‘ख’ श्रेणीको जिल्ला कारागार डोटीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा व्यवस्थापकीय समस्या झेलिरहेको कैदीबन्दीले दुखेसो पोखेका छन् ।
२५ जनाको क्षमता भएको जिल्ला कारागार डोटीमा कारागारमा २७ जना कैदी र ३२ जना थुनुवा गरी ५९ जना छन् ।
कैदी प्रकाश ढोलीका अनुसार कारागारमा पुरुष कक्षतर्फ झण्डै तीन गुणा बढी कैदीबन्दी भएकाले कोचिएर बस्नुपर्ने बाध्यता रहेको छ । कारागारमा खानेपानी, समस्या र शौचालय, जान समेत पालो कुरेर बस्नुपर्ने बाध्यता रहेको ढोलीको भनाइ छ ।
क्षमता भन्दा बढी कैदीबन्दी राखिएका कारण आफुहरुले दैनिक सास्ती खेपिरहेको र चाहेको समयमा समेत शौचालय प्रयोग गर्न समेत नपाएको कैदी नवराज बिनाडीको भनाइ छ ।
कारागार भित्र खेल्ने ठाउँसमेत नहुँदा कैदीबन्दीलाई दिन कटाउन समेत मुस्किल रहेको कैदी कृष्ण दमाईको भनाइ छ ।
सरकारबाट प्राप्त दैनिक ६० रुपियाँ कम भएकाले हालको महङ्गीका कारण दुई छाक टार्नसमेत नसकिने भएकाले सो रकम बृद्धि हुनुपर्ने कैदी कृष्ण बोगटीको गुनासो रहेको छ ।
कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राख्नुपर्ने बाध्यता रहेको कारागारका जेलर लालबहादुर बोगटीले बताउनु भयो ।
उहाँले भन्नु भयो–‘कारागारमा खानेपानी र शौचालयको मात्रै समस्या नभएर पुरानो जीर्ण भवन हुँदा बर्खायाममा चुहिएर पालमुनी राख्नुपर्ने बाध्यता छ । क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा स्वच्छ खानेपानी, शौचालय र बसाइ व्यवस्थापनमा समस्या भोग्नु परेको छ ।’
कारागारमा रहेका समस्या समाधानका लागि कारागार विभागमा पनि पटकपटक जानकारी गराउँदै आएको भएपनि सुनुवाइ नहुँदा समस्या समाधान हुन नसकेको उहाँको भनाइ छ ।