‘ङ’ श्र्रेणीको जिल्ला कारागार, बझाङमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापकीय समस्या झेल्नु परेको कारागारका कैदीबन्दीहरुले गुनासो गरेका छन् ।
२५ जनाको क्षमता रहेको जिल्ला कारागार,बझाङमा हाल ३८ जना कैदी र ३७ जना थुनुवा गरी ७५ जना रहेका छन ।
खेलकुद , पुस्तकालय , मनोरञ्जनका साधन त परैजाओस ७५ जनाका लागि दुई ओटा शौचालय मात्रै हुँदा विहानदेखि दिउसो १२ बजेसम्म लाइनमा बस्नु पर्ने बाध्यता रहेको जिल्ला कारागार, बझाङका नाइके भक्त भन्डारीले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘एउटै कोठामा धेरै जना बस्नु पर्ने बाध्यताले हलचल गर्न र श्वास फेर्न समेत गाह्रो हुने गरेको छ । तत्काल शौचालय र बस्नको लागि व्यवस्था गर्न कारागार प्रशासनलाई अनुरोध गरेका छौँ । समस्या समाधान नभएमा आन्दोलन गर्न बाध्य हुने छौँ ।’
सघन सहरी विकास तथा भवन निर्माण आयोजना, डाटीले पुरुष कैदीबन्दी गृह निर्माण गर्नका लागि स्टीमेट गरेको भएपनि ठेक्का प्रक्रिया अगाडि नबढेको कारण महिला कैदीबन्दीहरुका लागि बनाइएको भवनमा पुरुष कैदीबन्दीहरुलाई राख्नु पर्ने बाध्यता रहेको जिल्ला कारागार, बझाङका जेलर धनबहादुर घर्तीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘६ ओटा कोठामा नै सम्पूर्ण कैदीबन्दीहरु कोचिएर बस्नु पर्ने बाध्यता छ । कैदीबन्दीहरुका लागि प्रयाप्त मात्रामा शौचालय नहुँदा समस्या हुने गरेको छ ।’
प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले आफू भरखरै सरुवा भएर जिल्लामा आएको बताउँदै तत्काल कारागारको अनुगमन गरी सघन सहरी विकास तथा भवन निर्माण आयोजना, डोटीसँग समन्वय गरी भवन निर्माणका लागि पहल गर्ने बताउनु भयो ।