ताँजाकोट गाउँपालिका –२ मैलामा रहेको धर्मोदय माविका विद्यार्थी डेढ वर्षदेखि चौरमा पठनपाठन गर्न बाध्य भएका छन् ।
०७६ साउन ३१ गते आएको बाढीले विद्यालय भवन भत्किएपछि सो ठाउँका ५ सय विद्यार्थी खुला आकाशमुनि पठनपाठन गर्न बाध्य भएको ताँजाकोट गाउँपालिका स्थानीय कृष्ण मल्लले गुनासो गर्नु भयो ।

‘खाली चौरमा ढुङ्गाको बेन्च बनाएर विद्यार्थीहरू पठनपाठन गर्न बाध्य छन् । अझै कहिलेसम्म सास्ती भोग्नुपर्ने हो ?’ उहाँले भन्नुभयो । बाढीले विद्यालय भवन भत्काएपछि कर्णालीको मुख्यमन्त्री सहितको टोली तत्काल राहत ल्याएर हुम्ला पुगे पनि फेरी फर्केर नआएको मल्लले गुनासो गर्नुभयो ।
खाली चौरमा पढाउँदा बेलाबेलामा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको विद्यालयका प्रधानाध्यापक गङ्गादत्त जैसीले बताउनुभयो । कक्षा ६ देखि १२ सम्म अध्यापन हुने विद्यालय पानी परे बन्द गर्नुपर्ने र पालैपालो विद्यार्थीलाई चौरमा राखेर पढाउनुपर्ने अवस्था रहेको प्रअ जैसीको भनाई छ ।
विद्यालय भवन निर्माणका लागि कर्णाली प्रदेश सरकार र संघीय सरकारले ९० लाख रूपियाँ पठाए पनि उक्त बजेट गाउँपालिकाको खातामा थन्किएको छ ।
भवन कहाँ बनाउने भन्ने टुङ्गो नहुँदा बजेट खातामा रोकिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताउनु भयो ।
