INSEC Online

📅 २०८३ जेष्ठ २२

स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा स्वाब सङ्कलन प्रभावित

जिल्ला जनस्वास्थ्य कार्यालयका आठ जना स्वास्थ्यकर्मीलाई वैशाख १५ गते कोभिड–१९ सङ्क्रमित भएपछि सुर्खेतमा स्वाब सङ्कलन कार्य प्रभावित भएको जनस्वास्थ्य कार्यालय सुर्खेतका सिनियर अहेब अम्मर रानाले बताउनु भएको छ ।

जनस्वास्थ्य कार्यालय सहित कर्णाली प्रदेश कोभिड–१९ अस्पताल र वीरेन्द्रनगर नगरपालिकाले स्वाब सङ्कलन गर्दै आएको भएपनि प्रदेश अस्पतालमा शुल्क लाग्ने र नगरपालिकाले सोमबार र बुधवार दुई दिन नगरपालिकाका बासिन्दाहरूको मात्रै स्वाब सङ्कलन गर्ने हुँदा अन्य ठाउँका बिरामीहरूको स्वाब सङ्कलन कार्य पुर्णरूपमा प्रभावित हुन पुगेको सुर्खेत प्रतिनिधि दुर्गा थापाले उल्लेख गर्नुभएको छ ।

जनस्वास्थ्य कार्यालयमा थप कर्मचारी नभएका कारण अर्को व्यवस्था नहुँदासम्म कार्यालयबाट प्रवाह गरिने सबै सेवाहरू बन्द हुन पुगेको तर शव व्यवस्थापन र एम्बुलेन्स सेवा भने सुचारु रहेको सिनियर अहेब रानाले बताउनु भएको छ । ।

कर्णाली प्रदेशमा वैशाख १५ गते थप तीन जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएसँगै प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको कर्णाली प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।

दैलेख प्रतिनिधि अमर सुनारका अनुसार कोभिड–१९ सङ्क्रमण गति रोकिएसँगै केन्द्र सरकारको निर्णयबाट बन्द गरिएको दैलेख ल्याब वैशाख १६ गतेदेखि पुनः सुरू गरिएको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सबै ल्याब सञ्चालनमा ल्याउने सरकारको निर्देशनपछि नियमित सुचारू गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनुभएको छ ।

अनिवार्य परीक्षण गर्नुपर्नेहरूका लागि एण्टिजीन कीटबाट कोभिड परीक्षण गरिँदै आएकोमा अब कोभिड परीक्षण ल्याबबाट परीक्षण हुने फोकल पर्सन रेग्मीले बताउनुभयो । केन्द्र सरकारले व्ययभार कम गर्न कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई मात्र चालु राख्ने निर्णय गरेका कारण दैलेख र रूकुम पश्चिमको प्रयोगशाला बन्द भएका थिए ।

जाजरकोट प्रतिनिधि दिनेशकुमार श्रेष्ठका अनुसार जिल्ला प्रशासन कार्यालय जाजरकोटले यहि वैशाख १८ गतेदेखि २५ गतेसम्म निशेधाज्ञा जारी गरेको छ । कोभिड–१९ को नयाँ भेरिएन्ट सहितको सङ्क्रमणले तीव्र्र रूप लिन थालेपछि जिल्ला प्रशासन कार्यालयले वैशाख १८ गते रातिदेखि एक हप्ताको लागि निशेधाज्ञा जारी गरेको हो । यो अवधिमा सबै प्रकारका सेवाहरू बन्द गर्नुका साथै अत्यावश्यक काम बाहेक हिँडडुुलमा समेत निशेध गर्ने आदेश जारी गरिएको छ । एक हप्ताको लागि बैङ्क तथा वित्तीय संस्था, सवारी साधन, पसल, सञ्चालनमा रहेका सबै व्यवसायहरू बन्द गर्ने आदेश गरिएको छ ।

अन्य

भिडियो