जुम्लाका स्वास्थ्यकर्मी बाँके जान लागेका र सुर्खेतमा निशेधाज्ञा एक साता थप गरिएका समाचार जिल्ला प्रतिनिधिहरूले पठाएका छन् ।
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चिकित्सकको टोली कोभिड–१९ को उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पठाएको छ । भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको अभाव भएपछि प्रतिष्ठानका सघन उपचार विभाग प्रमुख डाक्टर प्रवीण गिरीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली वैशाख १९ गते नेपालगञ्ज पठाएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताउनुभयो ।
उहाँका अनुसार भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाश थापाले सघन उपचारका लागि चिकित्सकको अभाव रहेको जानकारी गराएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रहमा प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मीको ६ जनाको टोली भेरी अस्पतालमा खटाइएको प्रतिष्ठानका निमित्त निर्देशक डा राजिव शाहले जानकारी दिनुभयो । सघन उपचार विभाग प्रमुख डाक्टर प्रवीण गिरीसहित डाक्टर अरुण श्रेष्ठ, डाक्टर हरि न्यौपाने, नर्सहरू सुष्मिता खड्का, तेन्जिङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा भेरी अस्पतालमा जान लागेका हुन् ।
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कोभिड–१९ सङ्क्रमण बढेपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको वैशाख १८ गतेको बैठकले वैशाख १४ गतेदेखि जारी निषेधाज्ञा सातदिन थप गर्ने निर्णय गरेको छ । कोभिड–१९ सङ्क्रमणको दर सात दिनमा मात्रै कम हुने नदेखिएपछि वैशाख २७ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भयो ।
सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार कोभिड–१९ तीव्र गतिमा फैलिएपछि वैशाख १९ गतेदेखि जेठ १ गतेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाँइले जानकारी दिनुभयो । निषेधाज्ञाको समयमा बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म अत्यावश्यक खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य, औषधि र स्वास्थ्य सामग्रीका पसलहरू स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन हुने होमागाँइले बताउनु भयो ।