राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिला हिंसाका घटना बढेकोप्रति आयोगको गम्भीर ध्यानार्कषण भएको बताउनु भएको छ ।
राष्ट्रिय महिला आयोगले चैत १३ गते बुटवलमा आयोजना गरेको महिला हिंसा सम्बन्धी समसामयिक विषय लिभिङ्ग टुगेदर, यौनिक हिंसा र बैदेशिक रोजगारका विषयमा सरोकारवालाहरूबीच जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पराजुलीले उक्त कुरा बताउनु भएको हो ।
अध्यक्ष पराजुलीले लामो समयसम्म आयोग पदाधिकारी विहीन भएकाले समस्या रहेको बताउदै यसलाई आकार दिनका लागि महिला मानव अधिकारको सङ्रक्षणका लागि राष्ट्रिय रणनितिक योजना बनाएर अगाडि बढ्न खोजी रहेको बताउनु भयो ।

महिला माथि हुने हिंसा विश्वका १ सय ३५ औं देशहरूमध्ये नेपाल ११औं स्थानमा पर्ने भन्दै महिलाहरूका समस्या गलैचामा घोचिएको सियो जस्तै भएको उहाँको भनाइ रहेको छ ।
लिभिङ्ग टुगेदर जस्तो लुकेको समस्याले राम्रो सन्देश नदिने र समाज विकृतिको दिशामा जान थालेको प्रति चिन्ता व्यक्त गर्दै यसको जड पत्ता लगाएर विकृत्तिको अन्त्यका आयोगको गम्भीर चासोको विषय भएको पराजुलीले बताउनु भयो । उहाँले अन्य आयोगहरूबीचमा पनि समन्वय र सहकार्य गरी अगाडि बढ्ने बताउनु भयो ।
जिल्ला समन्वय समितीका प्रमुख एकराज विश्वकर्माले मुलुक समृद्धितिर नजाँदासम्म महिलामाथि हुने हिंसा र लैङ्गिक हिंसाहरू भइरहने भन्दै यसका लागि आर्थिक रूपान्तरणमा जोड दिनु पर्ने बताउनु भयो ।
बुटवल उपमनपा उप मेयर गुमादेवी आचार्यले सिंह दरबारको अधिकार गाउँ गाउँमा भनेपनि सोही अनुसार काम गर्न नसकेको बताउनु भयो । उहाँले मानवीय विकास र भौतिक विकासको सन्तुलन मिलाउन सकेमात्र समृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक हुने बताउनु भयो ।
महिला आयोगका उपसचिव श्याम श्रेष्ठ, आयोगका प्राविधक बनिता थापाले महिला आयोगले गरेका प्रयास र उजुरीका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने जिल्ला प्रहरी कार्यालयका एसपी प्रविण पोखरेलले रूपन्देही जिल्लामा महिला तथा बाल बालिकाको अवस्था र प्रहरीले गरेको प्रयासको प्रस्तुती गर्नु भएको थियो ।
ग्लोबल जेण्डर ग्याप २०२० को प्रतिवेदन अनुसार लैङ्गिक हिंसामा नेपाल १ सय ५३ राष्ट्रमध्ये १ सय १ औं स्थानमा रहेको छ भने आत्मीय साथीबाट हुने हिंसामा नेपाल १५ राष्ट्र मध्ये १४ औ स्थानमा पर्दछ । त्यस्तै नेपालमा १५ वर्षदेखि ४९ वर्षका २२ प्रतिशत महिलाले १५ वर्षदेखि शारिरीक हिंसा र सात प्रतिशत महिलाले यौन हिंसा भोग्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।