समाजमा अझै बालीघरे प्रथा हट्न सकेको छैन । रैनादेबी छहरा गाउँपालिका–३ भुवनपोखरीका ४६ वर्षीय जुद्धबहादुर बिकले बिहानदेखि साँझ अबेरसम्म असिन पसिन भएर आरनमा काम गर्नुहुन्छ । अर्को दिन उठेपछि उहाँको फेरि उही दैनिकी सुरू हुन्छ । उहाँले यसरी आरनकै रापमा एक दिन, एक महिना, एक वर्ष मात्रै होइन ३० वर्ष बिताइ सक्नुभयो ।
जुद्धबहादुरले आफू जान्ने बुझ्ने भएदेखि नै आरनमा काम गर्दै आएको बताउनु भयो । कोरोना त्रासका कारण जताततै बन्दाबन्दी भएपनि उहाँको आरन एक दिन पनि बन्द भएन । गाउँठाउँमा खेती पातीका काम चलिरहेकोले किसानहरू कृषि औजारमा धार लगाउन हरेक दिन आफूकहाँ आइरहेको उहाँले बताउनु भयो ।
उहाँले पाल्पासहित छिमेकी जिल्ला अर्घाखाँचीका समेत गरी ५० भन्दा बढी घर परिवारको काम गर्दै आउनु भएको छ । “अहिलेसम्म आज काम भएन भनेर कहिल्यै खाली बस्नु परेको छैन, काम आइरहन्छ।”-उहाँले भन्नुभयो ।
यसरी मेहनत गरेर काम गर्दा मनग्ये आम्दानी पनि हुन्छ होला नि ? यसबापत उहाँले कत्तिपनि ज्याला पाउनु हुन्न । गाउँमा बाली घरे प्रथा कायमै छ । यसकारण पनि उहाँले वार्षिक रुपमा आफ्नो आरनमा काम ल्याउने किसानहरूसँग बाली उठाएर परिवारको गुजारा चलाउँदै आउनु भएको छ । उहाँसहित पत्नी र दुई जना छोराले समेत यही पेसाबाट दैनिकी गुजार्दै आएका छन् ।
आफ्ना बुबाले बाली घरे प्रथा मै आरन चलाउँदै आएको र आफूले पनि सोही अनुसार काम गर्दै आएको जुद्धबहादुरले बताउनु भयो । “गाउँका किसानहरुले हाम्रो आरनमा कुटो कोदालो हँसियालगायत घरेलु हतियारको काम गर्न ल्याउनुहुन्छ, त्यसबापत हामी वार्षिक रुपमा उहाँहरूकै घरघरमा पुगेर अन्नबाली उठाउँदै आएका छौँ ।”-उहाँले भन्नुभयो । अन्नबालीको ठाउँमा ज्याला पाउने व्यवस्था हुन सक्ने हो भने आफूहरूलाई बाली उठाउन घर घरमा जानु नपर्ने उहाँको भनाई छ । “कहिले घाम कहिले पानी बोरा र डोको बोकेर घरघरमा पुगेर बाली उठाउन निकै समस्या छ ।”=जुद्ध बहादुरले भन्नुभयो ।
जुद्ध बहादुरका ५३ वर्षीय दाजु भोजबहादुरको पनि पनि दैनिकी उस्तै छ । उहाँले पनि आरन चलाउने कामलाई निरन्तरता दिँदै आएको ३० वर्ष भन्दा बढी भइसक्यो । उहाँले पनि काम बापत ज्याला पाउनुहुन्न । बाली उठाउन घरघरमै पुग्नु पर्छ । यो सहित वरपरका गाउँमा गरी कम्तीमा १० ओटा आरन छन् । सबैले बाली पाउने गरीआरन चलाउँदै आएका छन् । यो पेसाबाट धान चामल मात्रै उठ्ने र काम अनुसारको ज्याला नहुँदा पेसाप्रति युवाहरुको आकर्षण घट्दै गएको १९ वर्षीय युवक सुमन बिकले बताउनु भयो । दलित समुदायको पुर्ख्यौली पेसाका रुपमा रहेको कृषि औजार निर्माण गर्ने पेसा दिन प्रतिदिन सङ्कटमा पर्दै गएको उहाँको भनाई छ । युवा पुस्ताले बाली घरे प्रथाका कारण यो पेसा प्रति चासो दिएको पाइँदैन । आरनलाई व्यवसायीकरण बनाउन नसकेकै कारण आफू जस्ता युवाहरूको यसतर्फ आकर्षण नै नरहेको उहाँले बताउनु भयो । आरनको काममा युवालाई आकर्षित गरी परम्परागत पेसाको संरक्षणसँगै आम्दानी गराउनेतर्फ स्थानीय सरकारको भुमिका प्रभावकारी नदेखिएको उहाँको आरोप छ ।
कृषि पेसा गर्नेका लागि हँसिया, कुटो, कोदालो, बन्चरो र अन्य विभिन्न कामका लागि आवश्यक पर्ने धारिलो हतियार बनाउन दैनिक आगोको रापमा तातेको फलामसँगै पसिना चुहाँउदा समेत स्थानीय सरकारले आरन सुधार र बाली घरे प्रथा हटाउन नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
आरन व्यवसायलाई व्यवसायीकरण गर्न नसक्ने हो भने यो पेसा केही वर्षमै लोप हुने अवस्था आएको स्थानीय शिक्षक चन्द्रमणी पौडेलले बताउनु भयो । “किसानका लागि आरन नभइ हुँदैन । गाउँका किसान आरनको काम लिएर टाढा जान सम्भव पनि छैन । त्यसैले उहाँहरूलाई गाउँमै टिकाइ राख्न सबै क्षेत्रको सहयोगको खाँचो छ ।”-उहाँले भन्नुभयो ।
रैनादेवी छहरा गाउँपालिका–३ का अध्यक्ष लालबहादुर दर्लामीले उहाँहरूको आरन सुधारका लागि अघिल्लो आर्थिक वर्षमा केही प्राविधिक सामग्रीहरू उपलब्ध गराइएको र आगामी वर्षहरूमा उहाँहरूलाई व्यवसायिक बनाउँदै लैजाने योजना रहेको बताउनु भयो ।
“आरनमा काम गर्नेहरूको लागि बाधक नै बालीघरे प्रथा हो । यो प्रथा पहिल्यैदेखि चलिआएकोले पनि एक्कासी हटाउन सम्भव देखिँदैन, यसर्थ विस्तारै बालीघरे प्रथाको उन्मुलन गर्दै उहाँहरूको व्यवसायीकरणमा स्थानीय सरकारको सहयोग रहनेछ ।”-उहाँले भन्नु भयो ।