INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड–१९ सङ्क्रमणसम्बन्धी सुदूरपश्चिम प्रदेशको दैनिक अपडेट ( वैशाख १७ गते )

इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरूले वैशाख १७ गते पठाउनु भएको सूचनाका आधारमा कोभिड १९ को जोखिमलाई नियन्त्रण तथा रोकथामका लागि प्रदेश अन्तर्गत भइरहेका कार्यहरू र समस्याहरूको जिल्लागत अवस्था विश्लेषण यस प्रकार रहेको छ ।

इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा बृद्धि भएसँगै जिल्ला अस्पचाल, बाजुराले ओपिडी सेवा समेत बन्द गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले बताए । जिल्ला अस्पताल, बाजुराले ओपिडी सेवा समेत बन्द गरेपछि सामान्य खालका बिरामीहरुले महंगोमो निजी अस्पतालमा उपचार गर्नु पर्ने बाध्यता रहेको छ । बाजुरा जिल्लाका तीन ओटा स्थानीय तह र जिल्ला अस्पताल गरी चार ओटा अस्पतालमा  ४५ बेड सङ्ख्या, जिल्ला अस्पताल, बाजुरामा दुुई आइसियु बेड र दुई भेन्टीलेटर सङ्ख्या रहेको स्वास्थ्य कार्यालले जनाएकोे छ ।

इन्सेक कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार जिल्लामा कोभिड सङ्क्रमण समुदायस्तरमा फैलिएसँगै कोभिड सङ्क्रमित तथा मृतकको सङ्ख्यामा पनि बृद्धि भइरहेको पाइएको छ । ०७८ बैशाख १६ गते मात्रै भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवक, महाकाली नगरपालिकाका ३० वर्षीय युवक र भीमदत्त नगरपालिका–१८ की ३६ वर्षीया महिला, भीमदत्त नगरपालिका–१८ का ४१ बर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिकाका ५० बर्षीय पुरुष गरी पाँच जनाको मृत्यु भएको। थियो ।  महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाका अनुसार चार जना मृतकको ट्राभल हिस्ट्री नभएको बताउनु भयो । डाक्टर रोकायाका अनुसार अहिले कोभिड समुदाय स्तरमा फैलिएको पाइएको बताउनु भयो । हाल अस्पतालमा  पाँच जना आइसियुमा तीन जना भेन्टीलेटरमा उपचाररत रहेकाछन् । अस्पतालमा अक्सिजनको अभाव भई रहेका बेलामा जिल्लामा रहेका नौ ओटै पालिकालाई अक्सिजनको व्यवस्था गरिदिन आग्रह गरेको डाक्टर रोकायको भनाई छ । अस्पतालमा रहेको अक्सिजन प्लान्टमा दैनिक १२ ओटा सिलिन्डर अक्सिजन उत्पादन भइरहेकोमा पाँच ओटा भेन्टीलेटरमा आवस्यक पर्ने र बाँकी सात ओटा मात्र आफूहरुसँग मौज्दात रहेको बताउनु भयो । अस्पतालमा अहिले दिनमा १५ ओटा भन्दा बढी अक्सिजन सिलिन्डरको आवस्यक भए पनि अभावमा रहेर उपचार गर्नु परेको अस्पतालले जनाएको छ ।

इन्सेक डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार कोभिड सङ्क्रमण दैनिक रुपमा बृद्धि हुदै गएपछि जिल्लामा वैशाख १९ गतेदेखि एक हप्ताका लागि निषेधाज्ञा (लकडाउन) जारी गरिने भएको छ । वैशाख १७ गते जिल्ला प्रशासनमा बसेको सर्वपक्षिय बैठकले विश्वभर फैलिएको नयाँ भिरियन्टसहितको कोभिड भाइरसको संक्रमण दर डडेल्धुरा जिल्लामा पनि उच्च रहेकाले एक हप्ता निषेधाज्ञा जारी गर्न लागेको प्रमुख जिल्ला अधिकारी हरिप्रशाद घिमिरेले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार वैशाख १९ गते बिहान ६ बजेदेखि २५ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु गरिएकोले सो समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने छन् । अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्धजन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दुरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन् । यस्तै निषेधाज्ञाको अवधिभर औषधी पसल, खाद्य पसल बाहेक अन्य पसल र सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द रहनेछन् । विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्विकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने छन् । यसैगरी कमरगढी नगरपालिकामा कार्यरत कर्मचारीमा कोभिड भाइरस सङ्क्रमण पुष्टि भएपछि वैशाख १९ गतेदेखि अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको प्रमुख प्रसाशकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले बताउनु भयो  ।

इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार वैशाख १६ गते जिल्लामा पाँच जना स्वास्थ्यकर्मी सहित १७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मी लगायत स्थानीयहरुमा कोभिड सङ्क्रमण पुष्टि भएपछि यस क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । वैशाख १६ गते बेलुकीदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालय, दार्चुलाले मार्मा गाउँपालिका, व्यास गाउँपालिका र शैल्यशिखर नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अवधिभर गाउँपालिका भित्र अत्यावश्यक सेवा बाहेक अन्य सेवा सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनु भयो । यसैगरी व्याँस गाउँपालिका वडा नम्बर ६ को पन्तोली टोलमा कोभिड सङ्क्रमित भेटिएपछि वडा नम्बर ६ भित्र निषेधाज्ञा जारी गरिएको छ । व्यास गाउँपालिका वडा नम्बर ६ को पूर्वमा दाम्दाकोट, पश्चिममा महाकाली नदी बडुगाउँ, उत्तरमा रिठिङगाड र दक्षिणमा तुसराडीसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । यसैगरी शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ नायलमा चार जनामा र वडा नम्बर ६ ग्वानीमा एक जनामा कोभिड संक्रमण पुष्टि भएपछि यो क्षेत्रमा निषेधाज्ञा गरिको छ ।  कोभिड सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि एक हप्ताका लागि तीन ओटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको र निषेधाज्ञाको उल्लङ्घन गरिएको पाइएमा सङ्क्रामक रोग ऐन २०२० अनुसार कार्वाही गरिने प्रशासनले जनाएको छ ।

इन्सेक डोटी प्रतिनिधि बाशुदेव जोशीका अनुसार कोभिड भाइरस सङ्क्रमणको उच्च जोखिम बढदै गएको र जिल्लामा दैनिक २० देखि २५ जनामा कोभिड सङ्क्रमण पुष्टि हुदै गएकोले जोखिम उच्च रहेको भन्दै जिल्लाका सम्पूर्ण विद्यालयहरु वैशाख १७ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । वैशाख १६ गते जिल्ला विपद व्यवस्थापन समितिको बसेको बैठकले जिल्लाका सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरको हो ।

अन्य

भिडियो