इलाम सदरमुकामका होटल तथा रेष्टुरेन्टमा १६ बर्ष उमेरभन्दा कमका बालबालिका काममा लगाउने गरेको अनुगमनका क्रममा फेला परेको छ ।
जिल्ला प्रशासन कार्यालयको सहयोगमा महिला तथा बालबालिका कार्यालयले माघ १९ गते गरेको अनुगमनमा १६ वर्षमुनिका बालबालिकालाई उमेर ढाँटेर काम लगाउने गरेको र उनीहरूलाई पारिश्रमिक पनि नदिने गरेको पाइएको छ ।
अनुगमनका क्रममा बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म ती बालबालिकाले काम गर्ने गरेको र विद्यालय पनि नपठाइएको पाएको सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले बताए । अनुगमनका क्रममा त्यस्ता काममा संलग्न करिब १५ जना बालबालिका भेटिएको पनि उनले बताए ।
यता बालश्रम (निषेध तथा नियमित गर्ने) ऐन २०५६ ले १४ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउनु गैर कानुनी भनी परिभाषित गरिएको छ । ऐनमा १४ देखि १८ वर्षा बालबालिकालाई साँझ ६ बजेदेखि बिहान ६ बजे सम्म काममा लगाउन वञ्चित गरेको छ । यस्ता बालबालिकालाई दिनको ३ घण्टा काम गरेपछि आधा घण्टा विश्राम र हप्ताको एक दिन विदा दिनुपर्ने व्यवस्था गरेको छ । त्यस्ता बालबालिकालाई ललाइफकाइ काममा लगाए काममा लागाउनेलाई एक वर्षकैद र ५ हजार रुपियाँसम्म जरिबाना हुने व्यवस्था छ ।
यति हुँदाहुँदै पनि जिल्लाका अन्य बजार नेपालटार, तीनघरे, फिक्कल लगायतका क्षेत्रमा होटल तथा निर्माणको क्षेत्रमा श्रमिक बालबालिका धेरै रहेको सहायक प्रजिअ फागोले जानकारी दिए ।