क्वहोलासोथर गाउँपालिकामा उमेर नपुगि बच्चा जन्माउने आमाको सङ्ख्या बृद्धि भएको छ ।
विगत ६ महिनाको तथ्याङ्कलाई हेर्ने हो भने गाउँपालिकामा ५५ जना उमेर नपुगि आमा बनेको क्वहोलासोथर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङले बताउनुभयो ।
उमेर नपुग्दै बच्चा जन्माएपछि बालबालिकाको जन्मदर्ता गर्न पनि समस्या भएको गाउँपालिकाका न्याय समितिका सदस्य गमिमायाँ गुरुङले बताउनुभयो ।
क्वहोलासोथर गाउँपालिका–४ कि १७ वर्षीया हाइकली गुरुङको बच्चा जन्मेको ६ महिनासम्म जन्मदर्ता नभएपछि न्यायिक समिति सदस्य गमिमायाँ गुरुङको पहलमा जन्मदर्ता गरिएको गुरुङले बताउनुभयो ।
त्यसैगरी क्वहोलासोथर गाउँपालिका–४ कि १८ वर्षीया बुधकुमारी गुरुङको पनि जन्मेको बच्चाको एक वर्षसम्म जन्म दर्ता नभएको उहाँको भनाइ छ ।
उमेर नपुगि बच्चा जन्माउँदा बालबालिकामा कुपोषण र निमोनिया जस्ता समस्या देखिनुको साथै आमाको स्वस्थ्यपनि राम्रो नहुने गुरुङको भनाइ छ ।
बालविवाह गरेका कारण वडामा गएर जन्मदर्ता गराउन नजानेको सङ्ख्या धेरै भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताउनुभयो ।
तथ्याङक अनुसार १ सय देखि १ सय पचास जनाले उमेर नपुगि आमा बुवाको सल्लाह बिना नै भागेर विवाह गर्ने गरेको अधिकृत गुरुङको भनाइ छ ।
गाउँपालिकाले बालविवाह रोक्नको लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरूसँग समन्वय गरी सचेतना तथा मनोविमर्श तालिम एवंम गोष्ठीहरू सञ्चालन गरेको क्वहोलासोथर गाउँपालिकाका प्रमुख प्रेमबहादुर घलेले बताउनु भयो ।
तुलनात्मक रूपमा पहिलाको भन्दा बालविवाह र उमेर नपुगि बच्चा जन्माउनेको सङ्ख्यामा कमी आएको उहाँले बताउनुभयो ।
अबको पाँच वर्ष भित्र बालविवाह मुक्त गाउँपालिका बनाउने लक्ष्य रहेको भन्दै वडावडामा मनोविमर्शकर्ताहरूको दरबन्दी कायम गरी बालविवाह न्यूनिकरण गरिने लक्ष्य गाउँपालिकाको रहेको अध्यक्ष घलेले जानकारी दिनुभयो ।