INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड–१९ सङ्क्रमणसम्बन्धी सुदूरपश्चिम प्रदेशको दैनिक अपडेट (वैशाख १८ गते )

इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरुले वैशाख १८ गते पठाउनु भएको सूचनाका आधारमा कोभिड–१९ को जोखिमलाई नियन्त्रण तथा रोकथामका लागि प्रदेश अन्तर्गत भइरहेका कार्यहरु र समस्याहरुको जिल्लागत अवस्था विश्लेषण यस प्रकार रहेको छ ।

इन्सेक अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार कोरोनाको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि कोभिड जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १९ गते राती १२ बजेदेखि जेठ २ गते राती १२ बजेसम्मका लागि निशेधाज्ञा जारी गरेको छ । कोरोना सङ्रक्रमण थप फैलन नदिनका लागि सर्तहरु लागु गरेर निषेधाज्ञा जारी गर्नु परेको सङ्कट व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले बताउनु भयो । निशेधाज्ञा उल्लङ्घन गरेमा सङ्रक्रमण रोग ऐन २०२० का साथै प्रचलित कानुन अनुसार कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी मल्लको भनाई छ । अत्यावश्यक सार्वजनिक सेवा बाहेकका सार्वजनिक र निजी सवारी साधन, सभा, सम्मेलन, बैठकमा रोक लगाइएको छ । एम्बुलेन्स, दमकल, दुग्धजन्य, फोहोरमैला र दुरसञ्चारका सवारी साधन कागजातका आधारमा सञ्चालनमा रहने जिल्ला प्रशासन कार्यालय, अछामले जनाएको छ । जिल्लामा हाल १ सय ७ जना कोभिडका सक्रिय सङ्क्रमित रहेकामा पाँच जना अस्पतालको आइसोलेशनमा उपचाररत रहेका छन् । बाँकी १ सय २ जना होम आइसोलेशसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय, अछामका सूचना अधिकारी देव जोशीले बताउनु भयो । जिल्लामा हालसम्म १ हजार ७ सय ८६ जनामा कोभिड सङ्रक्रमण पुष्टि भएकोमा सात जनाको मृत्यु भइसकेको छ ।

इन्सेक कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार कोभिड सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि लकडाउनमा कडाई गरिएको छ । जिल्लामा कोभिड सङक्रमण उच्च दरमा फैलिदै गएको भन्दै वैशाख १८ गते जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयको आधारमा लकडाउनमा कडाई गरिएको हो । वैशाख १८ गतेदेखि लागु हने गरी जिल्लामा हप्तामा तीन दिन आईतवार मंगलवार र बिहिवार मात्रै अत्यावश्यक पसलहरु तरकारी, फलफूल, खाद्य समाग्रीका पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरेर सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताउनु भयो । लकडाउनको पूर्ण पालना नगर्नेहरुलाई सङ्क्रमक ऐन अनुसार कार्वाही गरिने समेत जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले जनाएको छ ।

इन्सेक बझाङ प्रतिनिधि रमेश केसीका अनुसार जिल्लामा भारत र अन्य जिल्लाबाट आएकालाई क्वारेण्टाइनमा नराखेर सिधै घर पठाउँदा कोभिड सङ्रक्रमणको जोखिम बढेको र सङ्क्रमितको सम्पर्कमा आएकाहरूको कन्टेक्ट ट्रेसिङ नहुँदा सङ्रक्रमण झन् बढ्दै गएकोले लकडाउनका कडाई गरिएको कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताउनु भयो । वैशाख १८ गते बसेको जिल्ला डिसिसिएमसीको बैठकले वैशाख २० गतेदेखि लागु हुनेगरी लकडाउनलाई थप कडाइ गर्ने तथा होटेल, पसलहरु पुर्णरुपमा बन्द गर्ने, बैङ्क तथा वित्तिय संस्थाहरु विहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गर्ने, यातायातका साधनहरु पुर्णरुपमा बन्द गर्ने र निर्माणका समाग्रीहरु ढुवानी गर्नलाई भने पासको व्यवस्था मिलाइएको जिल्ला समन्वय समितिका प्रमुख खडकबहादुर खडकाले बताउनु भयो । वैशाख १८ गते मात्रै थप १६ जनामा कोभिड सङ्रक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल, बझाङमा ५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा १६ जनामा सङ्रक्रमण देखिएको कोरोना सम्पर्क व्यक्ति जोशीले बताउनु भयो । योसँगै जिल्लामा कोभिड सङ्क्रमितको सङ्ख्या १ सय ६७ पुगेको छ । कोभिडका कारण दुइ जनाको मृत्यु भइसकेको छ । जिल्लामा २ सय महिला र ४ सय ५१ पुरुष गरी ६ सय ५१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा  १ सय ६७ जनामा कोभिड पुष्टि भएको हो । कडाखालका लक्षण देखिएका २० जनामध्ये जिल्ला अस्पतालमा १२ जना र खप्तडछान्ना गाउँपालिकामा आठ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । यसैगररी १ सय ३२ जना होम आइसोलेसनमा रहेका छन् ।

इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार हिमाली गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीलाई नै कोभिड पोजेटिभ देखिएकापछि वैशाख १७ गते रातीदेखि गाउँपालिका नै सील गरिएको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनु भयो । गाउँपालिकाका ६ जना कर्मचारी, चार जना स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी र तीन जना स्थानीय व्यक्तिमा कोभिड सङ्क्रमण देखिएपछि गाउँपालिका नै सील गरिएको भण्डारीले बताउनु भयो । २७ जनामा एन्टिजेन बिधिबाट परीक्षण गर्दा १३ जनामा सङ्क्रमण पुष्टि भएकोमा सङ्क्रमित सबै जनाको आइसोलेसनमा उपचार भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनु भयो ।

जिल्लाभरी कोभिड लक्षण भएका बिरामी गाउँगाउँमा रहेको भएपनि एन्टिजेन किट थोरै भएकोले र पीसीआर मेसिन पनि नभएकोले जाँच गर्न समस्या भएको स्वास्थ्य कार्यालय, बाजुराले जनाएको छ । चार दिनयता ८९ जनाको मात्र जाँच गर्दा ३८ जनामा कोभिड पोजेटिभ देखिएकोे स्वास्थ्य कार्यालय, बाजुराका निमित्त प्रमुख महेश चन्दले बताउनु भयो । भारत लगायत धनगढी, महेन्द्रनगर, नेपालगञ्ज र काठमाडौँबाट जिल्ला आउनेको सङ्ख्या अत्याधिक भएको भएपनि उनीहरुको चेकजाँच हुन सकेको छैन् । यसैगरी कोभिडको दोस्रो लहर चलिरहेकै समयमा बुढीनन्दा नगरपालिकास्थित  कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहीन बनेको छ । स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर राजुराज जैशीले दुुर्गम क्षेत्रमा दुुई वर्षे सेवा कार्यकाल पुरा गरेर गएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन बनेको हो । डाक्टर जैशीको एक वर्षे कार्यकाल सकिएपछि विदाई भएर जानु भएको बुढीनन्दा नगरपालिकाका स्वास्थ्य सह संयोजक ओमजङ्ग शाहीले बताउनु भयो । डाक्टर जैशीले कोल्टी छोडेर गएपछि प्राथमिक स्वास्थ्य केन्द्र अहिले पुरानै अवस्थामा फर्किएको स्वामीकार्तिक खापर गाउँपालिकाका स्थानीय जनम धामीले गुनासो गर्नु भयो । कोभिड–१९ को सङ्रक्रमण गाउँगाउँमा पुगिसेको भएपनि स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्यकर्मीहरु नै नभएपछि चेकजाँच र उपचारमा समस्या भएको स्वास्थ्य सह संयोजक शाहीको भनाई छ ।

इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार कोभिड सङ्क्रमण बढदै गएको समयमा जिल्लाका तीन ओटा स्थानीय तहमा एम्बुलेन्स सेवा नहुँदा समस्या भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा एम्बुलेन्स सेवा नहुँदा कोभिड सङ्क्रमण देखिएका बिरामीलाई अस्पताल लैजान समस्या भएको हो । पुर्चौडी नगरपालिकामा एम्बुलेन्स भएपनि दुर्घटनामा परेर पूर्णरुपमा क्षती भएकोले नयाँ एम्बुलेन्स किन्ने प्रकियामा रहेको नगरप्रमुख रणबहादुर कुँवरले बताउनु भयो । पुर्चौडी नगरपाकिलाको एम्बुलेन्स गत जेठ १९ गते पाटन नगरपालिकाको विन्द्रावनमा दुर्घटनामा परेर पूर्णरुपमा क्षती भएको नगरप्रमुख कुँवरको भनाई छ । सिगास र सुर्नया गाउँपालिकाले भने अहिलेसम्म एम्बुलेन्स खरिद गर्न सकेको छैन् । गाउँपालिकामा एम्बुलेन्स सेवा नहुँदा लक्षण देखिएका बिरामीहरुलाई अस्पताल पु¥याउन समस्या भएको गुनासो आउने गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टले बताउनु भयो । एम्बुलेन्सका लागि खबर गर्दा कहिले इन्धन छैन त कहिले चालक छैन भनेर टार्ने गरेको नागरिक समाज, बैतडीका सचिव कर्ण दयालले गुनासो गर्नु भयो ।

अन्य

भिडियो