धरान उपमहानगरपालिकास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा आन्दोलित कर्मचारीहरूले वैशाख २४ गते चार जना पदाधिकारीहरूको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
आन्दोलित कर्मचारीले उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रर, अस्पताल निर्देशक र नर्सिङ मेट्रोको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
कोभिड–१९ को जोखिम भत्ता पारदर्शी नभएको र वितरणमा विभेद गरिएको, समानरूपमा वितरण हुनुपर्ने, गत आर्थिक वर्षमा वृद्धि भएको २० प्रतिशत तलब यथाशीघ्र एकमुष्ठ रूपमा उपलब्ध गराउनुपर्ने, कर्मचारीहरूको आन्तरिक फायल बढुवा विज्ञापन खोल्नुपर्ने, ज्यालादारी कर्मचारीहरूलाई करार गर्नुपर्ने र कर्मचारी कल्याण समाजको निर्वाचन तत्काल गर्नुपर्ने माग राखेर कर्मचारी तदर्थ समिति आन्दोलनमा उत्रिएको समितिका अध्यक्ष राजनप्रसाद कोइरालाले बताउनु भयो ।
समितिले वैशाख १४ गते पाँच बुँदे माग राखेर प्रतिष्ठानका पदाधिकारीहरूलाई ज्ञापनपत्र बुझाए पनि बेवास्ता गरेकोले बाध्य भएर आन्दोलनमा उत्रनु परेको तदर्थ समितिका संयोजक कोइरालाले बताउनु भयो ।
आन्दोलित कर्मचारीले तालाबन्दी गरिएपछि उपकुलपतिले वार्तामा बोलाएपनि सहमति हुन नसकेको संयोजक कोइरालाले बताउनु भएको छ ।
कर्मचारीहरूको माग सम्बोधन गर्ने विषयमा आवश्यक गृहकार्य गरी निर्णय गरिने प्रतिष्ठान प्रशासनले जनाएको छ ।