झापा प्रतिनिधि नरेश खातीका अनुसार कोभिड–१९ को सङ्क्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालयले वैशाख १८ गते मध्यराति देखि लागू हुने गरी वैशाख २६ गते मध्य रातिसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षमा वैशाख १८ गतेको बैठकले कोभिड–१९ को चेन ब्रेकका लागि वैशाख १९ गतेदेखि वैशाख २६ गतेसम्म निजी तथा सार्वजनिक यातायातका साधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । निषेधाज्ञाका समयमा अत्यावश्यक बाहेकका सबै सेवामा रोक लगाइने प्रशासनले जनाएको छ । खाद्य वस्तुका लागि बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म पसल सञ्चालन गर्न दिइने प्रशासनले वैशाख १८ गते जारी गरेको सूचनामा उल्लेख छ ।
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोभिड–१९ सङ्क्रमितको निशुल्क उपचार गर्दै आएको नोवेल अस्पतालमा वैशाख १८ गते तीन जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ का ५५ वर्षीय पुरूषको मृत्यु भएको छ । प्रदेश २ बाट उपचारका लागि विराटनगर ल्याइएका सप्तरीको राजविराज नगरपालिका–९ का ४५ वर्षीय पुरूष र महोत्तरीका ३५ वर्षीय पुरूषको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको अस्पतालका प्रवन्धक नारायणप्रसाद दहालले पुष्टि गर्नु भएको छ ।