०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प गएको वैशाख १२ गते ६ वर्ष पुरा भएको छ । सो भूकम्पको केन्द्रविन्दु रहेको गोरखा जिल्लाको बारपाक गण्डकी प्रदेशमा पर्दछ । भूकम्पको प्रभाव प्रदेशको ११ ओटा जिल्ला मध्ये नौ ओटा जिल्लामा परेको थियो ।
विनाशकारी भूकम्पको कारण अत्यधिक क्षति भएका पहिलो वर्गिकरणमा परेका अति प्रभावित जिल्ला मध्ये प्रदेशको गोरखा जिल्ला रहेको छ भने कम प्रभावित जिल्लामा प्रदेशको तनहुँ, लमजुङ, कास्की, पर्वत,बागलुङ, म्याग्दी, स्याङजा र नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) रहेका छन् ।
वैशाख १२ र २९ गते गएको भूकम्पका कारण देशभर ८ हजार ९ सय ७९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय ९ जना घाईते भएका थिए र ठुलो मात्रामा व्यक्तिका निजी आवास, सरकारी भवन, सार्वजनिक विद्यालय, स्वास्थ्य संस्थाका वनहरू, ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूमा भौतिक क्षति पुग्न गएको थियो ।
राष्ट्रिय योजना आयोगबाट तयार गरी प्रकाशित विपद्पछिको आवश्यकता आँकलन प्रतिवेदन २०१५ ( अनुसार गोरखा भूकम्पका कारण ७ सय ६ अर्व रुपियाँ (७ अर्व डलर) बराबरको भौतिक क्षति पुगेको अनुमान गरिएको थियो ।
प्रदेश सरकार नीति तथा योजना आयोग गण्डकी प्रदेशले आर्थिक वर्ष ०७६।०७७–०८०।०८१ को प्रथम पञ्चवर्षीय योजनामा आवास, बस्ती विकास र पुनर्निर्माण अन्तरगत पुनर्निर्माण प्राधिकरणसँग समन्वय गरी २०७२ को भूकम्पमा भत्केका निजी घर, सार्वजनिक भवन, विद्यालय, स्वास्थ्य सस्थाको पुनर्निर्माण आगामी दुई वर्षभित्र सम्पन्न गर्ने उद्देश्य राखेको छ ।
भूकम्पबाट क्षति भएका संरचनाहरूको छिटो छरितो र प्रभावकारी रूपमा पुनर्निर्माणको कार्य सम्पादन गर्नको लागी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत केन्द्र स्तर र जिल्ला स्तरमा समेत रहने गरी निम्नानुसारको सङ्गठनात्क व्यवस्था रहेको छ । जिल्ला स्तरमा जिल्ला आयोजना कार्यान्वयन इकाइहरू मार्फत विषयगत क्षेत्र अनुसारको पुननिर्माणको कार्य भइरहेको भएपनि कोभिड १९ले गर्दा निर्माण कार्यमा भएको ढिलाइलाई नकार्न सकिदैन ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार ०७२ वैशाख १२ को भूकम्पले गोरखा जिल्लामा ४ सय ७१ जनाको मृत्यु भयो भने एक हजार भन्दा बढी घाइते भएका थिए । भूकम्पले जिल्लामा ७० हजार घरमा क्षति पुर्यायो । भूकम्पको ६ वर्ष पुग्दा ६० हजार ५ सय ५२ घरको पुनर्निर्माण सम्पन्न भएको छ । जसमध्ये ६५ हजार २ सय २५ घरले पहिलो किस्ता र ६३ हजार ७ सय घरले दोस्रो किस्ताको रकम लगिसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय गोरखाका प्रमुख रामशरण आचार्यले बताउनुभयो । नीजि आवास तर्फ हालसम्म ९० प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ । प्रवलिकरणबाट पुनर्निर्माणमा परिवर्तन भएका ३ हजार २ सय १४ घर निर्माणको क्रममा छन् । ‘आगामी असार सम्म नीजि आवास तर्फको पुननिर्माण सक्ने लक्ष्य लिएका छौँ,’ –उहाँले भन्नुभयो । जिल्लामा ४ सय ४४ ओटा विद्यालयमा क्षति भयो भने ती मध्ये ३ सय ८२ ओटाको निर्माण सम्पन्न भएको छ । जिल्लाका ५५ ओटा स्वास्थ्य संस्थाहरू पूर्ण र २२ ओटा आशिक रूपमा क्षति भएका थिए । जसमध्ये अर्ध स्थाई प्रकृतिका सबै निर्माण सम्पन्न भए भने गोरखा अस्पतालको भवन निर्माणाधिन रहेको छ । भूकम्पले क्षति पुर्याएको जिल्ला कारागार हालसम्म पनि निर्माण प्रक्रियामा गएको छैन भने क्षतिग्रस्त सातै ओटा सरकारी कार्यालयहरूको निर्माण सम्पन्न भइसकेको छ ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार पर्वतमा वैशाख १२ गतेको भूकम्प पछि सर्वेक्षण गरिएको १९ हजार घरमा कसैको मृत्यु भएको थिएन भने केही सामान्य रूपमा घाइते भएका थिए । जिल्लामा ५ हजार ९ सय ६ पूर्ण र ३ सय २५ आंशिक (प्रवलिकरण) गरी ६ हजार २ सय ३१ घर भूकम्पको कारण प्रभावित भएका थिए । निर्माणको लागी कुल लाभग्राही ६ हजार २२ सय ३१ मध्ये ५ हजार ८ सय ७६ लाभग्राहीले पहिलो किस्ता, ४ हजार ५ सय १६ लाभग्राहीले दोश्रो र ३ हजार ५ सय १४ लाभग्राहीले तेश्रो किस्ता वापतको रकम बुझेका छन् । त्यस्तै अनुदान सम्झौता गरेका ३ सय ५५ जना मध्ये २ सय ५० जना पूर्ण र १ सय ५ जना प्रवलीकरण तर्फ रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ पर्वतका सूचना अधिकारी बालकृष्ण शर्माले जानकारी दिनुभयो । भूकम्पले जिल्लामा १ सय ८८ ओटा विद्यालयमा क्षति भयो । ती मध्ये ७९ विद्यालयको निर्माण सम्पन्न भएको छ भने १ सय ५३ विद्यालयहरू अहिलेपनि निमार्णाधिन छन् । जिल्लामा क्षति भएका दुई ओटा स्वास्थ्य संस्थाहरू हाल निर्माणको क्रममा रहेका छन् ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार तनहुँमा १४ हजार ८ सय ३७ पूर्ण र १ हजार १ सय ३० आंशिक (प्रवलिकरण) गरी १५ हजार ९ सय ६७ घर भूकम्पको कारण प्रभावित भएको थियो । कुल लाभग्राही १५ हजार ९ सय ६७ मध्ये १४ हजार ९ सय ६ लाभग्राहीले पहिलो किस्ता, ११ हजार ९ सय ७६ लाभग्राहीले दोश्रो र १० हजार ३ सय ५९ लाभग्राहीले तेश्रो किस्ता वापतको रकम बुझेका छन् । हालसम्म कुनै पनि लाभग्राहीले नीजि आवास सम्पन्नको प्रमाणपत्र प्राप्त नगरेको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार तनहुँका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिनुभयो । तनहुँमा सबैभन्दा धेरै भानु नगरपालिकामा ४ हजार ८ सय ४९ घर परिवार प्रभावित भएका थिए । त्यस्तै व्यास नगरपालिकामा २ हजार ५ सय १४, शुक्लागण्डकी नगरपालिकामा २ हजार ७७, म्याग्दे गाउँपालिकामा १ हजार ४ सय ८९, भिमाद नगरपालिकामा १ हजार ३ सय ३१, बन्दिपुर गाउँपालिकामा १ हजार १ सय १६, आवुँखैरेनी गाउँपालिकामा ९ सय ४१, देवघाट गाउँपालिकामा ६ सय ६१, ऋषिङ गाउँपालिकामा ६ सय ३२ र घिरिङ गाउँपालिकामा ३ सय ३० घर क्षति भएको थियो । गत वर्ष कोभिड–१९ को कारण नीजि आवास पुनर्निर्माणमा ढिलाई भएको आयोजना प्रमुख गुप्ताले बताउनुभयो । त्यसैगरि अनुदान समयमा प्राप्त नहुँदा लाभाग्राहीलाई उपलब्ध गराउन नसकिएको उहाँको बताउनुभयमे । अबको असार मसान्तसम्म मात्र पुनर्निर्माणको समय अवधि बाँकी रहेको र सबै लाभग्राहीलाई बुझाउनु पर्ने रकम ३४ करोड रुपियाँ भन्दा बढी रहेपनि हालसम्म जम्मा १० करोड रुपियाँ मात्र निकासा भएको उहाँको भनाइ छ । अनुदान रकम उपलब्ध गराउन नपाउँदा प्रगती पनि कम देखिएको उहाँले बताउनुभयो । उहाँले सबै लाभग्राहीलाई वैशाख महिना भित्र घर निर्माण गरी वडा कार्यालयबाट सिफारिस ल्याउन अनुरोध गरिएको जानकारी दिनुभयो । जनशक्तिको अभावको कारण पनि अनुगमन प्रभावित भएको गुप्ताको भनाइ छ । भूकम्पले जिल्लामा ३ सय ५ ओटा विद्यालयमा क्षति भयो भने ती मध्ये १ सय ३० विद्यालय, ६० शौचालय र १० खानेपानी सेवाको निर्माण सम्पन्न भएको छ । जिल्लाका पाँच ओटा स्वास्थ्य संस्थाहरू क्षति भएका थिए । जसमध्ये तीन ओटाको निमार्ण सम्पन्न भएको छ भने दुई ओटाको निमार्ण हुन बाँकी रहेको छ । भूकम्पले क्षति पुर्याएको जिल्ला कारागार हालसम्म पनि निर्माण प्रक्रियामा गएको छैन भने क्षतिग्रस्त तीन ओटा सरकारी कार्यालयहरूको निर्माण सम्पन्न भइसकेको छ । तनहँुमा भूकम्पको कारण कुनै पनि नागरिकको मृत्यु भएको थिएन ।
नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार नवलपुरमा निजी आवास पुर्ननिर्माण तर्फ कुल लाभग्राही १ हजार ५३ मध्ये १ हजार ५१ लाभग्राहीले पहिलो किस्ता, १ हजार ४६ लाभग्राहीले दोश्रो र १ हजार ३४ लाभग्राहीले तेश्रो किस्ता वापतको रकम बुझेका छन् । जिल्लामा प्रवालिकरण मर्मत लाभग्राही तर्फका १७ जना मध्ये ११ जनाले पहिलो किस्ता र १० जनाले दोश्रो किस्ता वापतको रकम बुझेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ नवलपरासीका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिनुभयो ।
लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार लमजुङमा १४ हजार ६ सय ४९ पूर्ण र ८ सय ९४ आंशिक (प्रवलिकरण) गरी १५ हजार ५ सय ४३ घर भूकम्पको कारण प्रभावित भएको थियो । कुल लाभग्राही १५ हजार ५ सय ४३ मध्ये १४ हजार ५ सय ९७ लाभग्राहीले पहिलो किस्ता, ११ हजार ७ सय ५० लाभग्राहीले दोश्रो र ९ हजार ९६ लाभग्राहीले तेश्रो किस्ता वापतको रकम बुझेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ लमजुङका प्रमुख सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो । जिल्लामा भूकम्पको कारण तीन जनाको मृत्यु भएको थियो ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार जिल्लामा भूकम्पले क्षतिग्रस्त भएका २ हजार ९ सय ५२ नीजि आवासहरूमा २ हजार ४ सय ५२ ओटा निर्माण भइसकेका छन् भने ५ सय ओटा घर निर्माण सम्पन्न हुन बाँकी रहेका छन् । भवन निर्माण बाहेक दुई ओटा पक्की पूल र १० किलोमिटर सडकपनि निर्माण भएको छ । जिल्लामा ७२ सालको भूकम्पले १ सय ७९ ओटा विद्यालयमा क्षति पुर्याएको थियो । जसमध्ये १ सय १६ ओटा निर्माण भए भने ६३ ओटा बाकी रहेका छन् । ५८ विद्यालयका शौचालयपनि निर्माण गर्नु परेकोमा ४० ओटाको निर्माण सम्पन्न भएको छ । क्षति पुगेका दुई ओटा स्वास्थ्य संस्थाहरूको पनि पुनर्निर्माण भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ बागलुङकी निमित्त प्रमुख रेणुका पाण्डेले बताउनुभयो ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार जिल्लामा कुल १ हजार ६५ घर भूकम्पको कारण प्रभावित भएका थिए । कुल लाभग्राही १ हजार ६५ मध्ये ९ सय ८५ लाभग्राहीले पहिलो किस्ता, ७ सय ७१ लाभग्राहीले दोश्रो र ६ सय ८४ लाभग्राहीले तेश्रो किस्ता वापतको रकम बुझेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ म्याग्दीकी निमित्त प्रमुख आकाक्षा रिजालले बताउनुभयो ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार भूकम्पले कास्कीमा प्रभावित २ सय ३ विद्यालय मध्ये १ सय ९० पुनर्निर्माण भएका छन् । यस्तै क्षति भएका दुई ओटा स्वास्थ्य चौकी मध्ये दुवैको निर्माण सम्पन्न भएको छ । जिल्लामा ७ हजार ३ सय १९ नीजि आवास मध्ये ३ हजार ७ सय ८७ ओटा निर्माण भइसकेका छन् । कास्कीमा नीजि आवास निमार्णका लागि लाभग्राहीले विभिन्न चरणमा किस्ता लिने क्रम चलिरहेको छ । हालसम्म पहिलो किस्ताको रूपमा ३ हजार ३ सय ९६ जनाले रकम लिएका छन् भने दोस्रो किस्ताको रूपमा ४ हजार ५ सय ६३ लाभग्राहीले रकम लगेको प्राधिकरणका प्रमुख इन्जिनियर उमेश चौधरीले जानकारी दिनुभयो । यस्तै प्रदेश प्रहरी कार्यलय अन्तरगत क्षति भएका तीन ओटा भवन मध्ये सबैको निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाइ कास्की प्रमुख लाल प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार स्याङजामा ९ हजार ३ सय ८६ पूर्ण र ७ सय ८८ आंशिक (प्रवलिकरण) गरी १० हजार १ सय ७४ घर भूकम्पको कारण प्रभावित भएको थियो । कुल लाभग्राही १० हजार १ सय ७४ मध्ये ९ हजार ६ सय ८२ लाभग्राहीले पहिलो किस्ता, ५ सय ४४ लाभग्राहीले दोश्रो र ५ हजार १ सय ३८ लाभग्राहीले तेश्रो किस्ता वापतको रकम बुझेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ स्याङजाका प्रमुख प्रवीण ढकालले बताउनुभयो ।