INSEC Online

📅 २०८३ जेष्ठ २२

कर्णाली सरकारद्वारा कोभिड–१९ कोषमा १ अरब रुपियाँ विनियोजन

कर्णाली प्रदेश सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि प्रदेश स्तरीय कोभिड कोषमा १ अरब रुपियाँ बजेट विनियोजन गरेको जनाएको छ ।

वैशाख १६ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्री परिषद बैठकले कोभिड कोषबाट खर्च गर्ने गरी सो रकम विनियोजन गरेको प्रदेश सरकारका प्रवक्ता बिमला केसीले बताउनु भयो ।

प्रदेश सरकारले विनियोजित रकममध्ये ५० करोड रुपियाँ विकास खर्चबाट रकमान्तरण गरेर कोभिड कोषमा राखिने र कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि कोभिड अस्पताल सुर्खेतको स्वास्थ्य, पुर्वाधार सुदृद्धिकरण गर्न २२ करोड रुपियाँ प्रदान गरिने प्रवक्ता केसीले जानकारी दिनु भयो ।

रूकुम पश्चिमको चौरजहारीस्थित सामुदायिक अस्पताल र जिल्ला अस्पताललाई १२ करोड रुपियाँ प्रदान गरिने र प्रदेश भित्रिने सबै नाकाहरूमा थप स्वास्थ्यकर्मी परिचालन गरी एन्टिजेन परीक्षणका लागि आवश्यक बजेट उपलब्ध गराउने उहाँले बताउनुभएको सुर्खेत प्रतिनिधि दुर्गा थापाले उल्लेख गर्नुभएको छ ।

सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार स्वास्थ्य सेवा कार्यालय सल्यानले वैशाख १७ गतेबाट अर्को निर्णय नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड सङ्क्रमितहरूको सङ्ख्या दिनानुदिन बढ्दै आइरहेकाले जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय गरेको स्वास्थ्य सेवा कार्यालयका मेडिकल अधिकृत भिमकान्त जैशीले जानकारी दिनुभयो ।

बागचौर नगरपालिका पनि वैशाख १७ गतेदेखि अर्को निर्णय नहुँदासम्म ‘सील’ गरिएको छ । केही कर्मचारीमा कोभिड पोजेटिभ देखिएकाले नगरपालिका अन्तर्गतका वडा कार्यालय, शैक्षिक संस्था, बैङ्क तथा वित्तीय संस्था, बजार क्षेत्रहरू पूर्ण रूपमा बन्द रहने मेयर लोकमान बुढाथोकीले जानकारी दिनुभयो ।

दैलेख प्रतिनिधि अमर सुनारका अनुसार नारायण नगरपालिका–३ भूर्तीकी कोभिड सङ्क्रमित २७ वर्षीया गर्भवती महिलाको सुत्केरी गराउने क्रममा दैलेख अस्पतालमा वैशाख १७ गते मृत्यु भएको छ ।

सुत्केरी व्यथासँगै श्वासप्रश्वासमा समस्या देखिएकी महिलाको मृत्यु भएपछि एण्टिजीन प्रणालीबाट परीक्षण गर्दा कोभिड पुष्टि भएको दैलेख अस्पतालका डाक्टर जगत थापाले बताउनुभयो ।

रूकुम पश्चिम प्रतिनिधि मनिषा केसीका अनुसार जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिमको कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको वैशाख १७ गते बसेको बैठकले वैशाख १९ गतेदेखि वैशाख ३१ गते सम्म निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेद्वारा जारी आदेशमा कोभिड सङ्क्रमण दर बढ्न सक्ने हुँदा रोकथाम, नियन्त्रण तथा उपचारको आवश्यक व्यवस्थापन गर्न निशेधाज्ञा जारी गरिएको उल्लेख छ ।

अन्य

भिडियो