मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोभिड–१९ को सङ्क्रमणका कारण ५७ वर्षीय नगर प्रहरीको वैशाख १८ गते मृत्यु भएपछि विराटनगर महानगरपालिका एक साताका लागि बन्द गरिँदा सेवा प्रवाह रोकिएको छ । कोभिड–१९ सङ्क्रमणका कारण नगर प्रहरीका हवल्दारको मृत्यु भएपछि फैलिएको त्रास र कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि महानगरपालिका एक साताका लागि बन्द गर्ने निर्णय गरिएको मेयर भीम पराजुलीले बताउनु भएको छ ।
भारतको सीमा नाका जोगवनीबाट रानी नाका हुँदै नेपाल प्रवेश गरेका सर्वसाधारणलाई राख्ने होल्डिङ सेण्टर नहुँदा विराटनगरमा सङ्क्रमणको जोखिम बढेर गएको छ । आन्तरिक मालिला तथा कानुन मन्त्रालयले सीमा क्षेत्रमा होल्डिङ सेण्टर बनाउनु पर्ने भएपनि मन्त्रालयले समयमा नबनाउँदा नेपाल प्रवेश गर्नेहरू सोझै घर जाने गरेका छन् । जसका कारण विराटनगरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेर गएको छ ।
दैनिक जसो कोभिड–१९ सङक्रमितको सङ्ख्या थपिएपछि विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा वैशाख २० गतेदेखि स्वाब सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ । विराटनगर महानगरपालिका–१,७ र १५ मा स्वाब सङ्कलन केन्द्र सञ्चालन गरिएको मेयर भीम पराजुलीले बताउनु भएको छ ।
ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्लामा कोभिड–१९ का सङ्क्रमित बढ्न थालेपछि प्रशासनले वैशाख २० गतेदेखि एकसाता लागि निषेधाज्ञा जारी गरेको छ । साँझ ६ बजेदेखि लागू भएको निषेधाज्ञाका समयमा दैनिक उपभोग्य वस्तुका पसल सञ्चालनमा अवरोध नहुने प्रशासनले जनाएको छ । कोभिड–१९ को चेन ब्रेकका लागि एकसाताको निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनु भयो । कोभिड–१९ सङ्क्रमणका कारण जिल्लामा वैशाख १० गतेयता तीन जनाको मृत्यु भइसकेको छ ।
इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार कोभिड–१९ को जोखिम न्यूनीकरण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय वैशाख २० गते सदरमुकाममा अनुगमन गरेको छ । जिल्ला समन्वय समिति गणेशप्रसाद बराल र प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का सहितको अनुगमन टोलीले इलाम सदरमुकाम र विल्याँटे बजारको अनुगमन गरेको छ । अनुगमनका क्रममा पसलेहरूले आफू जोगिन मास्क र आफूलाई मात्र हुने गरी सेनिटाइजर प्रयोग गरेपनि आफ्ना ग्राहकका लागि भने त्यस्तो नगरेको पाइएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनु भयो । प्रजिअ खड्काले ‘भोलिदेखि आफ्ना ग्राहकका लागि पनि हुनेगरी मास्क र सेनिटाइजर राख्न र सकेसम्म साबुन पानीको व्यवस्था गर्न निर्देशन दिएको बताउनु भएको छ ।
जिल्लामा वैशाख २० गते सम्ममा ५४ जनामा सङ्क्रमण देखिएको छ । वैशाख २० गते थप आठ जनामा सङ्क्रमण पुष्टि भएको प्रशासनले जनाएको छ । दोस्रो चरणको महामारीबाट चुलाचुली गाउँपालिका–१ का ८८ वर्षीय एक वृद्ध र चुलाचुली–५ की ८४ वर्षीया एक वृद्धाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार कोभिड–१९ को जोखिम न्यूनकीकरण तथा रोकथामका लागि जनचेतना फैलाउने उद्देश्यले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत वैशाख २० गतेदेखि जिल्लाभर तपाईको मास्क खोई ? अभियान सञ्चालन गरिएको छ ।
झापा प्रतिनिधि नेरश खातीका अनुसार कोभिड–१९ को सङ्क्रमण बढेपछि अर्जुनधारा नगरपालिकाले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि ०७८ वैशाख २० गतेदेखि कार्यालय बन्द गर्ने निर्णय गरेको छ । वैशाख २० गतेको बैठकले अर्को सूचना जारी नहुञ्जेलसम्म नगरपालिकामा अत्याश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको नगरप्रमुख हरिकुमार रानाले बताउनु भएको छ ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनसार जिल्लामा कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय पुगेको छ । स्वास्थ्य कार्यालयले जिल्लामा कोभिड–१९ को दोस्रो लहरमा ५ सय बढी सक्रिय सङ्क्रमित रहेको जनाएको छ । स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन मनिस सुवेदीले जिल्लामा वैशाख २० गतेसम्म प्राप्त विवरण अनुसार सङ्क्रमितको सङ्ख्या ५ सय नाघेको छ । कोभिड–१९ सङ्क्रमणका कारण नौ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयले निधेषाज्ञामा कडाइ गरेको छ ।
उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार उदयपुरमा थप एक जनाको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका–५ का ५५ वर्षीय पुरूषको वैशाख २० नोवेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ । जिल्लामा कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु हुनेको सङख्या दुई पुगेको छ । यसअघि त्रियुगा नगपालिका–६ की ३३ वर्षीया युवतीको मृत्यु भएको थियो । जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीका अनुसार वैशाख २० गते ६ जनामा एन्टिजेन परीक्षण गरिएकोमा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ ।