दण्डरहित शिक्षाको आवश्यकतामा जाजरकोटमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा माघ २१ र २२ गते जाजरकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले सो कुरामा जोड दिएका हुन् ।

“विद्यालयमा बालबालिका माथि हुने दण्ड” विषयक अन्तरक्रिया कार्यक्रममा बालबालिकाको दण्डविहीन शैक्षिक विकासका लागि शिक्षक तथा अभिभावक जिम्मेवार बन्नु पर्ने आयोगकी मानव अधिकार अधिकृत लक्ष्मी पौडेलले बताइन् । दण्डित शिक्षाबाट बालबालिकाले हासिल गर्ने शैक्षिक तथा मानसिक ज्ञानमा दीर्घकालिन असर पर्ने अधिकृत पौडेलको तर्क थियो ।
बालबालिकाले दण्डको अनुभूति नगर्ने वातावरण बनाउनुपर्ने बताउँदै दण्डविहीनताले बालबालिकाको मानसिक तथा शारीरिक विकासमा सहयोग पुग्ने उल्लेख गरिन् ।
आयोगले पहिलो दिन जिल्ला सदरमुकामका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत बालबालिकाहरूसँग र दोस्रो दिन सरोकारवालासँग गरेको थियो ।