इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरुले वैशाख २२ गते पठाउनु भएको सूचनाका आधारमा कोभिड–१९ को जोखिमलाई नियन्त्रण तथा रोकथामका लागि प्रदेश अन्तर्गत भइरहेका कार्यहरु र समस्याहरुको जिल्लागत अवस्था विश्लेषण यस प्रकार रहेको छ ।
इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार सुदूरपश्चिम प्रदेशकै रेफर अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा कोभिड सङ्क्रमितले भरिभराउ भएपछि अस्पतालको प्राङगणमै राखेर उपचार गर्नु पर्ने बाध्यता भएको सेती प्रदेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताउनु भयो । सेती प्रादेशिक अस्पतालको कोभिद अस्पतालमा हाल ५० जना सङ्क्रमितहरुको उपचार भइरहेको श्रेष्ठले बताउनु भयो । कोभिड परीक्षणका लागि स्वाब दिएका तर रिपोर्ट प्राप्त नगरेका शङ्कास्पद र गम्भिर प्रकृतिका बिरामीको सङ्ख्या झन बढी भएपछि उहाँहरुको उपचार आकस्मिक कक्षमा भइरहेको र अस्पतालको शैयाहरु भरिएपछि आधा दर्जन बढी बिरामीलाई ग्यालरीमा राखेर उपचार भइरहेको श्रष्ठको भनाई छ ।
इन्सेक कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार महाकाली अस्पताललाई वैशाख २२ गते हुम्यानिटी फाउण्डेसन नेपालले अक्सिजनका सिलिण्डर हस्तान्तरण गरेको छ । अक्सिजनको अभावमा कोभिड सङ्क्रमितहरुको ज्यान गुमाउने क्रम तिव्र भएपछि हुम्यानिटी फाउण्डेसनले पहिलो चरणमा सरकारी अस्पताललाई निःशुल्क अक्सिजन उपलब्ध गराउने अभियान अन्तर्गत महाकाली अस्पताललाई ४१ थान सिलिण्डर उपलब्ध गराएको हो । अस्पतालमा अक्सिजनको अभाव भएको समयमा संस्थाले उपलब्ध गराएको अक्सिजनले बिरामीहरुको उपचारमा सहयोग पुग्ने माहाकाली अस्पतालका निर्देशक डाक्टर हरीकुमार श्रेष्ठले बताउनु भयो । हुम्यानिटी फाउण्डेसनले वैशाख २० गते सेती प्रादेशिक अस्पताल, धनगढीलाई ९८ थान र डडेल्धुरालाई १० थान अक्सिजनका सिलिण्डर उपलब्ध गराएको थियो । यसैगरी पुनर्वास नगरकार्यपालिकाको वैशाख २२ गते बसेको सर्वदलिय बैठकले पुनर्वास नगरपालीकामा लकडाउनको पूर्ण पालना नभएको गुनासो जनस्तरबाट आएको भन्दै लकडाउनको पूर्ण पालना गराउनका लागि नगर तथा वडास्तरीय नागरिक निगरानी समुह गठन गर्ने निर्णय गरेको छ । ग्रामीण क्षेत्रका पसलहरु खुल्ला रहने गरेका कारण सङ्क्रमण बढन सक्ने प्रती सजग रहन स्थानीय प्रशासनसँग मानव अधिकार समुहले वैशाख २१ गते आग्रह समेत गरेको थियो ।
इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार कोभिड–१९ को दोस्रो चरण सुरु हुँदासम्म जिल्लामा पीसीआर मेसिन नहुँदा जिल्लाबासीले सास्ती भोग्नु परेको छ । जिल्लामा कोभिड परीक्षण गर्ने माध्यम भनेकै एन्टिजेन मात्रै हो । जिल्लामा पीसीआर मेसिन नहुँदा कोभिड चेकजाँचका लागि एन्टिजेन परीक्षण प्रविधिलाई नै भरपर्दो विधि मानेर शङ्कास्पद बिरामीहरुको चेकजाँच तथा सोही अनुसार उपचार भइरहेको छ । जिल्लामा एन्टिजेन परीक्षण पनि सबै ठाउँमा प्रयाप्त मात्रामा हुन सकेको छैन् । जिल्लाभरी कोभिडसँग मिल्दो लक्षण भएका बिरामी जताततै भएपनि स्वास्थ्य कार्यालय, दार्चुलाबाट निश्चित मात्रामा पठाइएको एन्टिजेन किट्स अपुग भएकोले सबैको परीक्षण हुन सकेको छैन् । कोभिड महामारीको दोस्रो लहर डरलाग्दो रूपमा फैलिएका बेला भारतबाट यहाँका सयौं स्थानीय रोजगारी छोडेर गाउँ फर्किएका छन् । भारतबाट कति जना गाउँ फर्किए भन्ने यकिन तथ्याङ्क कुनै स्थानीय तहसँग छैन । भारतबाट फर्किएकाहरुको परीक्षण पनि हुन सकेको छैन् । स्वास्थ्य कार्यालय, दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टका अनुसार महाकाली नगरपालिकामा ७०, शैल्यशिखरमा १ सय, मालिकार्जुन गाउँपालिकामा ९०, मार्मा गाउँपालिकामा ३३, अपिहिमाल गाउँपालिकामा ८०, लेकम गाउँपालिकामा ३०, नौगाड गाउँपालिकामा ४०, दुहुँ गाउँपालिकामा २५ र व्यास गाउँपालिकामा ५० थान एन्टिजेन किट पठाइएको छ । जिल्लामा पीसीआर मेसिन नभएपछि एन्टिजेन प्रविधिलाई नै भरपर्दो मानिएको भट्ट बताउनु हुन्छ । हाल जिल्ला अस्पताल, दार्चुलामा १३ शैयाको आइसोलेसन निर्माण गरिएको छ । तर, अहिले कोभिड सङ्क्रमितका बिरामी बढदै गएपछि त्रिपालमा उपचार गराउनु पर्ने अवस्था आएको जिल्ला अस्पताल, दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताउनु भयो ।
इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार कोभिड सङ्कमितहरु दिनानुदिन बढदै गएपछि जिल्ला सदरमुकामस्थित जगन्नाथ बहुमुखि क्याम्पसमा ५० वेडको आइसोलेसन निर्माण गरिएको छ । भारतबाट फर्केका नेपाली नागरिकहरुलाई लक्षित गरेर सो आइसोलेसन निर्माण गरिएको र आइसोलेसनमा दशरथचन्द नगरपालिका र अन्य पालिकाका सक्रिय सङ्क्रमितहरुले पनि अनिर्वाय बस्नु पर्ने स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेश भट्टले बताउनु भयो । आइसोलेसन निर्माणपछि अब सङ्क्रमित देखिएका सबैले अनिवार्य आइसोलेसनमा बस्नु पर्ने भट्टको भनाई छ । यसअघि सङ्क्रमित व्यक्तिहरु घरमै होम आइसोलेसनमा बस्दै आएका थिए । पछिल्लो समय जिल्लामा सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढदै जान थालेपछि माहामारी नियन्त्रणका लागि क्वारेन्टाइनमा अनिवार्य बस्ने व्यवस्था मिलाउन लागेको भट्टले बताउनु भयो । वैशाख २२ गतेसम्मको तथ्याङ्क अनुसार जिल्लामा २ सय ४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
इन्सेक डोटी प्रतिनिधि बाशुदेव जोशीका अनुसार कोभिड– १९ जिल्ला सङ्कट व्यवस्थापन समितिको निर्णय अनुसार वैशाख २१ गते राती १२ बजेदेखि वैशाख ३१ गते राती १२ बजेसम्मको लागि निषेध आदेश जारी गरेको छ निषेध आदेश जरी भएपाछि खाद्यका सवारी साधन, एम्बुलेन्स, दुग्धजन्य र औषधि बोकेका साधनहरु दुरसञ्चार तथा इन्टर नेटका सवारी साधन, बित्तिय तथा आइसुलेसनका सवारी साधान पहिचान खुल्ने कागजगका आधारमा मात्रै सञ्चालन गर्न पाइने सहायक जिल्ला अधिकारी किरण जोशीले बताउनु भयो । औषधिका पसल मात्रै खुला रहने र खाद्यन्नका पसल बिहान ७ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुला रहने बताउनु सहायक जिल्ला अधिकारी जोशीले बताउनु भयो ।