सरकारको अव्यवहारिक निर्णयका कारण ‘रेफर लेटर’ बनाउनकै लागि बिरामीहरूले दुख पाउँदै आएका छन् ।
कोभिड–१९ को महामारी फैलिँदै आएपनि पाल्पा अस्पतालमा भने रेफर बनाउनका लागि दैनिक ४ सय जनासम्मको भिड लाग्ने गरेको छ ।
पहिलो चरणको कोभिड महामारी सुरू भएपछि थप फैलिन सक्ने भन्दै २०७६ चैतबाट २०७७ पुससम्म ‘रेफर लेटर सिस्टम’ हटाई बिरामी सिधै सम्बन्धित अस्पतालमा जान पाउने व्यवस्था मिलाइएको थियो ।
यो समयमा बिरामीहरूलाई सहज भएको थियो । पुनः २०७७ माघदेखि रेफर सिस्टम अनिवार्य गरिएपछि बिरामीलाई सास्ती भएको हो ।
मान्छे बिरामी भएपछि सहज रूपमा उपचार पाउनुपर्ने हो तर यहाँ टिकट लिनकै लागि बिरामीले सास्ती भोग्दै आएका छन् ।
सरकारले कुनै पनि नेपाली पैसा नभएकै कारण उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने योजनाका साथ ल्याएको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत बिमा गरेका बिरामीहरूले टिकट लिनकै लागि सास्ती व्यहोर्नु परेको छ ।
बिमा कार्यक्रम अन्र्तगत एक परिवारमा पाँच जनाको एकमुष्ट ३ हजार ५ सय रुपियाँ बुझाएपछि उक्त परिवारले वर्षभरिमा १ लाख रुपियाँ बराबरको उपचार निःशुल्क पाउने व्यवस्था रहेको छ ।
त्यस्तै पाँच जनाभन्दा बढी व्यक्ति भएको परिवारले पाँच जनाभन्दा माथि प्रति व्यक्ति ७ सय रुपियाँ बुझाउनुपर्ने र त्यसबापत थप प्रति सदस्य २० हजार रुपियाँको उपचार सुविधा पाउने कार्यक्रम रहेको छ ।
बिमितले पहिलो पटक सरकारी अस्पताल उपचारका लागि जानुपर्ने र त्यहाँ उपचार सम्भव नभए सरकारी अस्पतालले नै अन्य अस्पतालमा रेफर गर्न पाउने व्यवस्थाका कारण सरकारी अस्पतालमा बिरामीहरूको भिडभाड लाग्ने गरेको हो ।
बिमा कार्डको नम्बरसहित बिरामीको पूर्ण विवरण कम्प्युटरमा इन्ट्री गर्नुपर्ने भएकोले एक जना बिरामीको नाम दर्ता गर्न कम्तीमा दुई मिनेट समय लाग्छ । अस्पतालमा दुई ओटा स्थानबाट बिरामीको नाम दर्ताको काम गरिएपनि पर्याप्त हुन सकेको छैन ।
अस्पतालमा आवश्यक पूर्वाधार र जनशक्ति बिना नै स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालन हुँदा समस्या भएको हो । स्वास्थ्य बिमा कार्यक्रम सरकारी अस्पतालबाट सञ्चालन गर्ने भनियो तर बिमासम्बन्धी काम गर्ने र आवश्यक औषधि, जनशक्ति र व्यवस्थापन नहुँदा समस्या थपिएको हो ।
तानसेन नगरपालिका–१ का मिनबहादुर थापाले बिरामी भएपछि सहज रूपमा उपचार पाउनुपर्नेमा रेफर लेटर बनाउने थप तनाव थपिएकाले यसको तत्काल समाधान गर्नुपर्ने बताउनुभयो ।
बगनासकाली गाउँपालिका–२ का रमेश कुमालले रेफर लेटर बनाउने प्रक्रियाले बिरामीले दुःख पाएकोले तत्काल यो प्रक्रिया अन्त्य भई सिधै अस्पतालमा उपचार गराउन पाउने व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।
पछिल्लो समय तानसेन नगरपालिका, माथागढी गाउँपालिकासहित जिल्ला अन्य स्थानीय तहहरूले समेत विपन्न, दलित, स्वास्थ्य स्वयमसेविकालाई समेत लक्षित गरेर स्वास्थ्य बिमा गरिरहेका छन् ।
जिल्लामा ४८ हजार ७ सय ७५ परिवारका १ लाख ९१ हजार ७ सय ४५ जनाले बिमा गराएर सेवा लिइरहेका छन् ।
ज्येष्ठ नागरिकका लागि निःशुल्क बिमा कार्यक्रममा पनि ९ हजार ९ सय १० जनाको बिमा गरिएको स्वास्थ्य बिमा बोर्ड पाल्पाका प्रमुख त्रिलोचन गैरेले बताउनुभयो ।
यी सबै व्यक्तिहरू बिरामी पर्दा रेफर लेटर बनाउनकै लागि जिल्ला अस्पताल आउनु अनिवार्य छ । युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजसमेत पाल्पामै रहेकाले ती अस्पतालमा उपचारका लागि जानका लागि रेफर लेटर बनाउनकै लागि बिरामीहरू जिल्ला अस्पताल आउनु अनिवार्य छ ।
जिल्ला अस्पताल पाल्पाका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर जगदीश कुँवरले जिल्ला अस्पतालमा दैनिक ६ सय जनासम्म बिरामी आउने गरेको बताउनुभयो ।
जसमध्ये ६० प्रतिशत बढी रेफर लेटर बनाउन आउने गरेको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकहरूले जति बेला आएपनि रेफर बनाउन पाउने व्यवस्था मिलाएको र थोरै जनशक्तिले धेरै काम गर्नुपर्दा समस्या भएको उहाँले बताउनुभयो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले आफू पाल्पा आउने बित्तिकै बिमा समस्या बारे धेरै पटक गुनासो सुन्दै आएको बताउनुभयो ।
आफूले यसको समाधानका लागि पहल अगाडि बढाउँदै आएको भएपनि नीतिगत समस्याका कारण कार्यान्वयन गर्न नसकिएको उहाँले बताउनुभयो ।