नागरिक समाजका अगुवाहरूले म्यानमारको सैन्य सत्ताले त्यहाँका नागरिकमाथि गरिरहेको दमन र हत्याको विरोध गरेका छन् ।
नागरिक समाजका १२ जना अगुवाले चैत १५ गते एक अपिल जारी गर्दै म्यान्मारमा भइरहेको हत्या हिंसाविरुद्ध आआफ्नो ठाउँबाट आवाज उठाउन आग्रह गरेका हुन् ।
उनीहरुले म्यान्मारमा सैन्य दमनमा ३ सयभन्दा बढी नागरिकको हत्या हुँदा पनि दक्षिण एसियाली मुलुकका सरकारले त्यसप्रति पर्याप्त चासो नदेखाएकोमा गम्भीर चिन्तासमेत व्यक्त गरेका छन् ।
नागरिक समाजका अगुवाहरू सुशील प्याकुरेल, कुलचन्द्र गौतम, रेणु अधिकारी, विपिन अधिकारी, कनकमणि दीक्षित, डम्बर चेम्जोङ, जयप्रकाश गुप्ता, रामेश्वर खनाल, महेश मास्के, अर्जुन कार्की, राजेन्द्र दाहाल र रेम विश्वकर्माले संयुक्त अपिलमार्पmत शान्तिका लागि आवाज उठाउन आग्रह गरेका हुन् ।
‘हामी नेपाल सरकारलाई तत्काल लोकतान्त्रिक मूल्य मान्यता र म्यान्मारका जनताका पक्षमा उभिन आग्रह गर्दछौँ ।’–सो अपिलमा भनिएको छ–‘सरकारले त्यहाँका वरिष्ठ जर्नेल मिन आङ लाइङको नेतृत्वमा भइरहेको अहिलेको दमन रोक्न र नोभेम्बर २०२० को निर्वाचनको परिणामअनुसार अघि बढ्न बाध्य पार्नुपर्छ ।’
म्यान्मारको परिस्थिति हेर्दा राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले कडा कदम चाल्नुपर्ने अवस्था पनि नागरिक अगुवाहरूले औँल्याएका छन् ।