डुङ्गेश्वर गाउँपालिका–३ रेक्चाका तीन वर्षीय बालक उमेश थापा मगरलाई झुण्ड्याएर हत्या गरेको आरोपमा २८ वर्षीया आमा हिरा थापामगरले आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।
उमेशलाई हिराले चैत १२ गते बिहान ६ बजे घरमा कुर्ताले झुण्ड्याएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले बताउनु भयो ।
हिराले कक्षा ४ मा अध्ययनरत नौ वर्षीया छोरी निशा थापामगरलाई समेत हत्या गर्न खोजेको तर भागेर बाँच्न सफल भएको इन्स्पेक्टर सुनारले बताउनु भयो ।
छोराको हत्यापछि हिराले घरभन्दा एक किलोमिटर टाढा रेक्चा खोलाको भीरबाट हाम फालेर आत्महत्याको प्रयास गर्दा घाइते भएको स्थानीय शिक्षक धर्मराज न्यौपानेले बताउनुभयो ।
घाइते हिराको उपचार प्रहरीको निगरानीमा जिल्ला अस्पताल दैलेखमा भइरहेको अस्पतालका डाक्टर जगत थापाले बताउनुभयो ।
शवको पोष्टमार्टम चैत १३ गते जिल्ला अस्पताल दैलेखमा गरिएको छ । हिराका पति थीरबहादुर थापामगर मजदुरीका लागि एक वर्षदेखि भारतमा रहेको स्थानीयले जानकारी दिए ।