मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ मा वैशाख २१ गते ६ सय ११ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मोरङमा २ सय ६६ जना, झापामा १ सय ६६ जना, सुनसरीमा १ सय २७ जना, उदयपुरमा ११ जना, इलाममा चार जना, ताप्लेजुङ, खोटाङ, सङ्खुवासभा र धनकुटामा दुई–दुई र प्रदेश १ बाहिरका २९ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या वैशाख २१ गतेसम्म ३४ हजार ५ सय ५२ पुगेको छ ।
ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढेपछि जिल्ला अदालतले वैशाख २१ गतेदेखि २८ गतेसम्म प्रवाह गर्ने अत्यावश्यक सेवा सार्वजनिक गरेको छ । जरूरी पक्राउ पूर्जीको अनुमति, म्याद थप,सिडीआर अनुमति, अभियोग पत्र दर्ता बयान र थुनछेक आदेशको सेवा प्रवाह गर्ने जनाएको छ । बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाई, मिलापत्र, मुद्दा फिर्ता सम्बन्धी काम कारबाही, विशेष प्रकृतिका निवेदन दर्ता र सुनुवाइ र काम कारबाही तथा सेवा प्रवाह स्थगन भएका अवधिका मुद्दा तथा निवेदनमा रहेको हदम्याद र तारिख नगुज्रने सेवा रहेको स्रेस्तेदार शम्भुप्रसाद रेग्मीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार कोभिड–१९ को महामारी दैनिक बढ्दै गएपछि इलाम बजार क्षेत्रमा सर्वसाधारणलाई घरबाहिर निस्कन कडाइ गरिएको छ । कोभिड – १९ सङ्कट व्यवस्थापन केन्द्रको वैशाख २१ गते बसेको बैठकले इलाम बजार क्षेत्रको जिरो किलोमिटर देखि धोबीधारा क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक बाहिर निस्कन नदिने निर्णय गरेको छ । यस्तै जिरो किलोमिटरबाट बजार क्षेत्रमा जाने सवारीलाई पनि कडाइ गरिएको छ । अत्यावश्यक काम बाहेकका सवारीलाई बजार पस्न नदिने निर्णय भएको छ । मेची राजमार्गमा पर्ने विल्याँटे बजारमा लामो दूरीका सवारी रोक्न नदिने पनि निर्णय भएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनु भयो । इलामस्थित पूर्वेली जीप तथा ट्याक्सी व्यवसायी सङ्घले वैशाख २२ गतेदेखि जिल्ला भरिका आफ्ना सबै काउन्टर एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । इलाम उद्योग वाणिज्य सङ्घले वैशाख २१ गते विज्ञप्ती जारी गर्दै बिहान सात बजेदेखि बिहान १० बजे सम्ममात्र पसल व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ । जिल्ला सहकारी सङ्घले सहकारीहरूले दैनिक गर्ने बचत सङ्कलन कार्य बन्द गर्ने निर्णय गरेको छ । वैशाख २१ गते इलाम नगरपालिका–७ का ७४ वर्षीय एक पुरूष र इलाम नगरपालिका–५ की २९ वर्षीया एक महिलाको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको छ । वैशाख २१ गते इलाम नगरपालिकामा १३ र अन्य पालिकाका चार गरी थप १७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै इलाममा ७१ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट मृत्यु हुनेको सङख्या चार पुगेको छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार कोभिड–१९ को सङ्क्रमण बढेपछि सिद्धिचरण नगरपालिकाले वैशाख २२ गतेदेखि वैशाख मसान्तसम्म सील घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्दना राईसहित सरोकारवालाको वैशाख २२ गतेको बैठकले सिद्धिचरण नगरपालिकामा कोभिड–१९ सङ् क्रमण बढ्दै गएपछि सील गर्ने घोषणा गरेको नगर प्रमुख मोहनकुमार श्रेष्ठले बताउनु भयो । औषधि पसल र स्वास्थ्य क्लिनिक बाहेक अन्य सबै क्षेत्र बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाउने गरी निर्णय भएको प्रमुख श्रेष्ठले बताउनु भयो । नगरपालिकाको निर्णयसँगै सदरमुकामस्थित बजार तथा पसल बन्द भएका छन् । जिल्लामा वैशाख २१ गते एक जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मोलुङ्ग गाउँपालिकाकी ३१ वर्षीया महिलामा सङ्क्रमण पुष्टि जिल्ला स्वास्थ प्रमुख सुमन तिवारीले बताउनु भएको छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार कोभिड–१९ को सङ्क्रमित बढेको भन्दै कोभिड–१९ को जोखिम तथा न्यूनीकरणका लागि स्थानीयस्तरमा लाग्ने बुधवारे,शुक्रबारे र शनिबारे कृषि हाट बजार अर्को सूचना जारी नभए सम्म बन्द गर्ने निर्णय भएको छ । जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या बढेपछि भीडभाड हुने क्षेत्र पहिचान गरी बन्द गर्ने निर्णय गरेको खाँदबारी नगरपालिका नगर प्रमुख मुरारीप्रसाद खतिवडाले बताउनु भयो । खाँदबारी बजार क्षेत्रमा १० जना बढीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
तेहृथुम प्रतिनिधि भगिश्वर लिम्बूका अनुसार जिल्लामा कोभिड–१९ सङ्क्रमित बढेको भन्दै गुरास नगरपालिकाले वैशाख २० गतेदेखि स्वास्थ्य शाखा बाहेक अन्य सबै सेवा बन्द गरेको गरेको छ । म्याङलुङ नगरपालिको वैशाख २० गतेको बैठकले सरस्वती माध्यमिक विद्यालय तम्फु्लामा ३० बेडको आईसोलेसन बनाउने निर्णय गरेको मेयर सञ्जयकुमार तुम्बाहाङफले बताउनु भयो । सांसद विकास कोषबाट विनियोजित ५० लाख रुपियाँबाट जिल्ला अस्पतालमा आईसोलेसन वार्ड निर्माण थालिएको अस्पताल विकास समितिका अध्यक्ष शिवप्रसाद ढुङ्गानाले बताउनु भयो । जिल्ला ६ ओटा स्थानीय तहले कोभिड–१९ बाट बच्नका लागि मुख्य बजारहरूमा लाग्ने हटिया र सबै विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । जिल्लामा वैशाख २१ गतेसम्म सात जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
खोटाङ प्रतिनिधि रामधन राईका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका दुई जना पुरूषमा कोभिड–१९ सङ्क्रमणको पुष्टि वैशाख २१ गते भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरपालिका–१ दिक्तेलका २१ वर्षीय पाण्डे थरका एक जना र वडा–२ सोल्माका ३५ वर्षीय गुरुङ थरका पुरूषमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताउनु भयो । सङ्क्रमण पुष्टि भएका दुवै जनालाई होम आइसोलेसनमा राखिएको छ । यससँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या चार पुगेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार वैशाख २१ गतेदेखि जिल्ला अस्पतालमा एन्टिजेन परीक्षण सुरू गरिएको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका दुई पुरूषलाई कोभिड–१९ को सङ्क्रमण पुष्टी भएको छ । ५३ वर्षका खत्री थरका र २० वर्षका रोका थरका पुरुषलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि बाँझे च्यानडाडाँडालाई सील गरिएको छ । वडाको क्षेत्रभन्दा बाहिर जान रोक वैशाख २१ गतेदेखि रोक लगाइएको छ । यस्तै, वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार रामप्रसादराई गाउँपालिकाका एक जना अधिकृतलाई वैशाख २० गते कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि वैशाख ३१ गतेसम्मका लागि कार्यालयबाट प्रवाह गरिने सम्पूर्ण सेवा बन्द गरिएको छ । दोस्रो लहरको कोभिड–१९ को महामारी जिल्लामा फैलिएसँगै वैशाख २१ गते बसेको कार्यपालिकाको बैठकले गाउँपालिका बन्द गरिने निणर्य गरेको गाउँपालिका अध्यक्ष विजय राईले बताउनु भएको छ ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार धनकुटा नगरपालिकामा कार्यरत एक जना कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि धनकुटा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवा वैशाख २० गतेदेखि वैशाख २६ गतेसम्मको लागि बन्द गरिएको नगरपालिकाले जनाएको छ । थप सङ्क्रमणको जोखिमलाई रोक्न कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले नगरपालिकाले प्रवाह गर्दै आएको सेवा वैशाख २६ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बताउनु भयो । धनकुटा हुँदै अन्य स्थानतर्फ जाने यातयातका साधनलाई नरोक्ने तर धनकुटाबाट अत्यावश्यक बाहेकका सवारी साधनलाई प्रस्थान गर्न नदिने निर्णय बैठकले गरेको छ । जिल्ला अस्पताल धनकुटाले कोरोना सङ्क्रमितहरूको उपचार, कोरोना परीक्षण, आइसोलेसनमा बस्नेहरूको खाना व्यवस्थापन लगायतको शीर्षकमा माग गरेको ३० लाख रुपियाँ गृह मन्त्रालयमार्फत केन्द्रीय कोरोना कोष, प्रदेश १ सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग माग गर्ने निर्णय गरेको छ ।
सुनसरी प्रतिनिधि जयकष्ण यादवका अनुसार जिल्लाका १२ ओटै स्थानीय तहमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेर गएपछि प्रशासनले पूर्ण निषेधाज्ञा गरेको छ । जोर विजोर प्रणालीमा सवारी चलाउन पाउने र बजार पसल विहान ११ बजेसम्म खुल्ला गर्न दिने गरी एकसाताका लागि गरिएको निषेधाज्ञालाई वैशाख २१ गते राति १२ बजेपछि पूर्ण निषेधाज्ञामा रुपान्तरण गरिएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासनले वैशाख २१ गते मध्यरातिबाट लागू हुने गरी वैशाख ३१ गते सम्मका लागि पूर्ण निषेधाज्ञा जारी गरेको हो । यो सँगै जोरबिजोर प्रणालीबाट सञ्चालन हुँदै आएको यातायात सेवा पनि पूर्ण रूपमा हुने भएको छ । धरानमा थप एक जनाको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको छ । धरान उपमहानगरपालिका–८ की ७८ वर्षीया वृद्धाको उपचारका क्रममा वैशाख २१ गते मृत्यु भएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताउनु भयो ।
उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार जिल्लामा वैशाख २१ गते एकै दिन २१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक कोभिड प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा त्रियुगा नगरपालिकाका १५ जना र कटारी नगरपालिकाका ६ जना गरी २१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये एक जना जिल्ला प्रशासन कार्यालयका कर्मचारी, तीन जना जिल्ला अस्पतालका कर्मचारी र एक जना उदयपुरगढी गाउँपालिकाका कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिनु भएको छ ।