INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड सङ्क्रमितको उपचारका लागि सरकारले हरसम्भव प्रयास गर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड सङ्क्रमितको उपचारका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताउनुभएको छ ।

वैशाख २० गते देशबासीका नाममा सम्बोधन गर्दै उहाँले सरकारले सबै अस्पताल, मेडिकल कलेजहरूको बेड सरकारले कोभिड सङ्क्रमितका उपचारका लागि प्रयोग गर्ने बताउनुभएको इन्सेककी काठमाडौँ प्रतिनिधि बिमला पौडेलले उल्लेख गर्नुभएको छ । साथै होटल, पार्टी प्यालेस र भवनमा सुविधा सम्पन्न आइसोलेशसन निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले कोभिडको उपचारका लागि सरकारले अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा लिने उद्घोष गर्नुभएको छ । यस्तै, उहाँले कोभिडको उपचार, व्यवस्थापन, एम्बुलेन्स चालक, शव व्यवस्थापमा खटिनेहरूलाई ५० प्रतिशत जोखिम भत्ता दिइने उल्लेख गर्नुभयो ।

उहाँले महामारीको बेला कोही कसैले बेड लुकाउने कार्य गरेको भेटे अस्पताललाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिनुभएको छ । प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारी नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारले चालेका कदमलाई सहयोग गर्न देशबासीलाई आग्रह गर्नुभयो ।

सम्बोधनको पूर्णपाठ

नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार कोभिड सङ्क्रमितको सङ्ख्या बढ्दै आएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले वैशाख २१ गते बिहान ४ बजेदेखि वैशाख २७ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेध आदेश गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले वैशाख १९ गते साँझ एक आदेश जारी गर्दै सो आदेश लागु हुने जनाउनु भएको हो ।

भेला, गोष्ठी, भोजभतेर, धार्मिक कार्यक्रमहरु सञ्चालन गर्न रोक लगाइएको छ । विवाह र ब्रतबन्धमा बढीमा १५ जनाको सहभागिता हुने गरी जिल्ला प्रशासन कार्यालयको अनुमतिमा मात्र गर्न पाइने उल्लेख गरिएको छ ।

नुवाकोटमा वैशाख २० गते २७ जना नयाँ सङ्क्रमित थपिएसँग सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ४ पुगेको छ । कोभिडको दोस्रो लहर सुरु भएपछि नुवाकोटमा एक जनाको ज्यान गएको छ ।

धादिङ प्रतिनिधि सिताराम अधिकारीका अनुसार कोभिड सङ्क्रमणको फैलावट रोक्न धादिङ जिल्लामा जिल्ला प्रशासन कार्यालयले वैशाख २१ गतेदेखि ३१ गतेसम्म निषेध आदेश गरेको छ ।

पहाडी जिल्लाहरुमा कोभिडका सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय नाघेपछिनिशेध आदेश जारी गर्न सकिने नीति अनुरूप जिल्ला प्रशासन कार्यालयले जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको ०७८ वैशाख १९ गतेको निर्णय अनुसार निषेध आदेश जारी गरेको हो ।
वैशाख २१ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेध आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनुभएको छ ।

सबै किसिमका औषधि पसल, फलफूल तरकारी दुधजन्य पसल, खाद्य सामग्री, पेट्रोलियम पदार्थ, सरकारी र निजि अस्पताल, मेडिकल, कृषि, रासायनिकमल बोकेका ढुवानी, एम्बुलेन्स लगायतका साधनहरु तथा सेवाहरु भने सञ्चालन गर्न पाइनेछ ।

धादिङ अस्पतालमा कार्यरत १३ जना स्वास्थ्यकर्मीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आपतकालिन बाहेकका सेवा वैशाख २० गतेबाट बन्द गरिएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै ओपिडी सेवा बन्द गरेको जनाएको छ । आपतकालिन सेवा मात्र सञ्चालन गर्ने गरी अस्पताल सञ्चालन गरिएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम बिकले जानकारी दिनुभयो ।

रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार रामेछापमा वैशाख २० गते राति १२ बजेदेखि २७ गते राति १२ बजेसम्मको लागि निषेध आदेश जारी गरिएको छ ।

सदरमुकाम मन्थली बजारसहित जिल्लाका विभिन्न बजार क्षेत्रमा निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजुले बताउनुभयो ।

वैशाख १९ गते बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले मन्थली नगरपालिका–१ को मन्थली बजार क्षेत्र, वडा नं. २ को करम्बोट बजार, वडा नं.३ ठुलीमदौ, वडा नं. ६ कुनौरी र सेलेघाट, वडा नं. ७ को मुगिटार, वडा नं. ८ को गाइखुरा, वडा नं १३ को देवीटार र १४ को पोखरी बजार क्षेत्रमा सोमबार राति १२ बजेदेखि २७ गते राति १२ बजेसम्म लागु हुनेगरी निषेध आदेश जारी गरेको छ ।

गोकुलगङ्गा गाउँपालिका–१ को चुचुरे, ४ को बेताली र ५ को नामाडीका बजार क्षेत्रमा पनि निषेध आदेश जारी गरिएको छ । निषेध आदेश जारी गरिएको अवधिभर अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन रोक लगाइएको छ । अनुमति प्राप्त सवारी र औषधि पसल बाहेकका अन्य सेवा बन्द गरिएको छ ।

दैनिक उपभोग्य सामान बिक्री गर्ने पसल बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने भएका छन् । रामेछापमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ४२ पुगेको छ ।

अन्य

भिडियो