INSEC Online

📅 २०८३ जेष्ठ २२

इन्सेक सहजकर्ता पौडेलको सडक दुर्घटनामा मृत्यु, इन्सेकद्वारा शोक व्यक्त

इन्सेक कपिलवस्तु सहजकर्ता नन्दराम पौडेलको सडक दुर्घटनामा ०७७ चैत ३१ गते मृत्यु भएको घटनाका दोषीउपर कारवाही सुनिश्चित गर्न इन्सेकले नियामक निकायसँग जोडदार माग गरेको छ ।

विगत दुई दशकभन्दा बढी समयदेखि इन्सेक अभियानमा आवद्ध कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिका-४ निवासी पौडेलको मृत्यु भएको खबरले दुःखी बनाएको इन्सेकले जनाएको छ ।

Nanda Ram Paudel

इन्सेक अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा वैशाख १ गते जारी विज्ञप्तिमा भनिएको छ-‘दुःखको यस घडीमा हामी दिवंगत पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ ।’

१० वर्ष लामो सशस्त्र द्वन्द्वको समयमा सर्वसाधारणको जीवन रक्षा तथा मानव अधिकार उल्लङ्घनका घटनाको अभिलेखिकरणमा उहाँको महत्वपुर्ण योगदान रहेको इन्सेकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘सशस्त्र द्वन्द्व तथा प्रतिकार समूहका नाममा विस्थापित भएकाहरूको पुनर्स्थापना, द्वन्द्व पीडितको न्याय तथा स्थानीय शान्ति समितिमार्फत द्वन्द्व रुपान्तरणका सवालमा उहाँले महत्वपूर्ण कार्यहरू गर्नुभएको थियो ।’-विज्ञप्तिमा भनिएको छ ।

नेपालमा मानिसको मृत्युको प्रमुख कारणहरु मध्ये सडक दुर्घटना पनि रहने गरेको भन्दै इन्सेकले असुरक्षित राजमार्ग, कमजोर अनुगमन प्रणाली तथा सवारी चालकको लापरबाही जस्ता कारणहरुको न्यूनीकरणका लागि भरपर्दो संयन्त्र निर्माणमा सम्बन्धित पक्षको ध्यान आकर्षण गराएको छ ।

अन्य

भिडियो