ठूलीभेरी नगरपालिकाका प्रमुख गणेश बहादुर शाहीका दुईवटै डोजरमाथि अज्ञात पक्षले चैत १५ गते आगजनी गरेको छ ।
नगरपालिकाको केन्द्र जुफालबाट वडा नम्बर ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराबीचको जङ्गलमा भे १ क ४६३६ र भे १ क १२९४ नम्बरका दुईवटै डोजरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरीराम डाँगीले जानकारी दिनु भयो ।
प्रहरी घटनास्थलमा पुगिसकेको र घटनामा संलग्नको खोजि भइरहेको इन्स्पेक्टर डाँगीले बताउनु भयो । आगजनीबाट दुईवटै डोजर पूर्ण रूपमा क्षति भएको उहाँको भनाई छ ।
आफू काठमाण्डौं भएको र घटनाको विषयमा फोनबाट जानकारी पाएको नगरप्रमुख शाहीले बताउनु भयो । दुईवटै डोजर मौसम एण्ड हरिष निर्माण सेवाको नाममा रहेका छन् ।
