा बन्द गरेको उल्लेख छ । दुई ओटै स्थानीय तहले सवारी साधन आवतजावतमा रोक लगाएका छन् ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसारमा जिल्लामा वैशाख २४ गते कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । वैशाख २४ गते थप एक जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । वैशाख २४ गते तीन जनाको एन्टिजेन परीक्षण गरिएकोमा मोलुङ्ग गाउँपालिका–५ का ५२ वर्षीय पुरूषमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताउनु भएको छ । सङ्क्रमितको आईसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार कोभिड–१९ का सङ्क्रमित बढेपछि सभापोखरी गाउँपालिका र चैनपुर नगरपालिकाले वैशाख ३१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गरेका छन् । जोखिमको अवस्थालाई मध्यनजर गरी अत्यावश्यक बाहेकका सेवा प्रवाह रोक्ने निर्णय भएको सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले बताउनु भयो । कोभिड–१९ को जोखिम दिन प्रतिदिन बढेपछि नगरपालिको प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवामा रोक लगाउने निर्णय गरिएको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीले बताउनु भएको छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढेपछि भोजपुर नगरपालिकाले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि वैशाख २४ गतेदेखि कार्यालय बन्द गर्ने निर्णय गरेको छ । वैशाख २४ गतेको कार्यपालिकाको बैठकले अर्को सूचना जारी नहुञ्जेलसम्म नगरपालिकामा अत्याश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको उपप्रमुख ममिता राईले बताउनु भएको छ । रामप्रसादराई गाउँपालिकाका एक अधिकृतलाई कोभिडको सङ्क्रमण पुष्टि भएपछि उहाँको सम्पर्कमा रहेका २५ जनाको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले बताउनु भएको छ ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेपछि छथरजोरपाटी गाउँपालिकाले वैशाख २४ गते मध्यराति देखि लागू हुने गरी वैशाख ३१ गते मध्यराति सम्मलाई निषेध आदेश जारी गरेको छ । निषेधको समयमा अत्यावश्यक बाहेक अन्य सबै सेवामा रोक लगाउने निर्णय भएको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले बताउनु भएको छ । दैनिक उपभोग्य वस्तुका लागि बिहान ६ बजेदेखि ९ र साँझ ४ बजेदेखि साँझ ६ बजेसम्म बजार पसल खुल्ला राख्ने निर्णय गरिएको अध्यक्ष लिम्बूले बताउनु भएको छ । जिल्लामा वैशाख २४ गते थप १३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजन पौडेलले बताउनु भएको छ । वैशाख २४ गतेसम्म कुल सङ्क्रमितको सङ्ख्या ६५ पुगेको छ । जसमध्ये १३ जना निको भएर घर फर्किएको सूचना अधिकारी पौडलेले जानकारी दिनु भएको छ ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनसार इटहरी अस्पतालको सेवा घरबाटै लिन सकिने भएको छ । इटहरी उपमहानगरपालिकाद्वारा सञ्चालित इटहरी अस्पतालले वैशाख २४ गतेदेखि टेलिमेडिसिन सेवा सुरू गरेको छ । इटहरी उपमहानगरपालिका क्षेत्रका नागरिकका लागि स्वास्थ्य उपचार, सल्लाह तथा परामर्श दिने उद्देश्यले कोभिड–१९ रोगको महामारी अवधि भरी विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टिमबाट उपचार परामर्श सेवा सुरू गरिएको इटहरी अस्पतालका इमरजेन्सी इञ्चार्ज रामकुमार धमलाले बताउनु भएको छ । इटहरी अस्पतालको टेलिमेडिसिन सेवा लिन चाहनेले प्रत्येक दिन बिहान १० देखि २ बजे सम्ममा मोबाइल ९७४१७७७७०१ वा ०२५५८०१५० मा फोन गरेर स्वास्थ्य समस्या टिपाउनुपर्ने व्यवस्था मिलाइएको छ । चिकित्सक वा स्वास्थ्यकर्मीहरूले बिरामीको स्वास्थ्य समस्या अनुसार सल्लाह र परामर्श दिने अस्पतालले जानकारी दिएको छ । इटहरी उपमानगरपालिकाकी उपप्रमुख तथा अनुगमन समिति संयोजक लक्ष्मी गौतमले बजारमा अक्सिजन अभाव नहुने बताउनु भएको छ । इटहरीमा रहेका दुर्गा अक्सिजन उद्योग र पाथीभरा अक्सिजन उद्योगको स्थलगत अनुगमनपछि कोभिड–१९ अनुगमन समिति संयोजक गौतमले अक्सिजन अभाव नहुने बताउनु भएको हो । इनरूवा नगरपालिकाका प्रमुख राजन मेहताले आफूले प्रयोग गर्दै आएको सवारीसाधनलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने बताउनु भएको छ । वैशाख २३ गते बराहक्षेत्र नगरपालिकाले कोभिड–१९ सङ्क्रमितको उद्दार र बिरामीलाई आईसोलेसन वा अस्पतालसम्म ओसार्नका लागि नगर प्रमुख निलम खनालले प्रयोग गरेको गाडी एम्बुलेन्सका रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो । बराहक्षेत्र नगरपालिका ५० बेडको आइसोलेसन तयार गरेको छ । सप्तकोशी बहुमुखी क्याम्पस बराहक्षेत्र नगरपालिका–७ मा आइसोलेसन तयार गरेको नगर प्रशासनका कर्मचारी दुर्गा बस्नेतले जानकारी दिनुभयो ।