सिरहाको लहान नपा–१ स्थित मालपोत कार्यालयमा चैत १ गते गराइएको बम विस्फोट घटनाप्रति इन्सेकलगायत मानवअधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूले चैत ३ गते प्रेस विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
बम विस्फोट घटनामा परेर एक कर्मचारी र सात जना सेवाग्राही घाइते भएका थिए ।
इन्सेक प्रदेश २ का संयोजक राजु पासवान, एड्भोकेसी फोरम नेपालका प्रदेश २ संयोजक राजकुमार महासेठ, ओरेक धनुषाका जिल्ला परियोजना संयोजक रोजलिन सिंह बछार, सेफ नेपालका टिम लिडर विनोद महरा, महिला मानव अधिकार रक्षक सञ्जालकी सदस्य जमुना भुजेल, युथ एडभोकेसी नेपालका अभियान संयोजक दिवाकर उप्रेती र मानव अधिकारका संयोजक प्रदिप यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा कार्यालयमा सेवा लिनका लागि आउने सेवाग्राही, सर्वसाधारण जनतालाई लक्षित गरी बम विस्फोट गराउनु हिंसात्मक तथा अपराधिक र निन्दनीय गतिविधि भएको उल्लेख छ ।
बम विस्फोट घटनामा परी घाइते भएकाहरूको शिघ्र स्वास्थ्य लाभको कामनासहित उपचारमा लाग्ने खर्च नेपाल सरकारले व्यवस्थापन गर्नुपर्ने र घटनालाई तथ्यपरक छानविन गरी दोषीमाथि कडा भन्दा कडा कारवाही गर्न विज्ञप्तिमार्फत माग गरिएको छ ।
बम विस्फोट भएको घटनास्थलमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको र घटनाको जिम्मेवारी समेत लिएकाले सो समूहलाई यस्ता गतिविधि नगर्न अधिकारकर्मीहरूले अनुरोध गरेका छन् ।
उनीहरूले विज्ञप्तिमा नागरिकको अधिकारलाई सम्मान गर्दै शान्तिपूर्ण तरिकाले आफ्ना माग अगाडि बढाउन आग्रह समेत गरेका छन् ।
